तामझामका साथ भर्ना अभियान, विद्यार्थी घट्दै

भित्राऊ ! टिकाऊ ! सिकाऊ ! अनि विकाऊ ! भन्दै सरकारले २०६१ सालदेखि विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालनमा ल्यायो । यो अभियान सञ्चालनमा आएको १९ वर्षसम्म बित्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अझै हरेक वर्ष तामझामका साथ १५ दिन अभियान सञ्चालन गर्छ । ३६५ दिन भर्ना र गुणस्तर सुधारमा ध्यान नदिने मन्त्री तथा सरकार ढोल पिटेर अभियान सञ्चालन गर्छ । शैक्षिक सत्र सुरु भएको १५ दिन सम्म विद्यालय भर्ना अभियान भन्दै कराइ रहन्छ । 

सङ्घ, प्रदेश एवं स्थानीय तहबाट संयुक्तरूपमा शैक्षिकसत्र २०८० को मा विद्यालय उमेर समूह (पाँच वर्षमाथि) का सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्णय गरेको छ । यो वर्ष पनि वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालनका लागि ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारा सहित १५ दिन भर्ना अभियानका लागि छुट्याएको छ । तर, विगत ६ वर्षलाई फर्केर हेर्दा शैक्षिक वर्ष २०७४ को तुलनामा २०७८ मा कुल विद्यार्थी संख्या ८.७७ प्रतिशतले घटेको महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा उल्लेख छ । कुल घटेको संख्या मध्ये सामुदायिकका विद्यार्थी २०.१४ प्रतिशतले घटेका छन् भने संस्थागत विद्यालयमा विद्यार्थी ४७.५५ प्रतिशत बढेका छन् ।

विसं २०६१ मा भर्ना अभियान सुरु गर्दा प्राथमिक तहको खुद भर्ना दर ८० प्रतिशत थियो । आर्थिक सर्वेक्षण २०७९–८० का अनुसार शैक्षिक सत्र २०७८ मा कक्षा १ मा खुद भर्ना दर (भर्ना हुने उमेर ५ वर्ष पूरा भएका) ९६.३ प्रतिशत रहेको छ । पछिल्लो १९ वर्षमा १६.३ प्रतिशत विद्यार्थी मात्र बढेको यो तथ्याङ्कले देखाउँछ ।

शैक्षिक सत्र २०७८ मा प्राथमिक तह (कक्षा १–५), आधारभूत तह (कक्षा १.८) र माध्यमिक तह (कक्षा ९–१२) भर्नादर क्रमशः ९६.९ प्रतिशत, ९५.१ प्रतिशत र ५४.३ प्रतिशत पुगेको छ।

यस शैक्षिक सत्रमा आधारभूत तह (१–५) को खुद भर्नादरमा ०.५ प्रतिशतले कमी आए पनि अन्य तहहरूको खुद भर्ना दर वृद्धि भएको छ ।

टिकाउदर न्यून

भने कक्षा ८ सम्मको टिकाउ दर ८५.१ प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६६.१ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३३.१ प्रतिशत रहेको छ ।

कोभिड–१९ ले शिक्षा क्षेत्रमा नकरात्मक असर पारे पनि कक्षा १० र १२ को टिकाउ दरमा सन्तोषजनक वृद्धि भएको देखिन्छ ।

पठाउछु भन्छन्, आउँदैनन्

अहिले सामुदायिक विद्यालयका शिक्षकहरूलाई भर्ना अभियान सञ्चालन गर्ने चटारो थपिएको छ । केही विद्यालयले सम्बन्धित स्थानीय तहको निर्देशनमा केही अगाडिबाटै भर्ना अभियान सञ्चालन गरेर कक्षा नै आजबाट सुरु गरिसकेको पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक विनिता रञ्जितले बताइन् । भने धेरैले आजबाट भर्ना अभियान सुरु गरेका छन् ।

विशेषगरी, काठमाडौं उपत्यकाका तीनै जिल्लाका धेरै विद्यालयले घरदैलो कार्यक्रम सञ्चालन गरेर नै यो अभियानको थालनी गरेको जानकारी दिए । चर, अधिकांश नाम चलेका विद्यालयमा भने भौतिकपूर्वाधार अभावका कारण प्रत्येक कक्षामा एक चार पाँच जनाभन्दा बढी विद्यार्थी भर्ना नै लिन नसकिने, अभियानको आवश्यकता नै नपर्ने जानकारी दिए ।

काठमाडौंका ज्ञानोदय, विश्वनिकेतन, रत्नराज्य, जनकल्याण,गीतामाता, तरुण, कोटेश्वर सरस्वती, शिवपुरी, शान्ति विद्यागृह, पद्यमोदय, जनपथ, नीलबाराही, पशुपति मित्र लगायतका केही विद्यालयलाई विद्यार्थी खोज्नु नै पर्दैन तर पनि यी विद्यालयले भर्ना अभियानका क्रममा स्थानीय अभिभावकसंग कुरा गर्दा आफ्ना छोराछोरीलाई पढ्न पठाउने आश्वासन पाए पनि कहिले नपठाउने गरेको विद्यालयको गुनासो छ । ‘सामुदायिक विद्यालय कहाँ छ ? स्थानीय तहका पदाधिकारीलाई पनि थाहा छ, शिक्षक ,व्यवस्थापन समिति र स्थानीय बासिन्दालाई थाहा छ ।’ अभियानमा संलग्न एक विद्यालयको टोलीले गुनासो गर्दै भन्यो, ‘हामी गल्ली गल्ली कुद्छौं खुट्टा दुःछ स्थानीय आउँदैनन् ।’

शैक्षिक शत्र

नारा

२०८०

‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’

२०७९

सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं

२०७८

विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट

२०७७

विषम परिस्थिति

२०७६

सबै बालबालिकाहरुलाई विद्यालय पठाऔं, नेपाललाई शिक्षितको देश बनाऔं

२०७५

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’

२०७४

हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा”

२०७३

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’

भक्तपुरको सल्लाघारीमा ‘सन्तति आधारभूत विद्यालय’ छ । सो विदालयमा अघिल्लो शैक्षिक सत्रमा १७२ जना विद्यार्थी थिए । त्यसमा स्थानीय दुई जना । सो विद्यालयले आज १० बजेदेखि नै घरदैलो तथा सामाजिक सञ्जाल र सञ्चारका विभिन्न माध्यमबाट भर्ना अभियान सञ्चालन गर्यो । अहिलेसम्म भेट भएका स्थानीय बासिन्दाले हुन्छ गुणस्तर सुधार भएको छ पठाउँछु भन्ने आस्वासन त दिए तर कक्षामा स्थानीयका छोराछोरी आउने संभावना कम भएको विद्यालयको गुनासो छ ।

साक्षरता

राष्ट्रिय जनगणना २०७८मा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुको शैक्षिक अवस्था सम्बन्धी विवरण संकलन गरिएको थियो । जनगणनाको नतिजाले देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २ करोड ६६ लाख ७५ हजार ९७५ जनसंख्यामा २ करोड ३ लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न दुबै जान्ने देखाएको छ ।

यस अनुसार देशको समग्र साक्षरता दर ७६.२ प्रतिशत कायम हुन्छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेको छ र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।