After SEE Portal

मध्यपश्चिम विश्वविद्यालय र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी बीच सम्झौता सम्पन्न

Bridge Course

मध्यपश्चिम विश्वविद्यालय र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज, मलेसिया बीच शैक्षिक सहकार्यका लागि दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ । माघ २६ गते एक अनलाईन समारोह बीच भएको सम्झौतापछि दुवै शैक्षिक संस्थाको शैक्षिक विकास हुनुका साथै दुई विश्वविद्यालयहरू बीच आपसी समझदारी बढ्ने उद्देश्यका साथ गरिएको हो ।

दुवै विश्वविद्यालयहरूले समानता र पारस्परिकताको आधारमा पारस्परिक हितका लागि विभिन्न सहयोगी गतिविधिहरू संचालन गर्न उक्त सम्झौता पत्र मार्फत सहमत भएका छन । जस अन्तर्गत विद्यार्थीहरुका लागि विभिन्न सहयोगी सिकाइका गतिविधिहरू संचालन गर्ने, विद्यार्थी र प्राध्यापक तथा कर्मचारी आदानप्रदान गर्ने, संयुक्त सम्मेलन, सेमिनार तथा गोष्ठीहरु संचालन गर्ने, संयुक्त अनुसन्धान, प्रकाशन, परामर्श गर्ने, विशिष्ट प्रयोगशाला उपकरण, शिक्षण सामग्री र विशेषज्ञतामा पहुँच पुर्‍याउने र छोटो शैक्षिक भ्रमणहरू गर्ने गराउने यो सम्झौताका उद्देश्य रहेको छ ।

सो सम्झौताको अवधि ५ वर्षको रहेको छ । दुवै विश्वविद्यालयहरूको आपसी समझदारीमा थप अवधि बढाउन सकिने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

उक्त अनलाईन सम्झौता हस्ताक्षर समारोहमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह तथा तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष प्रा। डा। ली जी वेइले आफ्नो मन्तव्य राखेका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका तर्फबाट समकक्षी अध्यक्ष प्राडा लीजी वेइद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उपप्रा पन्चदेव भट्टले गरेका थिए ।

उक्त कार्यक्रममा तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबाट उपाध्यक्ष सहप्रा से सोक क्वान लगायत निर्देशक, वरिष्ठ प्रबन्धक, सहायक रजिष्ट्रार लगायतको उपस्थिति रहेको थियो ।

 उपकुलपति सिंहले सो समारोहमा सम्बोधन गर्दै भने, ‘शैक्षिक संस्थाहरुले बौद्धिक क्रान्ति मार्फत अहिलेको विश्व समुदायको हितमा हुने कार्यमा लाग्नु पर्ने बताए । तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष प्राडा ली जी वेइले सम्झौता पश्चात विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ समर्थन रहने बताए ।

मध्यपश्चिम विश्वविद्यालय एक स्वायत्त तथा सार्वजनिक उच्च शिक्षण संस्था हो ।जुन नेपाल सरकारद्वारा विस २०६७ असार ३ गते स्थापना भएको थियो । यो विश्वविद्यालय अन्तर्गत देश भर गरी सात ग्रेजुएट स्कूल, दश आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज रहेका छन् । विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ्, मानविकी तथा समाजशास्त्र, कानून, व्यवस्थापन, विज्ञान तथा प्रविधि लगायतका विभिन्न विषयमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रमहरूमा करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै, तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज मलेसियाका प्रथम प्रधानमन्त्रीको नामवाट सन् १९६९ मा कलेजको रुपमा स्थापित भएको हो । सन् २०१३ मा यूनिभर्सिटी कलेजमा स्तरोन्नति भएको थियो । यस यूनिभर्सिटी कलेजका देशैभरी गरी ६ वटा आंगिक क्याम्पसहरु रहेका छन् । मुख्य क्याम्पस मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको छ। विश्वविद्यालयमा विभिन्न विषयहरु जस्तै लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटिङ र सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ्, प्रविधि, सामाजिक विज्ञान र मानविकी आदि कार्यक्रमहरु अन्तर्गत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज मलेसियाको इतिहासमा सबैभन्दा ठुलो र पुरानो, उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु अन्तर्गत रहेको छ । २०२२ को अन्त तिर पूर्ण विश्वविद्यालयको रुपमा रुपान्तरण हुने कुरा समारोहमा अध्यक्ष प्राडा ली जी वेइले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books