Bachelors Portal

शैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्नेलाई कारवाही गरिने

Managed Admission 2022

शैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले सो जानकारी दिएका हुन् ।

ललितपुरको जनभावना क्याम्पस र नेस्फिल्ड इन्टरनेसनल कलेजले आयोजना गरेको उच्च शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

“परीक्षामा पछाडि छौँ । समयमा परीक्षा सञ्चालन गर्न सकेका छैनौँ । नतिजा समयमा सार्वजनिक गर्न सक्दैनौँ । हामी दोषी हौँ” उनले भने, “अब शैक्षिक क्यालेन्डर कडाइका साथ कार्यान्वयन हुनेछ । कार्यान्वयन नगर्नेलाई कारवाही गर्नेछौँ । यसमा हामी पूर्ण प्रतिबद्ध छौँ ।”

त्रिविका शिक्षाध्यक्ष डा। केसीले दलीय भागबन्डा अन्त्य गर्ने गरी नियुक्तिको आधार र मापदण्ड निर्देशिका बिहीबार राती निर्णय गरेर जारी गरिएको जानकारी दिए ।

उनले त्रिचन्द्र कलेज, पाटन कलेज र अस्कल कलेजमा गरिँदै आएको लागनीबाट पनि राज्यले उच्च शिक्षालाई कति प्राथमिकता दिने गरेको छ भन्ने प्रष्ट हुने बताउँदै भने, “ती तीन क्याम्पसको संरचना गति छैनन् । चन्दा उठाएर सुधार गर्ने होइन राज्यले नै गर्नुपर्छ । ती तीन क्याम्पस त उदाहरण मात्र हुन्, अन्यको अवस्था पनि उस्तै छ ।” उनले विश्व बैंकसँग सहकार्य गरेर राज्यले कहिलेसम्म धान्न सक्छ भन्ने चिन्ताको विषय हो भने ।

विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकर भण्डारीले गुणस्तरका कारण विद्यार्थी विदेशिएका नभई अवसर नपाएर विदेशिएका हुन् भने ।

उनले विद्यार्थी विदेश गए भन्दा पनि उनीहरु किन फर्किएनन् भन्नेमा चासो हुनुपर्छ भन्दै थपे, “विद्यार्थीलाई विदेश जान रोक्नुहुन्न । जान दिनुपर्छ तर उनीहरुलाई फर्काउने कसरी भन्ने बारेमा सरकारले चासो लिनुपर्छ ।”

उनले देशका १२ वटै विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर पालना हुन नसकेको गुनासो गर्दै अब जति वर्षको शैक्षिक कार्यक्रम हो त्यति वर्षभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने गरी क्यालेन्डर पालना गर्नुपर्ने बताए ।

सांसद उदयशमशेर राणाले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजलाई बन्द गर्न नहुने बताए । “उनीहरुले राम्रो र गुणस्तरीय शिक्षा दिएका छन्” उनले भने, “यसबाट प्रतिस्पर्धा बढ्न सक्छ । त्यसो हुँदा नयाँ संस्था नेपाल आउँदा नयाँ प्रविधि, नयाँ शिक्षा र नयाँ ज्ञान पनि प्रवेश गर्दछ ।”

जनभावना क्याम्पसका प्रमुख शिवराज सन्जेलले उच्च शिक्षामा छिटो छिटो परिवर्तन र चुनौति बढ्दै गएको बताउँदै गुणस्तर सुनिश्चिततामा समस्या आएको धारणा व्यक्त गरे । उनले पछिल्लो समय परीक्षाले पनि समस्या पारेको र यसले गर्दा विद्यार्थीलाई स्वदेशमा टिकाउन नसकिएको बताउँदै लामो समयदेखि एउटै पाठ्यक्रम प्रयोग गरिरहेकोले विश्व बजारको मागअनुसारको पाठ्यक्रम हुनुपर्ने बताए ।

Select college / campus