After SEE Portal

काठमाडौंका सामुदायिक विद्यालयमा विद्यार्थी भरिभराउ हुने संकेत

Bridge Course

काठमाडौं महानगरपालिका बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालयमा थप २५० जना विद्यार्थी भर्ना गर्न सकिने अवस्था छ । भर्ना अभियान पुरा नहुँदै नयाँ ८०० विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् । ‘यो बर्ष २५० जना भर्ना गर्ने क्षमता छ, ८ सय जना विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् ।’ विद्यालयका प्रधानाध्यापक मञ्जु मग्राती भन्छिन्, ‘गएको शैक्षिक सत्रमा विद्यालयमा २ हजार ४४८ विद्यार्थी थिए, यीमध्ये १६० जनाले एसईई परीक्षा दिएका छन्, भर्ना लिदा पहिले आउनेलाई प्राथमिकता दिइएको छ ।’

कोटेश्वर सरस्वती माध्यमिक विद्यालयको क्षमता एक हजार विद्यार्थी मात्र पढाउन सक्ने छ तर शुक्रबार ११ बजेसम्ममा नयाँ विद्यार्थी नै ५ सय भन्दा बढीले भर्नाका लागि आवेदन दिएको विद्यालयका प्रधानाध्यापक पुष्पराज कुँवरले बताए । उनका अनुसार नयाँ आउनेको क्रम पनि जारी छ ।

शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा भर्ना अभियान सुरु गरे यता दैनिक करिब दुई सय जनाले भर्नाका लागि आवेदन दिएका छन् । विद्यालयका कतिपय कक्षाको क्षमता सकिएको छ । नियमित विद्यार्थीहरु कायमै रहने हुनाले विद्यालयले एक बर्षमा १ सय जनादेखि १५० जनासम्म नयाँ विद्यार्थी भर्ना लिने गरेको छ ।

त्यसैगरी गीतामाता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठका अनुसार विद्यालयले यो बर्ष चार सय नयाँ विद्यार्थी भर्ना लिने थियो । भर्नाको समयमा यो संख्या बढ्ने लक्षण देखिएको छ ।

दरबार हाइस्कुलमा पढ्न चाहने सबैलाई पढाउन नसकिने वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी बताउँछन् । ‘दरबार हाइ स्कूलमा भर्नाका लागि आवेदन दिने सबै विद्यार्थीलाई भर्ना दिन कठिन छ ।’

ज्ञानोदय माध्यमिक विद्यालयले भर्नाका लागि १ हजार ८५० वटा फाराम वितरण गरेको थियो । नयाँ भर्ना सम्बन्धी जानकारी दिँदै प्रधानाध्यापक विष्णु घिमिरे रिमाल भन्छिन्, ‘हामी ५५० जना नयाँ भर्ना लिन सक्छौँ । अहिले अभिभावकहरु आएर भर्ना जसरी पनि गरिदिनुपर्छ भन्नुहुन्छ । थेग्न मुस्किल भएको छ ।’

त्यसैगरी त्रिपुरेश्वरको विश्व निकेतन माध्यमिक विद्यालयमा २ हजार वढीले भर्नाका लागि आवेदन दिइसकेको विद्यालयले जानकारी दियो । यो विद्यालय पनि ४०० मात्र नयाँ विद्यार्थी भर्ना लिन सक्ने अवस्थामा छ । अघिल्लो वर्ष यो विद्यालयको विद्यार्थी संख्या ४ हजार ३ सय जना थियो ।

शिवपुरी माध्यमिक विद्यालय , पशुपति मित्र माध्यमिक विद्यालय,दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय), रत्नराज्य माध्यमिक विद्यालय , विश्व निकेतन माध्यमिक विद्यालय , ज्ञानोदय माध्यमिक विद्यालय, गीतामाता माध्यमिक विद्यालय , कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको चाप अत्याधिक बढी रहेको महानगर शिक्षा विभागले जानकारी दियो ।

यी बाहेक अन्य विद्यालयमा समेत विद्यार्थी क्षमताभन्दा बढी भर्नाका लागि आएको विभागले जानकारी दियो । विभागका अनुसार केही विद्यालयमा भने विद्यार्थी भर्ना हुन आउनेको संख्या न्यून छ ।

जनप्रतिनिधिहरु आज पनि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकसगै घरदैलो कार्यक्रममा रहेको विभागले जानकारी दियो । अभियानमा अभिभावकलाई आफ्ना छोराछोरी नजिकको सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह गर्दै घर घरमा पुगिरहेका छन् ।

महानगरपालिका भित्रका सामुदायिक विद्यालय संस्थागत विद्यालयका प्रतिस्पर्धी होइनन् । यी त पूर्वाधार, साधन, स्रोत र उपकरणजस्ता भौतिक उपलब्धता, शिक्षण सिकाइका लागि शिक्षक तालिमले गुणस्तरीय शैक्षिक क्रियाकलापमा अगाडि छन् । विद्यालयमा अहिले शिक्षा दिने मात्र होइन, सिप पनि सिकाइन्छ । प्रारम्भिक बाल विकासका कक्षाले बालमैत्री वातावरण तयार भएको छ । एकीकृत सिकाइ र शिक्षामा सिप कार्यक्रमले विद्यार्थीहरुको सिकाइको दायरा फराकिलो भएको वडा नं. १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले बताए ।

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिने विभागले जानकारी दियो । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत विद्यालय छ । रात्री र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ ।

गएको शैक्षिक सत्रमा यी विद्यालयहरुमा करिब ४० हजार विद्यार्थीले अध्ययन गरेका थिए । यो बर्ष प्रारम्भिक बाल विकास कक्षाहरुमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिने पूर्वाधार तथा जनशक्ति व्यवस्थापन भएको शिक्षा विभागले जानकारी दियो ।

सामुदायिक विद्यालयहरुमा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एकीकृत सिकाइ गराउन थालिएको छ । कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुन्छन् । कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित चलिरहेका छ ।

कक्षा कोठाहरुमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप सुरु गरिएको हुनाले विद्यार्थी संख्या अझ बढ्न सक्ने विभागको दाबी छ ।

A Levels MA