विश्वव्यापी महामारीको संक्रमण तिब्ररूपले बढीरहेको छ । विद्यालयमा विद्यार्थीहरूको नियमित पठनपाठन ठप्प छ । बालबालिका शिक्षा लिने अधिकारबाट बन्चित हुन पुगेका छन् । यस्तो अवस्थामा पठनपाठनलाई जारी राख्नको लागि दूर सिकाइ उपयुक्त विधि हुनसक्छ । विद्यालयमा भौतिकरुपले उपस्थित हुन नसकेका/नसक्ने विद्यार्थीका लागि online शिक्षाको माध्यमद्वारा प्रदान गरिने शिक्षा दूर शिक्षा हो । हुलाकबाट गरिने पत्राचार विधिद्वारा परम्परागतरुपमा सुरु भएको यो विधि हाल आएर online शिक्षाको रुपमा परिणत भएको छ । Internet प्रविधिले विद्युतीय सिकाइ, मुक्स (Moocs) जस्ता खुला शिक्षाका साधन स्रोतहरू मार्फत दुर शिक्षाका थुप्रै स्वरूपहरुलाई सहज बनाएको छ । इन्टरनेटको फैलावट सबै ठाउँमा एकै समयमा उपलब्ध हुन सक्ने स्थानमा तत्काल नै अन्तरक्रिया गरि प्रतिक्रिया प्राप्त गर्न सकिने हुनाले Synchronous tool बाट शिक्षण गराउन सकिन्छ भने इन्टरनेटको पहुँच जुनसुकै समयमा नहुने विद्यार्थीका लागि Asynchronous tool को प्रयोग गरि शिक्षकले विद्यार्थीका लागि Assignment बनाउने र पठाउने, विद्यार्थीले फुर्सदको बेला तथा नेटको पहुँच भएको बेला त्यसलाई समाधान गरि पठाउने गर्छन, अनि शिक्षकले त्यसको पृष्ठपोषण प्रदान गर्छन् । शिक्षणलाई प्रभावकारी बनाउनको लागि प्राय:जसो अवस्थामा यी दुवै tools लाई सँगसँगै प्रयोग गर्न सकिन्छ ।
विज्ञान विषय आफैमा सैद्धान्तिक ज्ञानको साथसाथै अनुभवजन्य सिकाइमा आधारित हुने विषय हो । यसलाई विज्ञान प्रयोगशालामा प्रयोग गरी, दोहोरो प्रतिक्रिया तथा पृष्ठपोषण प्रदान गरी शिक्षण गर्नुपर्ने हुन्छ । हाम्रा विद्यालयमा पर्याप्त प्रयोगशालाका सामग्रीको अभाव हुनसक्छ, शिक्षकमा सामग्रीको प्रयोग गर्ने दक्षतामा कमी हुनसक्छ । त्यस्तै कतिपय प्रयोगहरू विद्यालयभन्दा बाहिरको परिवेशमा लगेर संचालन गर्नुपर्ने हुन सक्छ तर त्यो सम्भव नहुन पनि सक्छ l यस्तो अवस्थामा पनि दूर सिकाइ उपयुक्त विकल्प बन्न सक्छ ।
दूर सिकाइमा प्रयोग हुने tools प्रशस्त भेटिन्छन् । यस लेखमा मैले दूर शिक्षण बिधिबाट विज्ञान शिक्षण गर्दा प्रयोग हुनसक्ने केही प्रख्यात tools हरू र तिनको प्रयोग गर्ने विधिको बारेमा लेख्ने जमर्को गरेकी छु ।
Zoom Video Conferencing: यो दूर सिकाइको एक synchronous tool हो । सजिलै इन्टरनेटको सुविधा भएको ठाउँमा आफ्नो मोबाइल वा ल्यापटपमा जुम App इन्स्टल गरेर आइ.डी. बनाउन सकिन्छ अनि विद्यार्थीलाई मिटिंग आइ.डी. र पासवर्ड दिएर या प्रत्यक्ष लिंकबाट आमन्त्रण गर्न सकिन्छ । यस App बाट भिडियो कन्फरेन्स, वेव कन्फरेन्स, वेविनार्स, स्क्रिन शेयरिंगबाट आफ्ना अनुभव साटासाट गर्न सकिन्छ । सम्बन्धित विषयवस्तुमा प्रत्यक्ष अन्तरक्रिया गर्न सकिने, स्क्रिन शेयरिंगको माध्यमबाट विषयवस्तुको ज्ञान दिन सकिने, भिडियोहरू शेयर गर्न सकिने, विषयवस्तुको प्रस्तुतीकरण समेत गर्न सकिने तथा एउटा कक्षाका सम्पूर्ण विद्यार्थीहरूलाई एकैपटकमा संलग्न गराउन सकिने भएकोले इन्टरनेटको सुबिधा भएको ठाउँमा यो अत्यन्तै प्रभावकारी छ ।
Padlet(http://padlet.com/) मा क्लिक गरी सर्वप्रथम शिक्षकको रूपमा लगइन गर्ने, Make गर्ने, Dashboard बन्छ ,त्यसमा भएको + मा क्लिक गर्दै फोटो, Google Classroom, Easy Classroom, Blog, आफ्नो व्यक्तिगत युट्युबका लिंकहरू, विषयवस्तुसँग सम्बन्धित भिडियो, क्वीज आदि पोष्ट गर्ने र विद्यार्थीहरूलाई लिंक दिएर invite गर्ने, आफुले दिएका प्रश्नपत्रहरू हल गर्दै, आफ्ना भनाइ राख्दै विद्यार्थीहरूले त्यही बोर्डमा पोष्ट गर्दै जान्छन् । शिक्षकले पृष्ठपोषण दिदैं जाने उनीहरूलाई संलग्न गराउँदै लैजाने र अन्त्यमा आकर्षक सूचनापाटी सहितको अति उपयोगी बोर्ड तयार हुन्छ जसबाट सम्बन्धित पाठका विषयवस्तु पूरै प्राप्त गर्न सकिन्छ ।
Khan Academy: यसलाई शिक्षकको रूपमा लग इन गरी Create मा गएर My Courses मा क्लिक गरी विज्ञान विषय चयन गर्ने , पाठ छनौट गर्ने ,पाठभित्रका उपशीर्षक छनौट गर्ने र भिडियोमा जाने अनि भिडियोलाई आफ्नो Google Classroom, Easy Classrooms, Padlet को टाइमलाइन या विद्यार्थीहरूको Padlet, Gmail, Zoom आदिमा शेयर गर्न सकिन्छ । अन्तरक्रियात्मक भिडियोको अवलोकनबाट विद्यार्थीहरूले सम्बन्धित पाठको ज्ञान लिन सक्छन् । यसमा शिक्षकले आफ्नो व्यक्तिगत कक्षा पनि Create गरी विषय, पाठ चयन गरी Dashboard निर्माण गर्ने र विद्यार्थीहरुलाई लिंक दिएर invite गर्ने अनि दोहोरो अन्तरक्रिया गर्ने साथै प्रत्यक्ष छलफलको लागि अन्तिममा भिडियो कन्फेरेन्सलाई लिन सकिन्छ । बिना शुल्क उपलब्ध हुने यो साधन गणित, अंग्रेजी तथा प्रविधिको लागि पनि उत्तिकै प्रभावकारी छ ।
SchooloGy(www.schology.com) : यो एक प्रकारको Learning Management System हो । यसमा प्रत्येक जिल्लाले आफ्नो जिल्लाको रूपमा आइ.डी.लग इन गरी जिल्लाको लागि आवश्यक पर्ने विज्ञानका विषयवस्तु create गर्न तथा संचार गर्न सक्छन् । यसमा जिल्लाका प्रत्येक विद्यार्थी तथा अभिभावकसमेत संलग्न हुन सक्छन् । यसबाट शिक्षकले आफ्ना जिल्लामा भएका गतिविधि अध्ययन गर्न सक्छन् । शिक्षकहरूले आफ्ना विद्यार्थीहरूका व्यक्तिगत आवश्यकता पहिचान गरी सिकाइ अनुभव तयार गर्न सक्छन् । यो पूर्णतया नि:शुल्क छ, यसमा शिक्षकले विद्यार्थीहरुलाई Assignments दिने प्रश्नहरू निर्माण गर्ने, विभिन्न किसिमका क्वीज (Matching, True-False, Multiple Choice) निर्माण गर्ने, पाठ्यसामग्रीहरू, भिडियोहरू निर्माण गरी लिंक वा कोर्स कोड उपलब्ध गराउने र विद्यार्थीहरूले ती सामग्रीहरु अध्ययन गर्ने गर्छन् र अन्त्यमा दोहोरो प्रतिक्रियाको लागि जूम कन्फरेंसिंग गर्न सकिन्छ । यसमा भाग लिनको लागि प्रत्येक विद्यार्थी ,अभिभावकले आ-आफ्नो आइ. डी.लग इन गर्नुपर्ने हुन्छ ।
ProProps: (http://proprops.com/) : दिइएको लिंकबाट आइ. डी.लग इन गरी यो tool प्राप्त गर्न सकिन्छ । यो पनि एक Learning Management System अन्तर्गतको Tool नै हो । यसको सबभन्दा राम्रो पक्ष भनेको विद्यार्थीहरूलाई Assignment दिइ सकेपछि उनीहरुले हल गर्छन् र अन्तिममा प्रमाण पत्र समेत प्राप्त गर्छन् अरु प्रक्रिया यसमा पनि अन्य Learning Management system मा जस्तै हुन्छ ।
अन्य Learning Management System का tools हरूमा Easy Classroom, Google Classroom ,Virtual classroom, Docs आदि पनि पर्छन् । Play store बाट यी tools हरू इन्स्टल गरेर विषयवस्तुसँग सम्बन्धित सामग्रीहरू निर्माण गर्ने, Nced Virtual क्लासबाट भिडियोहरू डाउनलोड गरेर राख्ने ,अन्य सिकाइ सामग्री तयार गर्ने, पाठ्यक्रम विकास केन्द्रबाट राखिएका सामग्रीहरू राख्ने, मिदास इ क्लासका सामग्री, साझा शिक्षा ई- पार्टीको नि:शुल्क र खुला डिजिटल पुस्तकालय (ई–पुस्तकालय)मा भएका पुस्तक, अडियो, भिडियो, विषयगत कक्षाहरू, स्वाध्यायन सामग्रीहरू, SEE प्रश्नपत्रहरू तथा उत्तरकुन्जिकाहरू समेत अपलोड गरेर राख्ने, त्यस्तै सिक्ने थलो mobile application ले तयार गरेका विषयवस्तुसँग सम्बन्धित प्रत्येक पाठका Question Bank, SEE support note, books तथा अन्य नोटहरू अपलोड गरेर राख्ने अनि विद्यार्थीहरूलाई प्रत्यक्ष लिंक या कोर्स कोड उपलब्ध गराएर उक्त कक्षाहरूमा जोड्न सकिन्छ । अन्त्यमा प्रत्यक्ष अन्तरक्रियाको लागि भिडियो कन्फरेन्सको लागि Zoom मा जोडिन सकिन्छ ।
Mystery Science(http://mysteryscience.com/) यो tool विशेषगरी आधारभूत तहका विद्यार्थीहरूलाई छोटा भिडियो र छलफलका प्रश्नहरूका माध्यमद्वारा प्रयोगात्मक सिप दिन तथा खोज गर्ने बानीको विकास गराउनको लागि निर्माण गरिएको छ । यसमा शिक्षकले आफ्नो आइ.डी. बनाएर विद्यार्थीहरूलाई जोड्ने ( प्रत्यक्ष लिंक दिई क्लिक गर्न लगाउने वा लग इन गर्न लगाउने) विद्यार्थीहरूले सबै क्रियाकलापहरूमा भाग लिई सकेपछि अन्तिममा प्रत्यक्ष अन्तरक्रिया गर्नको लागि जूम भिडियो कन्फरेन्समा जोड्न सकिन्छ ।
Simulation tools (PhET Simulation) : यो tool विज्ञानमा प्रयोगात्मक कार्य गर्नको लागि अति उपयोगी छ । शैक्षिक सामग्री निर्माण गर्न समय कम भएको अवस्थामा, विद्यालयमा प्रयोगशाला नभएको अवस्थामा र बिद्यालय भन्दा बाहिरको परिवेशमा लगेर शिक्षण गर्नुपर्ने अवस्थामा समेत यो tool को माध्यमबाट कृतिम भर्चुअल ल्याब तयार गरि शिक्षण गर्न सकिन्छ । जस्तै: इकोसिस्टम शिक्षण गर्दा प्रत्यक्ष ल्याबबाट सिकाउन गाह्रो हुन्छ तर यस tool को माध्यमबाट भर्चुअल ल्याब तयार गरि विभिन्न तत्वहरूको एक आपसमा अन्तरसम्बन्ध कायम गरि सजिलैसँग अध्यापन गर्न सकिन्छ । यसको लागि PhET Simulation मा क्लिक गरि सिमुलेशनमा गएर आफुलाई चाहिने तह, कक्षा, विषय तथा शीर्षक क्लिक गरि भिडियो हेर्न लगाउने, त्यस्तै Teaching मा क्लिक गर्ने आफ्ना क्रियाकलापहरू राख्न तथा शेयर गर्न शिक्षकको तर्फबाट रजिस्टर गरि विद्यालयको सम्पूर्ण सूचना (Information) राखी पुनः रजिस्टर गर्ने र आफ्नो कक्षा तयार गर्दै, विद्यार्थीहरूलाई देखाउँदै जाने गर्नुपर्छ । विद्यार्थीहरूले प्रत्यक्ष मोबाइल वा ल्यापटपबाट उक्त कक्षा अवलोकन गर्दै सिक्न सक्छन् । यो साधन अन्य विषयका लागि पनि त्यत्तिकै उपयोगी छ l
त्यसैगरी Coursera, Nearpod, PBS (मिडिया,ग्यालरी,भिडियो र पाठयोजनाको लागि), Edulastic (सम्बन्धित पाठका अभ्यास प्रश्नहरू तयार गरी विद्यार्थीहरूलाई पठाउनको लागि ), Hangouts meet, Microsoft Team (वेब कन्फरेंसिंगको लागि ) Socrative (सही समयमा क्वीज निर्माण गर्न तथा क्वीजको प्रगति विवरण दिन ), PearDeck (कक्षाका सम्पूर्ण विद्यार्थीहरूलाई एकै समयमा उपस्थित गराइ आफ्नो कम्प्युटरबाट प्रस्तुति गर्न, यसमा शिक्षकले तयार गरेका प्रश्नपत्रलाई विद्यार्थीले विभिन्न tool को माध्यमबाट समाधान गर्न सक्छन्) । त्यस्तैगरी शिक्षकले विद्यार्थीहरूको सामान्य समस्याहरूको समाधान मोबाइल या म्यासेन्जर(सामाजिक सञ्जाल)को प्रयोगबाट पनि हल गर्न सक्छन् ।
वास्तवमा शिक्षण सिकाइका यी विभिन्न साधनहरूलाई प्रयोग गरेर दूर सिकाइ गर्न सकिन्छ । शिक्षण गर्ने क्रममा synchronous या asynchronous जुनसुकै tool को प्रयोग गरे तापनि अन्तमा सिकाइको प्रभावकारिता तथा सिकेका कुराहरूको मूल्यांकन गर्नको लागि प्रत्यक्ष छलफल, अन्तरक्रिया या पृष्ठपोषण कार्यक्रम जूम भिडियो कन्फरेन्सबाट गर्दा प्रभावकारी हुन्छ । प्राय: जसो यी दूर सिकाइका साधनहरूको प्रयोग विज्ञान बाहेक अन्य विषयमा पनि गर्न सकिन्छ l
हुन त कक्षाकोठालाई पूर्णतया अनलाइन सञ्चालन गर्नमा तनाव हुनुका साथै पाठ्यक्रमको लागि आवश्यक सामग्रीको जोहो गर्न पनि चुनौतिपूर्ण हुन्छ तर पनि विज्ञान तथा प्रविधिले ल्याएका चुनौतीहरूको सामना गर्न तथा आफुलाई विश्व परिवेशमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार गर्नको लागि पनि दूर सिकाइ एक उपयुक्त माध्यम हो । आज दूर शिक्षाका विभिन्न साधनहरूले गर्दा संसारभरका शिक्षण शैली,अभ्यास तथा सीप हामीले पनि प्राप्त गरिरहेका छौं तर बिडम्बना हाम्रा प्राय: विद्यार्थीहरू प्रविधिको पहुँचमा छैनन् । देशका अधिकांश भागमा इन्टरनेटको सुविधा पुग्न सकेको छैन । यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने देखिन्छ ।
(लेखिका सरस्वती माध्यमिक विद्यालय,धनगढी, कैलालीका शिक्षक हुन्)