एसईई नतिजाको यथार्थ विश्लेषण

यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै विभिन्न कोणबाट बहस र टिप्पणी सुरुभएका छन् । गत वर्षको तुलनामा यस वर्ष करिब १४ प्रतिशतले बढेर ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुले विशेषगरी सामाजिक सञ्जाल र केही शिक्षाविद्हरूबीच तरंग ल्याएको छ । प्रधानमन्त्रीले परीक्षाको नतिजा प्रकाशित हुनु भन्दा एक साता अघि नै यस वर्ष ६० देखि ६४ प्रतिशत नतिजा आउने उद्घोष गर्नु र पछि सोही हाराहारीमा नतिजा आउनुले उनको दबाबमा नतिजा बढाइएको भन्ने तर्कहरू समेत सुनिएका छन्।

शिक्षाविद् डा. मीनबहादुर शाहीले प्रधानमन्त्रीको निर्देशनमा नम्बर थपेर उत्तीर्णदर बढाइएको आरोप नै लगाउनुभएको छ ।उनको तर्क छ, "अघिल्लो वर्ष झण्डै ४८ प्रतिशत मात्रै उत्तीर्ण भएपछि प्रधानमन्त्रीले शिक्षकहरूलाई गाली गरे, परीक्षा बोर्डका अध्यक्षलाई पेलियो, त्यही भएर उत्तीर्णदर झण्डै ६२ प्रतिशत पुर्‍याइयो । शिक्षा सुधार भएर होइन, नभए बिदा हड्ताल चल्यो,विद्यार्थी पढ्न पाएनन्, कसरी एकै वर्षमा झण्डै १४ प्रतिशत उत्तीर्णदर बढ्यो ?  यो अचम्मकै कुराहोइन र ? "  प्रधानमन्त्रीले लोकप्रियताका लागि यस्तो गरेको उनको भनाइ छ ।

यद्यपि, अर्कोतर्फ प्रधानमन्त्रीलले अनलाइन कक्षाहरू सञ्चालन गरेर विद्यार्थीहरूलाई तयारी गराएको र त्यसैको परिणाम स्वरूप नतिजामा सुधार आएको दाबी पनि गरेका छन् । तर, प्रधानमन्त्रीले भनेको जस्तो कुनै बृहत् अनलाइन कक्षा सञ्चालन भएको र हजारौं विद्यार्थी जोडिएको कुरा प्रमाणित हुन सकेको छैन ।

यी सबै बहस र आरोप–प्रत्यारोपबीच एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ: के हरेक वर्ष एसईईको नतिजा एउटै आउनुपर्छ भन्ने अपेक्षा गर्नु तर्कसंगत छ ? 

विद्यार्थीको व्यक्तिगत भिन्नता र नतिजामा यसको प्रभाव

मेरो करिब तीन दशकको शिक्षण अनुभवले स्पष्ट पार्छ कि हरेक वर्ष एसईईमा सामेल हुने विद्यार्थीहरू फरक हुन्छन् । उनीहरूको पारिवारिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि, पूर्व सिकाइस्तर, सिकाइ क्षमता, र सिकाइ वातावरण समेत फरक फरक हुन्छ । यस्तो अवस्थामा हरेक वर्ष एउटै नतिजाको अपेक्षा गर्नु आफैँमा हास्यास्पद होइन र ?  फरक परिवेश र फरक विद्यार्थीहरूबाट एउटै नतिजाको अपेक्षा गर्नु विद्यार्थीहरूको व्यक्तिगत भिन्नतालाई नबुझेको वा बुझ्न नचाहेको संकेत हो ।

एउटै नतिजा आउनका लागि त समय, परिवेश, पृष्ठभूमि, वातावरण सबै कुरा एउटै हुनु आवश्यकपर्छ ।  यस्तो कुरा त कारखानामा एउटै मानकमा उत्पादन भएका वस्तुहरूबाट मात्र अपेक्षा गर्न सकिन्छ, मानव मस्तिष्क र सिकाइ प्रक्रियामा होइन । यसबाहेक, परीक्षा केन्द्रको वातावरण, उत्तरपुस्तिका परीक्षणमा संलग्न जनशक्ति र निर्देशनको भूमिका पनि नतिजामा थोरै भए पनि प्रभाव पार्छ ।

कक्षा १२ को नतिजा र एसईईको भिन्नता

कक्षा १२ को नतिजामा भने केही हदसम्म समान प्रवृत्तिको अपेक्षा गर्न सकिन्छ, तर त्यसमा पनि विद्यार्थीहरूले विद्यालय परिवर्तन गर्ने, सिकाइ वातावरण, अध्ययन गर्ने विषय, अध्यापन गर्ने शिक्षकहरू, परीक्षा केन्द्र र परीक्षकहरू फरक हुन जाँदा नतिजामा फेरबदल हुन्छ नै ।  तर, मेरो अनुभवले हरेक वर्षको एसईई नतिजा एउटै वा उत्कृष्ट आउनै पर्ने भन्ने कुरा गर्नु विद्यार्थी, उनीहरूको पृष्ठभूमि वा पाठ्यक्रमलाई नै नबुझेको भन्ने ठान्छु ।

नतिजा वृद्धिका कारण र भावी सम्भावना

यो पक्का हो कि जुन वर्ष विद्यार्थीहरूको सिकाइ स्तर र क्षमता राम्रो हुन्छ, त्यो वर्ष निश्चितरूपमा नतिजा राम्रो आउँछ । एक शिक्षक भएको हैसियतले यो कुरा हामी पहिले नै भन्न सक्छौं। मेरो विद्यालयको हकमा यस वर्ष नतिजा केही बढ्ने कुरा ग्यारेन्टी नै थियो किनकि यस वर्ष राम्रा विद्यार्थीहरू थिए ।

म भन्न सक्छु, विद्यार्थीहरूको आनीबानी, घरपरिवारको वातावरण, र विद्यालयको सिकाइ वातावरण बिग्रिएन भने आउने वर्षको पनि हाम्रो विद्यालयको एसईई नतिजा बढ्छ । केही प्रतिशत विद्यालयले दिने थप सिकाइ कार्यक्रमले पनि यसमा योगदान गर्छ, यसमा दुई मत छैन । तर, हरेक वर्ष नतिजा उत्कृष्ट आउनै पर्ने भन्ने कुरा मेरो अनुभवले मान्दैन र स्वीकार्दैन ।

निष्कर्ष र भावी मार्ग

अतः, एसईई नतिजा विश्लेषण गर्दा एकपक्षीय भेरिएबललाई मात्र आधार मानेर विश्लेषण गरेर हुँदैन । धेरै भेरिएबलको आधार लिनु पर्छ । जिम्मेवार व्यक्ति, शिक्षाविद्, शिक्षक, बुद्धिजीवी,अभिभावक लगायत सरोकारवाला निकायहरू सबैले जिम्मेवार भएर सोच्न, बुझ्न र विश्लेषण गर्नुपर्दछ । अनि मात्र आफ्नो विचार र तर्कको प्रयोग उचित र वैध हुन्छ । कुनै पनि शैक्षिक नतिजाको विश्लेषण गर्दा समग्र परिस्थितिलाई ध्यानमा राख्नु अपरिहार्य छ । केवल उत्तीर्ण प्रतिशतलाई मात्र आधार मानेर गरिने टिप्पणीले शैक्षिक यथार्थलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दैन ।