भगवान कोइरालाको "हृदय" पुस्तक पढेपछि

गत भाद्र महिनातिर डा. भगवान कोइरालाको "हृदय" पुस्तक बजारमा आयो । डा. कोइराला आफैँ चर्चामा रहेको व्यक्ति भएको हुनाले उनको पुस्तकले बजारमा राम्रै चर्चा पायो । पत्रपत्रिकामा समिक्षाहरू पनि लेखिए । मैले पनि यही मेसोमा डा. कोइरालाको पुस्तक सोही समयआसपास अध्ययन गरेँ । कतिपय सन्दर्भमा पुस्तक अध्ययन गरेपछि यसको बारेमा केही लेख्ने गरेको थिएँ । मनमा लागेका विषय लेख्दा आफूलाई अझ खारिन पनि सहयोग पुग्नुका साथै आफ्ना विचार अरू माझ पनि पुर्याउन पाइने लोभले लेख्ने गरेको थिएँ । तर पछि पुस्तकका बारेमा लेख्न छाडेको थिँए । तर डा. कोइरालाको यस पुस्तकका बारेमा केही लेख्छु भन्दै गर्दा पनि समय मिलाउन सकिरहेको थिइन् ।

मेलै अध्ययन गरेको "हृदय" पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको विशेष संस्करण थियो । पुस्तकमा डा. भगवान कोइरालाले आफ्नो जीवनकालदेखि हालसम्म देखेका, अनुभव गरेका र भोगेका विषयहरू समावेश गरेका छन् । आफू स्वास्थ क्षेत्रमा संलग्न भएको हुनाले धेरै विषय यस क्षेत्रसँग सम्बन्धित हुनु अस्वभाविक पनि भएन । यसमा समस्यामात्र छैनन तीनका समाधानका उपायसमेत समाविष्ट छन् । पुस्तकमा व्यवस्थापनका विषय छन् । मानवियता पक्षहरू छन् । संगठन निर्माणका उपाय छन् ।

पुस्तकमा डा. कोइरालाको बाल्यकाल छ । विद्यार्थी जीवन छ । पढाइमा गरेको सङ्घर्षको नालीबेली छ । उनको पेशागत जीवन छ । जिन्दगीप्रतिको भोगाइ छ । उनको जीवन र जीवनी छ । सिलसिलेवर ढङ्गबाट लेखिएको जीवनी भन्दा पनि हुन्छ । सरसरती हेर्दा यसलाई उनको जीवनका घट्नाहरूको सङ्ग्रहभन्दा पनि फरक नपर्ला । तर सिक्न सक्ने घटनाहरू थुप्रै छन् ।

के पुस्तक उनको जीवनीमात्र हो त ? 

पुस्तक उनको जीवनका घट्नाहरूको सङ्ग्रह त हो नै । यस्ता अरू धेरै घट्ना पनि हुन सक्छन् उनीसँग । केही घट्नाहरू छानेर यस पुस्तकमा राखिएको हुनसक्छ । यस पुस्तकमा उनको निजी जीवनका धेरै पाटा समावेश गरेको भए पनि यसबाट धेरै कुराहरू सिक्न सकिन्छ । उनले व्यवस्थापनका क्षेत्रमा देखाएको कौशलताबाट पनि सिक्न सकिन्छ । किनकी डा. कोइराला व्यवस्थापनमा पनि अब्बल नै देखिएका छन् ।

नेतृत्व तहमा पुगेपछि आफूले काम गर्नेभन्दा पनि अरूबाट काम लिनसक्नु पर्छ भन्ने गरिन्छ । एक्लैबाट सबै काम सम्पन्न हुन कठिन छ । कामका लागि समद्ध पक्ष सबैलाई परिचालन गर्न सक्नुपर्छ । डा. कोइरालाले आफू व्यवस्थापकिय तहमा रहँदा मातहतका कर्मचारीसँग के कसरी काम लिने भन्ने विषयमा देखाएको कौशल यस पुस्तकमा पाउन सकिन्छ । मातहतका मात्र होइन कि आफूभन्दा माथिल्लो पदाधिकारीसँग काम लिन पनि उनले विभिन्न दबाबका उपाय अवलम्बन गरे । जुन व्यवस्थापनका उच्च तहमा बस्नेहरूका लागि उपयोगी हुनसक्छन् । नेपाल जस्तो मुलुकमा काम लिनका लागि यस्ता उपायहरू समयसमयमा चाहिन पनि सक्छ ।

विगत लामो समयदेखि मुटुको उपचारमा संलग्न डा. कोइराला यतिबेला विशिष्टीकृत बाल अस्पताल बनाउन लागि परेका छन् । हाल काठमाडौंमा निर्माणधीन काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का लागि स्रोत जुटाउनका लागि उनले आफ्नो समय लगाइरहेका छन् । यस पुस्तकबाट आउने आम्दानीसमेत त्यसमा लगाउने घोषणा गरेका छन् । यसरी "हृदय" पुस्तकबाट प्राप्त आम्दानीको निश्चित हिस्सा बालबालिका आधारभूत स्वास्थ्य सेवामा जाने देखिन्छ । बालबालिका आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले बाल अस्पताल स्थापना र सन्चालनमा यस रकम लगाउने उनको चाहना छ । यस्तो अस्पताल काठमाडौमा मात्र नभएर सात वटा प्रदेशमा स्थापना गर्ने लक्ष्य उनले लिएका छन् ।

पुस्तक आफैँले ओपन हार्ट सर्जरी गरेका दुई बालबालिकाको हातबाट विमोचन गरेर उनको बालबालिका र उनीहरूको स्वास्थ्यप्रतिको चाहनालाई अप्रत्यक्षरूपमा समेत देखाएका छन् डा. कोइराला ।

आम मानिसले यो पुस्तक किन पढने ?

एक व्यक्तिले कसैको जीवनी पढ्दा र नपढ्दा के नै फरक पर्छ र ? आत्मकथा वा जीवनीमा व्यक्तिले गरेका राम्रा कुराको मात्र व्याख्या हुने गर्दछ भन्ने गरिन्छ । के व्यक्तिले आफ्नो जीवनमा राम्रा काममात्र गरेको हुन्छ त ? व्यक्तिका कमीकमजोरी नहुने नै हुन त ? सबै जीवनी वा आत्मकथा यस्तै हुन्छन त ? सबै उस्तै पनि नहोलान् । व्यक्तिपिच्छे फरक हुनसक्छ । तर यसमा व्यक्ति स्वयंको इमान्दारीले अर्थ राख्छ । जीवनी लेखनमा इमान्दारिताको ठूलो महत्व हुन्छ । यसमा डा. कोइरालाले के कति मात्रामा इमान्दारिता देखाएका छन त ?

डा. कोइरालाको इमान्दारिता जाच्न त पुस्तक अध्ययन गर्नुपर्छ । पेशागत इमान्दारिता कति छ त भनेर मापन गर्नका लागि पुस्तक पढ्नै पर्छ । मेरो अनुभवमा उनले यस पुस्तकमा आफ्ना राम्रा कुरामात्र बढाइचढाइ गरेका छैनन् । उनको जीवनमा भएका घट्नालाई इमान्दारीका साथ प्रस्तुत गरेका छन् । बाहिर सतहबाट हेरेर व्यक्तिका सबै पाटाहरू उजागर हुनसम्भव पनि छैन् । तर यसमा व्यक्त गरिएका घट्ना र सन्दर्भ हेर्दा उनले इमान्दारिता देखाएका छन् ।

अर्को बुझ्नुपर्ने पक्ष मानिस भएपछि सबैमा केही न केही कमीकमजोरी हुन्छन् नै । लामो संगत गरेकाहरूलाई अर्को व्यक्तिका यस्ता कमीकमजोरी थाहा हुन पनि सक्छन् । कतिपय अवस्थामा व्यक्ति स्वयंले पनि महसुस गर्न सक्छ । कसैले बाहिर बताउन सक्छ भने कसैले थाहा भएर पनि नबताउन सक्छ । पुस्तक अध्ययन र छोटो सँगतका आधारमा डा. कोइराला आफ्नो कुरा प्रष्टसँग राख्नसक्ने व्यक्तिमा पर्छन भन्ने बुजाइ मेरो छ । यो बुझाइ मेरोमात्र पनि नहुनसक्छ ।

एउटा व्यक्तिले आफ्नो जीवनमा के कति काम गर्नसक्छ त ? धेरै काम गर्न सक्छ । यस्ता विवरण थाहा पाउन पनि यस पुस्तक पढ्दा हुन्छ ।  

समाजशास्त्री गिडेनले सामाजिक परिवर्तनमा एजेन्सी र एजेन्टको भूमिका हुन्छ भनेर उल्लेख गरे । अर्थात परिवर्तनका लागि सामाजिक संस्थाहरूको भूमिका हुनेगर्छ । यसैगरी व्यक्ति स्वयं वा कर्ताको पनि भूमिका हुन्छ । परिवर्तन वा सुधारमा यी दुवैको भूमिका महत्वपूर्ण हुनेगर्दछ । विगतदेखि हालसम्म समाजमा जे जति परिवर्तन भइरहेका छन यिनै दुईको भूमिका थियो र आज पनि छ ।

समाज सुधार वा परिवर्तनमा व्यक्ति र संस्थाको भूमिका मानिसको सभ्यता विकाससँगै शुरू भयो । यो क्रम आजसम्म पनि निरन्तर रूपमा छ । मानिसले आदिम समयदेखि हालसम्म आइपुग्दा धेरै आरोह अवरोह खेप्यो । तर पनि सुधारमा मानिस थाकेको छैन् । कोहि न कोहि व्यक्ति सुधारका लागि भिडेकै छन् । यसरी मानिसको सभ्यता आदिम युगदेखि यस अवस्थासम्म ल्याउनमा व्यक्ति स्वयंकै भूमिका देखिन्छ । अहिलेको प्रविधिको युगमा मानिसलाई कृतिम वौद्धिकताले उछिन्न लाग्यो भन्ने अनुमान गरिए पनि मानिसको सोच चेतना अगाडि नै हुने गर्दछ । के सबै व्यक्ति यस्तो सुधारमा लाग्छन त ? सबै नलाग्न सक्छन तर केही भने लागि रहन्छन् ।

स्वभावत परिवर्तनमा लाग्ने व्यक्तिहरू थोरै हुन्छन् । अर्थात यिनीहरूको सङ्ख्या न्यून हुन्छ । धेरै व्यक्तिलाई आफ्नै बारेमा सोच्दा सोच्दा अरूका बारेमा सोच्ने फूर्सदै छैन् । तर केहीलाई भने अरूको बारेमा सोच्ने चाहना वा लगाव हुन्छ । विगत के थियो थाहा भएन तर अहिले डा. कोइरालाले यही अरूको बारेमा सोच्ने कामलाई अगाडि सारेका छन् ।  

"हृदय" पुस्तक पढ्दा मैले के पाएँ ?

एउटा मानिसले सिर्जना गर्न सक्छ, नयाँ बनाउन सक्छ, निर्माण गर्न सक्छ । यसैगरी काम नगरेर बस्न पनि सक्छ । यति मात्र होइन भएको अवस्था अझ भत्काउन, विगार्न वा भयावह बनाउन पनि सक्छ । यो अवस्था हरेक मानिसको जीवनमा लागु हुनसक्छ । तर व्यक्तिले जीवनलाई के कसरी लिन्छ भन्नेमात्र हो ? माथिका अवस्थामा आफूलाई केकसरी लगाउँछ भन्ने मात्र हो ।

हरेक व्यक्तिको कर्मको असर उ स्वयं वा उसको घरपरिवारमा मात्र सीमित नभएर समाजमा पनि पर्नेगर्छ । मात्रामा फरक हुनसक्छ तर यो सबैका हकमा लागू हुन्छ । अझ सार्वजनिक पद धारण गरेकाले कम, अकर्म र कुकर्मको असर उ स्वयंलाई मात्र नभएर उ रहेको समाज र समग्र मुलुकमा परिरहेको हुन्छ । त्यही भएर सार्वजनिक क्षेत्रमा कस्ता व्यक्ति पुगे र तीनले के कस्ता कर्म गरे भन्ने विषयले ठूलो अर्थ राख्दछ भन्ने गरिन्छ ।

राजनीति मुलुकका लागि हो । यसले मुलुक विकासमा दिशा प्रदान गर्नसक्छ । विचार निर्माण गर्नसक्छ । यहाँ पनि स्वयं कर्ता अगाडि आउँछ । यही कर्ताले नै संस्था निर्माण गर्ने हो । कर्ता र संस्था मिलेर काम गर्ने हो, सुधार गर्ने हो, परिवर्तन गर्ने हो । यसरी राजनीति र राजनैतिक नेतृत्वले मुलुक बनाउने कामको नेतृत्व गर्न सक्छ । यसैगरी सार्वजनिक निकायको प्रमुखले बलियो संगठन बनाउन सक्छ । यहाँ बनाउनसक्छ भन्नु र बनाएर देखाउनुमा फरक छ । डा. कोइरालाले केही संस्था बनाएर देखाए । त्यही भएर उनलाई थप सम्झनुपर्ने नै छ । आफूले नसके पनि अरूका लागि काम गर्ने व्यक्तिहरूका काममा साथ दिनु पर्नेछ ।

नयाँ निर्माण गर्न यसै पनि सजिलो छैन । यस क्रममा धेरै बाधा, व्यवधान वा अवरोध आउँछन नै । यस क्रममा सहयोग गर्ने पनि हुनसक्छन् र असहयोग गर्ने पनि हुन्छन नै । कतिपय त हेरेर मात्र बस्ने पनि हुनसक्छन् । स्थान र परिवेश बमोजिम यीनको सङ्ख्या र मात्रामा फरक हुनसक्छ । जोन सि म्याक्सवेलले लिडरसीप सिफ्ट भन्ने पुस्तकमा २५:५०:२५ को सुत्र उल्लेख गरेका छन् । यसको अर्थ पहिलो २५ प्रतिशत सहयोगी, दोस्रो ५० प्रतिशत तटस्थ र तेस्रो २५ प्रतिशत असहयोगी हुन्छन भन्ने हो । काम गर्दा हरेक नेतृत्वले यस्ता समूहको समाना गर्नै पर्छ । मात्रामा घटिवढी होला, स्थान र संगठन विशेष रुपमा फरक फरक अवस्था होला । तर यस्तो अवस्था सबैमा आउँछ नै । यस्तै अवस्था डा. कोइरालाले आफ्नो सार्वजनिक जीवनमा भोगेकै हुनुपर्छ । तर पनि उनले काम गरेर देखाए । बीचको ५० प्रतिशतलाई आफ्नो एजेण्डामा सहमत गराए । चिकित्सक पेशामा रहेका व्यक्तिले यो व्यवस्थापकिय गुण कसरी हासिल गरे त ? सोचनिय विषय छ । पढेर, अध्ययन गरेर, छलफल गरेर वा अन्तरआत्मा प्रयोग गरेर हुनसक्छ ।

अहिले सार्वजनिक पद प्राप्त गर्न अनेक तिकदम र दौडधुप गर्ने अनि पद पाइसकेपछि काम गर्न नै दिइएन भन्नु वेतुकका तर्क सुन्नु पर्ने अवस्था छ । असजिलो छ भन्ने त दौडधुप गरेर काम लिने समयमा नै थाहा हुनुपर्ने हो । थाहा अवश्य हुन्छ नै । तर पदमा पुगेपछि काम गर्न नसक्ने अनि अरूलाई देखाएर काम गर्न दिएनन् भन्ने प्रवृत्ति अहिले बढ्दो छ । यी त क्षमता नभएको व्यक्ति सार्वजनिक पदमा पुगे पछि गर्ने हावादारी कुरामात्र हुन् । पदअनुसारको काम गर्ने वातावरण त स्वयं आफैँले तयार गर्ने हो । जोन सि म्याक्सवेल कै भाषामा भन्ने हो भने नेतृत्वले बीचको ५० प्रतिशतलाई आफ्नो एजेन्डामा ल्याउने हो । यो संख्यासँग अघिल्लो २५ प्रतिशत (जुन परिवर्तनका लागि तयार थियो) जोड्दा परिवर्तनको पक्षधर ७५ प्रतिशत हुन आउँछ । यो संख्या भनेको कामलाई अगाडि बढाउनका लागि पुग्दो मात्र नभएर राम्रो संख्या हो । हरेक परिवर्तनकर्ताले यस्तै ढँगबाट समूह निर्माण गरेको हुनुपर्छ ।

यसै प्रसङ्गमा नयाँ दिल्ली सरकारले शिक्षामा ल्याएको सकारात्मक परिवर्तनको एउटा प्रसङ्गलाई तहाँका तात्कालिन उपमूख्यमन्त्री एवं शिक्षामन्त्री मनिष सिसोडियाले आफ्नो शिक्षा भन्ने पुस्तकमा उल्लेख गरेका छन् । नयाँ दिल्ली सरकारले विद्यालयको गुणस्तर सुधारका लागि विद्यालयबाट प्रस्ताव आव्हान गर्यो । उक्त प्रस्तावलाई सहयोग गर्न एक कोष बनायो । उपलब्ध प्रस्तावको मूल्याङ्कन गरेर निश्चित सिलिङ्ग भित्र रहेर विद्यालयलाई बजेट उपलब्ध गराउने नीति तथा कार्यक्रम पारित गर्यो । प्रस्ताव सबैसँग मागिएको भए तापनि शुरूमा नयाँ दिल्लीका १००० मध्ये २०० विद्यालयले मात्र प्रस्ताव बुझाए । बाँकी ८०० ले सरकारसँग विश्वास नभएको भनेर सरकारलाई प्रस्ताव नै पेश गरेनन् । यस अवस्थामा नयाँ दिल्ली सरकारसँग दुई वटा विकल्प अगाडि देखिए । प्रस्ताव पेश गरेका २०० विद्यालयसँग मिलेर काम गर्ने कि प्रस्ताव पेश नगरेका ८०० लाई कार्यवाहि गर्ने वा उनीहरूसँग जुध्न भिड्न जाने । सरकारले पहिलो विकल्प रोज्यो । विद्यालयले पेश गरेको प्रस्तावलाई सहयोग गरी काम गर्न सुरु गर्यो । जव यी विद्यालयमा सुधार देखिन थाल्यो वाकी ८०० विद्यालयहरुले क्रमश प्रस्ताव पेश गरे ।

यसरी काम गर्दा सहयोग वा असहयोग हुनसक्छ नै । मूल प्रश्न आफूलाई कसरी अगाडि बढाउने भन्ने हो । हरेक परिवर्तन चाहनेहरू यसबाट गुज्रनै पर्छ । असहयोग गर्नेको बीचबाट आफूलाई सुधारको वाटोमा कसरी अगाडि बढाउने भन्ने विषय महत्वपूर्ण हुन्छ । काम गर्न दिएनन होइन कि काम कसरी गरेर देखाउने भन्ने विषय महत्वपूर्ण छ ।

डा. भगवान कोइरालाको "हृदय" पुस्तक पढिरहदा माथि उल्लेख गरिए जस्ता र यस्तै थुप्रै प्रसङ्ग मेरो मानसपटलमा घुमिरहे । एक काविल चिकित्सक आफ्नो पेशामा दक्ष एवं उत्कृष्ट हुँदाहुँदै त्यसमा मात्र रमाएनन् । मुटुको अपरेसन गरेर मात्र बस्ने छुट हुदाँ पनि त्यसबाट बाहिर निस्कने प्रयास गरिरहे । विदेशवाट अफर आएको प्रसङ्ग त पुस्तकमा ठाँउ ठाँउमा उल्लेख गरिएको छ । ती सबैलाई छोडेर केही गरौँ भनेर लाग्नु आफैमा ठूलै निर्णय हो । विदेशको नागरिकता र प्रमाणपत्र बोकेर विदेशमै बसी नेपालको राजनीतिलाई गाली गरेर बस्नेहरूको भिडमा डा. कोइराला लागेनन् । उनले आफूलाई यही नै हेले । विगतमा संस्था निर्माणको टिमको नेतृत्व गरे । अझै पनि थाकेका छैनन् । उनको यात्रामा साथ दिने समूह तयार गर्नमा उनी लागिरहेका छन् । विगतदेखि कामको क्रममा आइपरेका बाधा, व्यवधान र अफ्ठ्याराहरूलाई त उनले पुस्तकमा उल्लेख गरेका छन् । शायद अबका व्यवधान पनि उनले आकलन गरेर नै आफ्ना पाइला चालेका होलान । खहिले उनको आफ्नै हैसियतले पनि कतिपय समस्या सजिलै समाधान हुनसक्छन् । तर समस्या वा व्यवधान आउदैनन् भन्ने नहुन सक्छ । बाल अस्पताल खोल्ने काममा यस्ता बाधा व्यवधान आएकै होलान । उनले आफ्नो व्यवस्थापकीय गुणले समाधान गर्दै पनि होलान् ।

मानिसले प्रगति गर्नुको एउटा कारण वर्तमानबाट सन्तुष्ट नहुनु पनि हो । कोहिले आफ्नो वर्तमान मात्र हेर्छ, अनि त्यसलाई सुधार्न लाग्छ । समाजका केही व्यक्ति आफ्नो साथमा अरुको वर्तमानमा असन्तुष्टि पाउँछन् वा असन्तुष्ट हुन्छन् । मनमनै वेचैन हुन्छन् अनि आफ्नो, समाज र देशको लागि केही गर्नका लागि अगाडि सर्छन् । सुधारमा आफूलाई केन्द्रित गर्छन् । सुधारको क्रममा आइपर्ने जोखिम र अवरोधसँग खेल्न पुग्छन् । सधैँ जितिन्छ भन्ने नभए पनि व्यक्ति सुधारका लागि लागिरहन्छ ।

सरकारी जागिर खाएर वा तलवी काम गरेर देशको सेवा मान्ने जमातको बाहुल्यता रहेसम्म परिवर्तन पक्षधरलाई सजिलो छैन । किनकि सार्वजिनिक सेवाको उच्च पदमा पुग्नु नै समाजको नायक मानिने मानक अहिले बनिरहेको छ । पदले भन्दा कामले नायक मान्ने हाम्रो भाष्य र सोचमा परिवर्तन चाहिएको छ । हरेकले आफूले आफैँलाई सोध्दा हुन्छ – मैले अरूका लागि के गरेँ ?  समाजका लागि के गरेँ ? मुलुकका लागि के गरेँ ? तलवी कामले मात्र मुलुक सेवा गरेको बाहेक अन्य के काम मैले गर्न सकेँ त ?

"हृदय" पुस्तक पढ्दै जाँदा डा कोइरालाको जीवन कति आफ्नो र कति अरूका लागि रह्यो भनेर वर्गीकरण गर्न सकिन्छ । उनको अध्ययनको समय सम्मका प्रयास र परिश्रम आफू र आफ्नो परिवारका लागि हुन । जीवनको पछिल्लो कालखण्डमा उनले गरेका प्रयास उनको साथमा समाज र मुलुकका लागि पनि हुन् । यस्तो अवस्था डा. कोइरालाको जीवनमा मात्र नभएर अन्य जो कोहिको जीवनमा पनि आउन सक्छ । प्रश्न हामीले आफ्नो जीवनको कति खण्ड आफ्ना लागि र के कति खण्ड अरूका लागि पनि लगाउन सक्यौँ त ? शायद मानवियता यही नै होला ।

भूकम्पले बदलेको सोच

स्वभाविकरूपमा हरेक व्यक्तिले आफ्नो र आफ्नाका लागि त गर्छ नै । प्रश्न अरूका लागि के कति समय दिइयो त ? जुनदिनसम्म डा. कोइराला जागीरमा थिए सो दिनसम्म उनी पनि आफ्नै र आफ्नालागि तल्लिन थिए । तर जुन दिनबाट संस्था निर्माणमा लागे अनि उनको जीवन सार्वजनिक बन्न पुग्यो । यसरी सेवामा प्रवेश गरिसके पछिको समय आफ्नो लागि मात्र नभएर विरामी र मुलुकको मुलुकको लागि समेत बन्न पुग्यो । सम्बत ७२ को भूकम्प पश्चात उनी अझ सार्वजनिक बन्दै गएको अनुभव पुस्तक पढ्दा गर्न सकिन्छ । दुई मुठी सास कहिले कसरी जान्छ भन्ने ठेगान नभएको अवस्थामा बाच्दासम्म अरुको सेवा गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी डा. कोइरालामा रहेको पाइन्छ । चिकित्सा शास्त्रको विद्यार्थी उनमा कस्तो अध्यात्म सोच छ त थाहा भएन तर उनीमा पलाएको समाज सेवा पूर्वीय दर्शनको अध्यात्मिक चेतसँग नजिक हुन पुगेको महसुस मैले गरेको छु । मानवियता आफ्नालागि मात्र नभएर अरूका लागि पनि हो ।

देवेन्द्र राज पाण्डेले एक ज्यान दुई जूनी पुस्तकमा अमेरिकी लेखक मार्क ट्विनको एउटा भनाइ सापट लिएका छन् । मानिस ८० वर्षको हुँदा उसँग हुने अनुभव जीवनको पूर्वाद्ब अर्थात आठ दश वर्षको उमेरमा आउँथ्यो आउँथ्यो भने मानविय जीवन कस्तो बन्थ्यो होला । अवश्य पनि फरक पर्थ्यो । यसले संसार नै फरक खालको बनाउथ्यो होला । व्यक्तिमा उमेर बढेसँगै केही मात्रामा अनुभव थपिदैँ जान्छ । तर अनुभवमा गुणोत्तरी आउन अध्ययन चाहिन्छ । जीवन भोग्नुपर्छ । घट्नाहरूसँग जुध्नुपर्छ । मानवियताको समिप पुग्नुपर्छ ।

यही मेसोमा ७२ सालको भूकम्पले डा. कोइरालामा यही जीवनमा अरूका लागि केही गर्नुपर्छ भन्ने चेतलाई अझ बलियो बनायो । भूकम्पले दुखका कथा भोगायो । दर्द देखायो । मानवियता चाहिन्छ भन्ने देखायो । अझ केही गर्नुपर्छ भन्ने चेतलाई थप बलियो बनायो । यी सबैबाट मुलुकका आम नागरिक अझ खास गरी वालवालिकाको स्वास्थ्यमा केही गर्न पाए हुन्थ्यो भन्ने भावना डा. कोइरालामा अझ प्रवल बन्न पुग्यो । थप विश्वास जगायो ।

अहिले डा. भगवान कोइराला आफैँमा संस्था बनिसके । उनको एउटा आग्रहमा धेरै सहयोग जम्मा हुन पनि सक्छ । उनका जीवनका अझ धेरै पाटाहरू उजागर हुन बाँकी नै होलान । अबका दिनमा थप खुल्दै पनि जालान् ।

मैले यस पुस्तकको वारेमा केही लेखिरहँदा डा. भगवान कोइरालाका राम्रा पक्षका बारेमा मात्र लेखेको भन्ने पनि लाग्न सक्छ । मेरो छोटो संगतको कारण उनमा मैले देखे हेरे वा बुझेभन्दा फरक पाटा पनि हुन सक्छन् । उनका पनि  मानवीय कमजोरी होलान् । हुन्छन् नै । तर यस लेखमा हृदय पुस्तकमा उल्लेख गरिएका विभिन्न प्रसंग र डा. कोइरालाको जीवनीलाई सुक्षम रूपमा केलाउने प्रयास मात्र गरिएको हो । तिनको लेखाजोखा गर्न खोजिएको हो । यसमा उनले के गरे भन्नेमा ध्यान दिइएको छ । उनले के गर्न सकेनन् वा उनमा के कमजोरी थियो भनेर खोजी गरिएको छैन ।

पुस्तक आकर्षक छ । भाषागत एवं प्रस्तुतीको शैली हेर्दा पनि खासै कमजोरी देखाइहाल्नु पर्ने अवस्था छैन । संस्थागत र व्यक्तिगत मूल्य कायम गरिएको छ । विशेष प्रकाशनवाट प्राप्त रकम वाल अस्पताल निर्माणमा प्रयोग गर्ने वा लगाउने भन्ने निर्णय छ, जून आफैमा स्वागतयोग्य छ । साथै नियमित प्रकाशनवाट प्राप्त रकमको २५ प्रतिशत रकम पनि सोहि बाल अस्पतालका लागि जाने भनिएको छ । पुस्तक खरिद गर्दा डा. कोइरालाको जीवनीका बारेमा थाहा पाउने संस्था निर्माणका नालिवेलीसँग साक्षात्कार हुन पाउने मात्र नभएर बाल अस्पताल निर्माणमा थोरै भए पनि सहयोग पुग्ने देखिन्छ ।

नेपालमा बढ्दो मध्यम वर्ग बढ्दो क्रममा छ । उपभोगमा ज्यादा दिलचस्पी छ । आवरण र आभूषणमा बल छ । अहिले केही सोच हावीमा छ । राज्यवाट सुविधा कसरी लिने ? सरकारको खर्चमा कसरी आफू र आफ्ना एवं समुदायका लागि लाभ दिने ? सरकारी खर्चमा नै आफ्ना सुविधा कसरी बढाउने ? यस्तो सोचको विगविगी भएको समयमा एउटा सार्वजनिक संस्था निर्माण गर्छु भनेर लाग्नु आफैमा चुनौतीपूर्ण काम हो । डा. कोइराला यस्ता चुनौतीपूर्ण काम गर्न कुशल खेलाडि भएकोले यस वाल अस्पताल निर्माण एवं संचालनमा अवस्य सफलता मिल्ने नै छ । काठमाडौँमा मात्र नभएर मुलुकका सातै प्रदेशमा अस्पताल निर्माण एवं संचालन गर्ने कार्यले छिट्टै नै पुर्णता प्राप्त गर्न सकोस भन्ने शुभकामना पनि छ । सफलताको यस्तो शुभकामना मेरोमात्र नभएर धेरैको हुनसक्छ ।

हरेक व्यक्तिको विगत जस्तै डा. कोइरालाको विगत पनि एक इतिहास हो । इतिहास सिक्नका लागि हो । गल्ति नदोहोर्याउनका लागि हो । पाठका लागि हो । डा. कोइरालाको परिश्रम गर्ने बानी, काममा दत्त्तचित्त रहने बानी, कहिल्यै हरेश नखाने बानी र आफ्नै काममा ध्यान केन्द्रित गर्ने जस्ता विषयहरू अरू जोकोहिका लागि पनि उपयोगी हुनसक्छन् । त्यही भएर एकपटक पुस्तक पढ्दा फाइदा हुन्छ नै ।

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् । यसमा व्यक्त विचार लेखकका निजी मत हुन्