A Levels MA

समावेशी शिक्षासम्बन्धी सम्झौता

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष) शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय नर्वेसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

सो विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायले शिक्षाशास्त्र केन्द्रीय क्याम्पसमा आगामी शैक्षिकसत्रदेखि स्नातक तहमा समावेशी शिक्षा शिक्षण गर्ने कार्यक्रमको तयारी थालेको विश्वविद्यालयका उपप्राध्यापक एवं शिक्षाशस्त्र सङ्कायका पूर्वसहायक डीन विष्णुकुमार खड्काले जानकारी दिनुभयो ।

दिगो विकासको लक्ष्यको एक महत्वपूर्ण अवयवका रुपमा रहेको गुणस्तरीय समावेशी शिक्षालाई विश्वविद्यालयले आत्मसात् गर्दै शिक्षाशास्त्र सङ्कायअन्तर्गत विशेष आवश्यकता भएका बालबालिका र शिक्षा प्राप्तिको अवसरबाट वञ्चित रहेका लक्षित वर्गका विद्यार्थीलाई पढाउन सक्ने जनशक्ति तयार गर्न स्नातक तहसम्म उक्त विषयलाई प्रमुख विषयका रुपमा रहने गरी पाठ्यक्रम निर्माणको प्रकिया शुरु गर्न थालिएको खड्काले बताउनुभयो ।

“विश्वविद्यालयको प्राज्ञिक तथा कार्यकारी परिषद्बाट नीतिगतरुपमा प्रक्रिया अगाडि बढिसकेको र सो कार्यक्रमसम्बन्धी सहयोग गर्ने उद्देश्यले कोरियाको चङआङ र नर्वेको ओस्लोमिट विश्वविद्यालयसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरी छात्रवृत्ति, अध्ययन, अध्यापन र अनुसन्धानका कार्यमा सहयोग आदानप्रदान गर्ने गरी परियोजना सुनिश्चित भएको छ”, उहाँले भन्नुभयो, “अब हामी पाठ्यक्रम निर्माणको प्रक्रिया अविलम्ब अगाडि बढाउँछाँै र आगामी शैक्षिक सत्रदेखि कार्यक्रम सुरुआत गर्छौं ।”

अस्लोमिट र मप विश्वविद्यालयबीच नेपालमा समावेशी शिक्षा कार्यक्रम परियोजाको एक साझेदार संस्थाका रुपमा आपसी समझदारी पत्रमा हस्ताक्षर गर्दै शिक्षाशास्त्र सङ्कायको समेत जिम्मेवारी प्राप्त गरेका मानविकी र सामाजिकशास्त्र सङ्कायका डीन सह प्राडा लिलाधर तिवारीले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सङ्घ, संस्था एवं युरोप, अमेरिका र एसियाका उत्कृष्ट विश्वविद्यालयसँग समन्वय तथा सहकार्य गर्दै जाने बताउनुभयो । उहाँले आजको युगमा उपयोगी र आवश्यक शैक्षिक कार्यक्रम थप गर्ने एवं उच्च शिक्षाको गुणस्तर र विकासका लागि छात्रवृत्तिको अवसर सिर्जना गर्दै अनुसन्धान तथा पेशागत सक्षमता विकास गर्न सहकार्य आवश्यक रहेको जनाउनुभयो ।

कोरियाको चङआङ विश्वविद्यालयसँग लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेश्नल कोअपरेसन (लुपिक) परियोजनाअन्तर्गत भएको किक अफ बैठकलाई सम्बोधन गर्दै मपका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई नयाँ र समसामयिक विषयमा युग सुहाउँदो कार्यक्रम अगाडि बढाउने धारणा राख्नुभएको थियो । विश्वका विभिन्न विश्वविद्यालय र सहयोगी सङ्घ संस्थासँगको सहयोग र सहकार्यबाट अध्ययन, अध्यापन तथा अनुसन्धानका गतिविधिलाई व्यवस्थित र गुणस्तरीय बनाउन विश्वविद्यालय क्रियाशील रहेको उहाँको भनाइ थियो ।

विशेष आवश्यकता शिक्षाअर्थात् समावेशी शिक्षा कार्यक्रमसँग सम्बन्धित नर्वेजियन प्रोग्राम फर क्यापासिटी डेभ्लोप्मेन्ट इन हाइएर एजुकेसन एण्ड रिसर्च डेभ्लोप्मेन्ट (नोरहेड) परियोजनामा नर्वेका ओस्लोमिट विश्वविद्यालय, इनल्याण्ड भ्याली एप्लाइड साइन्स विश्वविद्यालय र नेपालका त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय साझेदार संस्थाका रुपमा रहेका छन् । लुपिक परियोजनाअन्तर्गत दक्षिण कोरियाको चङआङ विश्वविद्यालय र नेपालका सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालय साझेदार संस्थाका रुपमा रहने जनाइएको छ ।

Thuprai - Books and E-books