शैक्षिक उपलब्धि बढाउन गरिएको  कार्यमूलक अनुसन्धान

कार्यमूलक अनुसन्धान प्रतिवेदन:

अनुसन्धानको शीर्षक: सामाजिक अध्ययन विषयको नियमित गृहकार्य परियोजना कार्य गर्ने विद्यार्थीहरूको सङ्ख्या कसरी बढाउन सकिएला ?

अनुसन्धानको पृष्ठभूमि

शिक्षकले दिएको गृहकार्य र पाठ्यपुस्तकमा भएको परियोजना कार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः सबै विद्यालयका बालबालिकामा देखिन्छ । शिक्षकहरुको विद्यार्थीलाई दिएको काम कहिल्यै गर्दैनन्,  किताब कापी ल्याउदैनन्, ल्याए पनि पल्टाउँदैनन्,  अझै परियोजना कार्य त गर्दै गर्दैनन्, गराउनै सकिँदैन भन्ने गुनासो सुनिइरहन्छ । दोषमात्र लगाइरहनुभन्दा पनि विद्यार्थीलाई स्वयं शिक्षकले पाठ्यक्रमले तोकेका  क्रियाकलाप, परियोजना कार्य र गृहकार्यको आवश्यकता एवं  महत्त्व कतिको बुझाइएको छ ? विद्यार्थीलाई कतिको सक्षम र जिम्मेवार बनाउन सकिएको छ ?  भन्ने कुरातर्फ न ध्यान पुगेको छ न त कार्यमूलक अनुसन्धान नै गरिएको छ । कक्षा कोठा  शिक्षणमा आधुनिक नविनतम विधि एवं  प्रविधिको प्रयोग गरिएको पनि पाइँदैन, नत विद्यार्थीहरूको  उमेर, रुची, चाहना, इच्छा  र परिवेश अनुकूल  क्रियाकलापलाई समेटिएको नै पाइन्छ । आफैंले गरेर सिक्ने, प्रत्यक्ष देखेर सिक्ने, व्यवहारिक र  प्रयोगात्मक शिक्षणलाई बेवास्ता गरी व्याख्यान विधि र शिक्षक केन्द्रित भनौं अथवा पढ पढ भन्ने परम्परागत शिक्षण विधिलाई नै निरन्तरता दिँदै आइरहेको पाइन्छ ।

यी सबै कुरा विचार गरी, मैले आफ्नो विद्यालयका  विद्यार्थीले परियोजना कार्य, पाठगत क्रियाकलाप र अभ्यास गृहकार्य कत्तिको गर्छन् भनेर थाहा पाउने प्रयास गरेँ । यसै सन्दर्भमा केही विद्यार्थी र शिक्षकलाई सोधखोज गरेँ ।  धेरै शिक्षकले  विद्यार्थीहरूले गृहकार्य कम गर्ने  गरेको  बताउनुभयो । प्राय:जसो विद्यार्थीले पनि गर्नै मन नलाग्ने र नगरे पनि हुने कुरा बताए । यसपछि शैक्षिक उपलब्धि न्यून रहनुको एक मुख्य कारण गृहकार्य नगर्नु, क्रियाकलाप र परियोजना कार्य नगर्नु रहेको पत्ता लगाए । सामाजिक विषयको अपेक्षित शैक्षिक उपलब्धि हासिल हुन नसक्नुका कारण वा सिकाइको मुख्य समस्या यही रहेको थाहा पाएँ । अनि मैले यसै कुरालाई अध्ययन अनुसन्धानको विषय बनाएर आखिर अधिकांश विद्यार्थी परियोजना कार्य र  गृहकार्य किन गर्दैनन् ? भन्ने कुराको बारेमा अनुसन्धान गर्ने निधो गरेँ । यसैलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययन/ अनुसन्धान  सुरु पनि गरेँ ।

समस्याको पहिचान 

अहिले मैले पढाउने विद्यालयको कक्षा १०  सेक्सन ए मा १८ बी  मा ३३ र सी मा २९ जना गरी जम्म ७९  जना विद्यार्थीहरू अध्ययनरत छन् । उक्त कक्षामा म दोस्रो,  चौथो र पाचौँ घण्टीमा सामाजिक विषय पढाउँछु । गत वर्ष पनि यिनै विद्यार्थी कक्षा ९ मा पढाउँदा धेरैजसोले गृहकार्य नगर्ने परियोजना कार्य त गर्नै नपर्ने रे, गृहकार्य कसैले नगर्ने समस्या भोगिरहेकै थिए । म हैरान भएकी थिएँ । त्यसैले यो शैक्षिक सत्रको सुरुवातमै उनीहरुले गृहकार्य किन नियमित रुपमा गर्दैनन् ? परियोजना कार्यप्रती किन चासो गरेनन् ? उनीहरुलाई कसरी नियमित गृहकार्य गर्ने बनाउने ? परियोजना कार्यको महत्त्व कसरी बुझाउने भन्ने विषयमा  कार्यमूलक अनुसन्धान गर्ने  निर्क्यौल गरे अनि सुरु पनि गरिहाले ।

पहिलो चरणयोजना

- कक्षामा कति  विद्यार्थीले गृहकार्य बुझाउँछन् ? त्यसको जानकारी लिने ।

- कति जना परियोजना कार्य आफैं गर्छन् ? कति  परियोजना कार्यप्रति उत्सुक छन् वा चासो देखाउँछ्न, सोधपुछ गर्ने, छलफल गर्ने र निष्कर्ष निकाल्ने ।

क्रियाकलाप

पहिलो दिन- विद्यार्थीलाई नियमित कक्षा सकिएपछि मैले पढाउँदै गरेको कक्षा १० को  सामाजिक अध्ययन विषयको, एकाइ ७ "हाम्रो विगत" एकाइ शीर्षकअन्तर्गत पाठ १०  मा रहेको पाठ शीर्षक "स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण" भन्ने पाठको अभ्यास, गृहकार्य  र उक्त पाठमा रहेक परियोजना कार्यलाई मौखिक रूपमा व्याख्या गरेर नमुना प्रतिवेदन प्रदर्शन गरेर  सबै कुरा बुझाएर, भोलिपल्ट सबै विद्यार्थीलाई अभ्यास र परियोजना कार्य दुबै राम्रोसँग अनिवार्य गरेर ल्याउन  भने ।  सबै विद्यार्थीहरुले गृहकार्य डायरीमा टिपोट गरे, गरेर ल्याउने वाचा गरी  कक्षा समापन गरे ।

अभ्यासका प्रश्नहरू

१) ऐतिहासिक स्थल भन्नाले के बुझिन्छ ?

२) हाम्रा ऐतिहासिक, धार्मिक  तथा पुरातात्त्विक  स्थलको संरक्षण किन गर्नुपर्छ ?

३) हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको महत्त्व उल्लेख गर्नुहोस् ।

परियोजनाकार्य

तपाईं बसोबास गरेको क्षेत्रमा रहेका ऐतिहासिक स्थलको खोजी तथा पहिचान गर्नुहोस् पाठमा दिइए जस्तै गरि प्रतिवेदन तयार गरि कक्षामा प्रस्तुत गर्नुहोस् ।

अवलोकन

भोलिपल्ट आफ्नो घण्टीमा पालैपालो कक्षामा गए ।  सबैलाई गृहकार्य र परियोजना कार्य आफ्नो अगाडि राख्न आग्रह गरे । सबैले कापी अगाडि राखे तर ७९ जना विद्यार्थीमध्ये उपस्थित ७० जनामा २० जनाले मात्रै अभ्यास र परियोजना कार्य  गरेको, अभ्यास मात्रै गर्ने चै ३० जना बाँकी ११ जनाले १/२ वटा प्रश्न हल गरेको तर र ९ जनाले भने  केही काम गर्न त परै जाओस्  कपि कलम नै लिएर नआएको पाइयो ।

प्रतिबिम्वन

पढाइमा जाँगर लगाउने , लगनशील र सिकाइ क्षमता अब्बल भएका केही विद्यार्थीहरुले गृहकार्य , परियोजना कार्य गरे पनि पढाइमा पछाडि भएका अन्य विद्यार्थीले गृहकार्य नगर्ने र परियोजना कार्यलाई त  कुनै महत्व नै  दिएको पाइएन । परियोजना कार्य त झन्झटिलो, अनावश्यक र खोजी गर्नुपर्ने सार्न नपाइने भएकोले अल्छी गरेको पाइयो। 

त्यसकारण यस्ता  समस्या केही मात्रामा भए पनि समाधान गर्नको लागि विद्यार्थीहरूलाई सकारात्मक पृष्ठपोषण प्रदान गर्ने, उत्प्रेरणा जगाउने,  शिक्षण सिकाइ शैली र गृहकार्यको शैलीमा परिवर्तन गर्ने । सिर्जनात्मक र रचनात्मक, खोजमुलक तथा प्रयोगात्मक कार्य गर्न अभिप्रेरित गर्ने । प्रयोगात्मक र आन्तरिक मूल्यांकनको उपादेयता बुझाउने । क्रियाकलापमुखी, सहभागितामुलक विद्यार्थी केन्द्रित सिकाई गर्ने गरी दोश्रो चरणको योजना बनाएर  अनुसन्धान कार्य अगाडि बढाए  । यस कार्यको लागि तीन दिनको समयसीमा पनि निर्धारण गरे ।

दोश्रो चरणयोजना

विषयगत आन्तरिक र बाह्य मूल्याङ्कन प्रक्रियाको बारेमा विद्यार्थीलाई प्रष्ट गराइ गृहकार्य र परियोजना कार्यका आधारमा सिकाई उपलब्धि मूल्याङ्कन हुने बारेमा जानकारी गराएर गृहकार्य र परियोजना कार्यप्रतिको विद्यार्थीको आकर्षण बढ्छ वा बढ्दैन पत्ता लगाउने ।

•  गरेर सिक्ने प्रयोगात्मक विधिबाट कक्षा कोठामा नै गृहकार्य बारेमा स्पष्ट हुने गरी छलफल चलाउने र  परियोजना कार्य पनि कक्षामै गर्न लगाउने ।

• विद्यार्थीलाई  दिएको गृहकार्य र परियोजना कार्य भोलिपल्ट सिर्जनात्मक र रचनात्मक तरिकाले  सामुहिक छलफल गरी र प्रस्तुतीकरणसमेत गर्न  लगाउने ।

• ईन्टरनेटको माध्यमबाट गुगल खोजी गरी अधिकतम प्रविधिको प्रयोगबाट परियोजना र  गृहकार्य गर्न उत्साहित गर्ने ।

• गृहकार्यले परीक्षामा र परियोजनाकार्यले जीवनको परीक्षामा सफल हुने कुराले उनीहरूको उत्प्रेरणा जगाउने

क्रियाकलाप

पहिलो दिन-कक्षामा प्रवेश गर्ने वित्तिकै  सामाजिक अध्ययन विषयको मूल्याङ्कन पद्धतिका बारेमा जानकारी गराएँ । ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक परीक्षा हुने जानकारी दिएर प्रयोगात्मकमा मुल्यांकनमा  हरेक विद्यार्थीले बुझाएको गृहकार्य कक्षा कार्य र परियोजना कार्यको गरेको बुझाएको, प्रस्तुति गरेको  अभिलेखिकरण हुने उक्त अभिलेखीकरणको आधारमा मूल्याङ्कन हुने कुरा स्पष्ट जानकारी गराएँ ।

• गृहकार्य कक्षा कार्य र परियोजना कार्यको छुट्टाछुट्टै कापी किन्न लगाएँ ।

• दोश्रो दिन- विद्यार्थीलाई नै पाठ अध्ययन गर्न लगाई सामूहिक छलफल गर्न भने र नमुना प्रतिवेदन प्रस्तुत गर्दै यसका अङ्गबारे समूह विभाजन गरी चार्ट पेपरमा तालिका बनाई विषयवस्तु लेख्न लगाएँ । आफूले  सहजीकरणको भूमिका मात्रै  निर्वाह गरेँ ।

• तेस्रो दिन - हाम्रो धार्मिक ऐतिहासिक  र पुरातात्त्विक स्थलको महत्त्व र संरक्षण बारे ल्यापटप र प्रोजेक्टरको प्रयोग गर्दै पावर पोइन्टद्वारा छलफल गराएँ । विषयवस्तु समेटिएको युट्युब भिडियो देखाएँ र महत्त्वपूर्ण कुराहरू उनीहरू आफैंलाई कापीमा टिप्न लगाएँ । कक्षा क्रियाकलाप सकिएपछि पुनः उक्त गृहकार्य परियोजना कार्य पूरा गर्न भनेँ ।

अवलोकन

तेस्रो दिन अर्थात् भोलिपल्ट कक्षामा प्रवेश गरिसकेपछि अघिल्लो दिनझैँ गृहकार्य र परियोजना कार्य आ-आफ्नो अगाडि राख्न आग्रह गरेँ  । गृहकार्य संकलन गरे धेरै जसोले परियोजना कार्य चार्ट पेपरमा पहिलो र दोस्रो  दिन कक्षामा सिकाईएको क्रियाकलाप जस्तै रचनात्मक तरिकाले गृहकार्य गरेका थिए, कतिपयले कापीमा गरेका थिए ।

 ७९ जनामा ७२ जना (९१ प्रतिशत) विद्यार्थीहरुले दिइएको गृहकार्य पूरा गरेको पाइयो । परियोजना कार्य समेत ६८ जनाले राम्ररी गरेको पाइयो । सुरुमा जम्मा ५० जना (६३ प्रतिशत)ले मात्र गृहकार्य र परियोजना  गरेकामा कसरी धेरैलाई गृहकार्य गर्ने उत्साह बढ्यो ? कसरी परियोजना कार्य धेरैले गरे ? भनी जान्न खोज्दा प्रयोगात्मकमा छुट्याइएको अङ्क २५ प्रतिशत  कक्षाकार्य र गृहकार्य र परियोजना कार्यका आधारमा मूल्याङ्कन हुने हुँदा अङ्क थोरै नआओस्  र प्रयोगात्मक परीक्षामा समेत अनुत्तीर्ण हुने डरको कारण र सिकाइ शैली परिवर्तन गर्दा धेरैले सिकेको र साथी सँग समुहमा मिलेर  सोधखोज गरी  गरेको बताएँ ।

गरेर सिक्ने, छलफल र प्रदर्शन विधिद्वारा सहभागितामूलक क्रियाकलापको आधारमा सिकाइ हुँदा राम्रोसँग बुझिएकोले गृहकार्य गर्न सजिलो भएको भनी अर्का विद्यार्थीले बताए । ऐतिहासिक धार्मिक तथा पुरातात्त्विक स्थलको बारेमा विभिन्न शीर्षकमा रही छलफल गर्दै  अलग अलग कलरको चार्ट पेपरमा प्रतिवेदन तयार गरी टाँस्दा रमाइलो तरिकाले सिकाइ भएको साथै धेरै विषयवस्तुको जानकारी भएको, यसले  गृहकार्य गर्न पनि सजिलो भएको, बताए ।  त्यस्तै युट्युब भिडियो हेर्दा दृश्य अवलोकनबाट  जीवन्त सिकाइ भएको ती स्थलहरूमा पुगे जस्तै भएको भन्दै आफ्ना अनुभव साटासाट गरे । खुशी मुद्रामा देखिए ।

प्रतिबिम्वन

गृहकार्य, परियोजना कार्य नगर्नुमा विद्यार्थीको मात्र दोष हुँदैन । सिकाइका नविनतम विधिको खोज र प्रयोग नगर्नु ।  शिक्षकले विद्यार्थीमा कुनै उत्प्रेरणा दिन नसक्नु, शिक्षक केन्द्रीत, व्याख्यान र परम्परागत सिकाइलाई मात्र प्रश्रय दिनु, रचनात्मक क्रियाकलाप नगर्नु, नगराउनु, आधुनिक प्रविधिको कक्षाकोठामा प्रयोग नगर्नु, प्रयोगात्मक र व्यवहारिक शिक्षण सिकाइ नगर्नु, विद्यार्थीको इच्छा, चाहनालाई नबुझी शिक्षण गर्नु, गर गर पढ् पढ् मात्रै भन्नु  मुख्य कारणहरू हुन् ।

सकारात्मक पृष्ठपोषण, आधुनिक तथा प्रयोगात्मक सिकाई शैलीले विद्यार्थीमा उत्प्रेरणा बढाउँछ,उत्सुकता जगाउँछ । सक्रियता बढाउँछ, स्वत:स्फुर्त सिकैइ हुनुको  साथै विषयवस्तु प्रतिको बुझाईलाई  स्पष्ट तथा चिरस्थाई बनाउँछ । शिक्षकले पढाउने भन्दा पनि सिकाउने र शिक्षक भन्दा पनि सहजकर्ताको भुमिकामा  रहनुपर्छ ।

निश्कर्ष

विद्यार्थीले नियमित रुपमा गृहकार्य र परियोजना गर्दैनन् । उनीहरुलाई कसरी नियमित गृहकार्य र परियोजना कार्य सजिलोसँग गर्ने बनाउन सकिन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडि बढाउँदा दोश्रो चरणमा आइपुग्दा विद्यार्थी सक्रियता र उत्सुकता बढेको, धेरै सुधार भएकोले आगामी  दिनमा अरु समस्याको पहिचान गर्दै  अन्य सिकाई समस्याको विषयवस्तुमा पनि कार्यमूलक अनुसन्धान गर्दै अगाडि बढेमा आफ्नो विषयगत शैक्षिक उपलब्धि क्रमशः वृद्धि गराउँदै  शिक्षण पेसालाई अब्बल र  सफल बनाउन सकिने रहेछ भन्ने  अनुभव गर्दै मैले अनुसन्धानको चरणलाई  बिराम दिएँ ।

अन्त्यमा यस अनुसन्धानमा,  शिक्षकले विद्यार्थीलाई कक्षा कोठामा काम गर, पढ् भन्ने निर्देशन दिने तर गरेमा त्यसको प्रत्यक्ष उपलब्धि के हुने भन्ने बारेमा प्रष्ट जानकारी नहुँदा र नविनतम प्रविधिको प्रयोग नहुँदा उनीहरु, कुनै पनि सिकाइ क्रियाकलापप्रति आकर्षित हुँदैनन् ।  त्यस्तै किताबको अर्थहिन पठन र  विषयवस्तुप्रतिको सुगा रटाइले मात्र सिकाइ दिगो हुँदैन । सिकाइ त गरेर सिक्ने, देखेर सिक्ने क्रियाकलापमुखी एवं  उदेश्यमूलक हुनुपर्छ अनि मात्रै  सिकारूलाई सिकाइप्रति उत्सुक र जागरुक बनाउँछ,  उत्प्रेरित गराउँछ भन्ने कुरालाई पुष्टि गरेको छ ।

(बाल उद्दार माध्यमिक विद्यालय बूढानीलकण्ठ-१० कपनका सामाजिक अध्ययन विषयका माध्यमिक शिक्षक ।)

Thuprai - Books and E-books