लकडाउनमा एक शिक्षकको डायरी

२०७७ साल वैशाख १२, शुक्रबार 

बन्दाबन्दीले गर्दा विद्यालय बन्द भएकाले विहान भान्सामा जान त्यति हतार गरिरहनुपरेको छैन । हरेक दिन जस्तै विहानको घरको काम सके । बालबालिकाको पहिलो शिक्षक आमा हुन् । सन्तानलाई सुमार्गमा लगाउने पहिलो दायित्व आमाको नै हुन्छ। बच्चाहरू प्रायः मोबाइल वा कम्प्युटरमा अनावश्यक गेम खेलेर समय बिताउने गर्छन् । त्यसकारण त्यो समय बच्चाहरूलाई उनीहरूकै मन परेको पुस्तक या अन्य कबिता आफैं डाउनलोड गर्न सिकाई समयको सदुपयोग गराउने तथा पढ्ने बानीको विकास गराउने जमर्को गरें ।

बच्चाहरू स्वभाबैले  कथा/कविता पढ्न पाउँदा खुशी हुन्छन् । कथाले बालबालिकाको बौद्धिक विकासमा टेवा पुर्याउँछ । मष्तिष्कको विकास तिब्र गतिमा हुन्छ, ध्यान केन्द्रित गर्ने क्षमताको विकास हुन्छ, वरपरको संसार चिन्ने क्षमताको विकास हुन्छ, शब्दभण्डार बृद्दि हुन्छ, कल्पनाशक्ति तथा अनुभूति सिपको विकास हुन्छ । त्यसकारण मैले डिजिटल पुस्तकालय (इ-पुस्तकालय)मा भएका कथाहरू खोज्न लगाई आफु पनि पढ्ने र पढ्न लगाउने गर्न थालें । जसले गर्दा उनीहरू अन्य विषयबस्तुसँग सम्बन्धित पुस्तकहरू समेत खोजी गरी पढ्न सक्षम भएको महसुस गरें र यसको बारेमा छिमेकमा रहेका अभिभावकलाई समेत शेयर गरें । आफू सिक्दै र बच्चाहरुलाई सिकाउँदैमा दिन बितेको पत्तो पनि भएन ।

२०७७ साल वैशाख १३, शनिबार 

विहानको जिम्मेवारी साविक जस्तै हो । म एक विज्ञान शिक्षक हुँ । विज्ञान शिक्षक समाज, नेपालसंग मेरो आवद्दता छ । समाजले विज्ञानसँग सम्बन्धित विभिन्न सामग्री निर्माण, खोज तथा अनुसन्धान  गर्नेगर्छ । उक्त समाज अहिले कोरोना महामारीको समयमा महामारीसँग सामना गरी आफु र समुदायलाई सुरक्षित राख्नको लागि विभिन्न जनचेतनामूलक सामग्रीहरूको माध्यमबाट जनचेतना जगाउने कार्यमा अग्रसर भएर लागेको छ ।

त्यसकारण म पनि एक जिम्मेवार शिक्षक भएको नाताले यस महामारी सम्बन्धि सन्देशमूलक  सामग्री (भिडियो) तयार गरें र सबैलाई शेयर गरी लक्षित वर्गसम्म पुर्याउने कार्यमा लागेँ । यो कार्यबाट मलाई समाज र समुदायप्रतिको जिम्मेवारी बहन गरेको अनुभूति भयो ।

२०७७ वैशाख १४, आइतवार 

संसारका उच्च युनिभर्सिटीहरूबाट अनलाइन कोर्ष गरी विभिन्न पेशागत प्रमाणपत्रहरू प्राप्त गर्नको लागि Massive Open Online Courses (MOOCs) प्रख्यात छ यस्ता कोर्षहरूमा Coursera, eDX, FutureLearn, OpenWho जस्ता उच्च युनिभर्सिटीहरूबाट दिइने कोर्षहरू पर्दछन् । आजको दिन मैंले पूर्णरूपमा आफ्नो रुची ,पेशा र बिषय अनुसारको अनलाइन कोर्ष छनौट गर्ने, छोटो अवधिका कोर्षहरू गरी प्रमाणपत्र प्राप्त गर्ने र लामो अवधिका कोर्षहरू गर्न सुरू गर्ने निधो गरें । जसअनुसार WHO बाट COVID-19 को Infection,Prevention and Control, MRBU बाट Let’s break the chain of COVID-19 Infection, WHO को Health Emergencies Program अन्तर्गत COVID-19 Partners Platform to support country preparedness and response कोर्ष अध्ययन गरि प्रमाणपत्र प्राप्त गर्ने काम गरें र आजैबाट Coursera र FutureLearn मा अन्य लामा अवधिका कोर्षमा आफुलाई जोडेर आफ्ना बच्चाहरूलाई Scholastic अनलाइन कोर्षमा संलग्न गराएँ ।

२०७७ वैशाख १५, सोमबार

आजको दिन अलि फरक किसिमले बिताउने सोच गरें । जसअन्तर्गत बच्चाहरू तथा विद्यार्थीहरूले घरमै बसेर अध्ययन गर्नको लागि नेपाल सरकारले तयार गरेका सिकाइका विभिन्न मञ्चहरूको खोजी गर्ने काम गरें । जसमा OLE Nepal, Deerwalk Learning Centre mobile, MiDAs Eclass, Kullabs, सिक्ने थलो डट कम, साझा शिक्षा ई पाटीको ई–पुस्तकालय, ईपाठ, Praadis Edu, Global Digital Library आदिको खोजी गरी बच्चाहरूलाई अध्ययन गर्नको लागि उत्प्रेरणा दिने तथा खोज गर्न लगाउने साथै आफुलाई आबश्यक पर्ने सामग्रीहरूको छनौट गर्न लगाएँ र यो कुरा सम्पर्कमा रहेका विद्यार्थी भाईबहिनीहरूलाई समेत शेयर गरें ।

२०७७ वैशाख १६, मंगलबार

आजको दिन मैले आफुलाई खोजी कार्यमा ब्यस्त गराएँ । आधारभूत तथा माध्यमिक तहको विज्ञानको अनलाइन शिक्षणका लागि अति महत्वपूर्ण वेवसाइटहरूको खोजी गरें । जसमा HHMI Biointeractive, Biology Junction, Biology Corner, NOVA labs, ChemCollective, Bozeman Science, American Association of Chemistry Teachers, Middle School Chemistry, Chemdemos, ChemMatters, Online Exploring Earth Investigations, The Environmental Literacy Council, The Physics Classroom, Physics for the 21st Century जस्ता वेवसाइटहरू प्रमुख छन् । यी वेवसाइटहरूमा शिक्षण सामग्रीदेखि लिएर प्रयोगात्मकका विभिन्न क्रियाकलापहरू समेटिएका छन्  ।

२०७७ वैशाख १७, बुधबार    

आज मैंले आफ्ना विद्यार्थीहरुसँग आफू पनि सम्पर्क गर्ने तथा आफ्ना बच्चाहरूलाई उनीहरूको शिक्षकसँग सम्पर्क गराउने विचार गरें । महामारीको बारेमा सुनिएका धेरै थरीका भ्रमहरूले गर्दा पनि बच्चाहरू अत्तालिएका हुन्छन् । इन्टरनेट वा टिभीबाट देखिएका समाचारहरू उनीहरूका लागि बुझ्न कठिन हुनसक्छ ।

त्यसकारण उनीहरू हतास हुने, उदासी हुने गर्दछन् । जिज्ञासु बालबालिकाका लागि कुनै विषयगत प्रश्नहरू पनि हुन सक्छ । फेरी बच्चाहरू स्वभावैले आफ्ना बाबुआमाभन्दा शिक्षकहरूलाई बढी बिश्वास गर्ने हुन्छन् । त्यसकारण लकडाउनको समयमा उनीहरूसँग खुला छलफल गरी सत्यतथ्य बताउने तथा जिज्ञासा मेटाउने काम शिक्षकले गर्ने हुँदा मैले आफु र आफ्ना बच्चाहरूलाई आज यही कार्यमा व्यस्त राखें । यसले मन पनि प्रशन्न बनाउने काम पनि गर्यो ।

२०७७ वैशाख १८, बिहिबार

आज एसर्इर्इ दिने विद्यार्थीहरूलाई प्रत्यक्ष अनलाइन कक्षामा जोड्ने प्रयास गरें । सबैसँग इन्टरनेटको सुबिधा नभएकोले उनीहरूको सहभागिता कम थियो । (सबै स्थानमा श्रोत, साधन तथा इन्टरनेटको पहुँच भए त यो कक्षा वास्तविक कक्षाभन्दा प्रभावकारी हुन्छ किनकि शिक्षणको लागि आवश्यक विषयगत प्रयोगात्मक सामग्रीहरू बिभिन्न वेबसाइटमा प्रशस्त भेट्न सकिन्छ ।) परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई आफ्नो तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्नुपर्छ भन्ने सोच राखी गुगल फर्मको माध्यमबाट विभिन्न क्वीज तथा छोटा प्रश्नहरू पठाउने काम त पहिलेदेखि नै सुरू गरिसकेकी थिएँ । त्यस्तै आज आफ्ना गुगल कक्षा, इजी कक्षा तथा अन्य सिकाइ व्यवस्थापन प्रणालीहरूको निर्माण गरी ती कक्षाहरूमा अनलाइन कक्षाको लागि विभिन्न सामग्रीहरू तयार तथा छनौट गरी राख्ने काम गरें ।

आज हामी कोरोना भाइरस संक्रमणको एउटा नयाँ चुनौतिको सामना गर्दैछौं । यो हामी सबैलाई एकतावद्द बनाउने, सहयोगका ससाना गतिबिधि आदानप्रदान गर्ने र मानिसहरूले एक अर्कालाई कसरी सहयोग गरिरहेका छन् भन्ने कथा र समाचार बाँड्ने समय पनि हो । प्रकोप सधैं रहँदैन भन्ने तथ्यलाई मनन गर्दै उक्त समयमा सिकाइलाई निरन्तरता दिनुपर्दछ किनकि उक्त समयमा गरिएको सिकाइले जीवनभरको आचरण निर्माण तथा पेशागत बिकासका लागि ठुलो भूमिका खेल्नसक्छ । यो कुरा हामीले कदापी भुल्नुहुँदैन ।

यस अवधिमा सक्ने सिकाउने काममा व्यस्त रहन सकियो भने धेरै नयाँ कुरा जान्ने अवसर पाइन्छ । यसको सदुपयोग पूरापूर गरिरहेकी छु । अब भोलि के गर्ने होला भनेर आजैदेखि सोचिरहेकी छु ।

दैनिकी लेखन गरेकी दवाडी कैलालीको धनगढीस्थित सरस्वती माविमा अध्यापन गर्छिन् ।