After SEE Portal

क्यानभासमा उतारिए अल्लारे मनका परिपक्व चित्र

Bridge Course

‘कतै मातृवासल्य प्रेम, कतै यौवन छचल्किने प्रेमका अमर गाथाले भरिएका छन् सबै चित्र ।’ चित्रै अवलोकन गर्दै संस्कृतिविद्  सत्यमोहन जोशीले भने, ‘क्यानभासमा कोरिएका अल्लारे हातले परिपक्क चित्र कोरेछन्, सबै चित्र कुनै स्थापित कलाकारका भाव प्रदान चित्रभन्दा कम छैनन्, सबै परिपक्क अर्थप्रदान, संस्कृति प्रदान ।’ उनले थपे, ‘बालबालिकाका सबै चित्रले वर्तमान नेपालको संस्कृृतिको व्याख्या गरेको छ ।’

ब्लु बर्ड कलेजले पाटन संग्रहालमा आजदेखि आयोजना गरेको तीन दिने प्रिस्टिन व्युटी कला प्रदर्शनी, २०२० को उद्घाटनगर्दै संस्कृतिविद् जोशीले भने,‘नेपालको शैक्षिक संस्थाहरुले बालबालिकाको बहुप्रतिभालाई पहिचान गरी सही शिक्षा दिएमा लियोनार्दा दा भिन्ची जस्तै प्रतिभाशाली कलाकार जन्माउने प्रशस्त संभावना छ ।’  उनले थपे, ‘सबैसंग बहुप्रतिभा छ । त्यसलाई हुर्कने र हुर्काउने वातावरण तयार गर्नु हामी सबैको जिम्मेवारी हो ।’

सो प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र नेपालीलाई आत्मनिर्भर बनाउन संगीत शिक्षा तथा कला शिक्षाको आवश्यकता रहेकोमा जोड दिए । ‘पुरानो संस्कृतिको जगमा टेकेर नयाँ तथा परिस्कृत संस्कृति निर्माणमा कला शिक्षाको आवश्यकता रहेको छ ।’

सो कलेजको मानविकी समूहको आर्ट एण्ड कल्चर विभागका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले कोरेका ३२ वटाचित्रले संग्रहालयको भित्ता सजिएका छन् ।  प्रदर्शनीमा राखिएका केही चित्र बिक्री भएको कलेजका प्रिन्सिपल तथा कार्यकारी अधिकृत वीरसिंह क्षेत्रीले जानकारी दिए । प्रदर्शनीमा ४५०० सय देखि १५०० हजार सम्मका चित्र राखिएको छ ।​​​​

प्रविधिले तीव्र गतिमा फड्को मारिरहेको समयमा सो कलेजका विद्यार्थी भने विहान ६ बजेदेखि मध्यान्न सम्म कलेज कम्पाउण्डमा कागज र रङसंग खेलिरहेका हुन्छन् । उनीहरुको कडा मेहनत र परिश्रमलाई सम्मान गर्दै केही चित्र कलेज परिवारका सदस्यले नै खरिद गर्ने भएका छन् । ‘बालबालिकाको  नवोदित प्रतिभालाई प्रोत्साहन पुर्‍याउने उद्देश्यले केही चित्र हामी आफैं पनि किन्छौं, केही आगुन्तुकले किन्ने अपेक्षा गरेका छौं ।’ प्रिन्सिपल क्षेत्रीले भने, ‘तीन दिन सम्म चल्ने प्रदर्शनीमा २ हजार अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा गरेका छौं ।’

नेपालका धेरै जीपीए ल्याउने विद्यार्थीले विज्ञान, व्यवस्थापन पछि मात्र मानविकी तथा शिक्षा समूह रोज्ने गरेका छन् । तर सो कलेजमा राम्रो जीपीए ल्याउने विद्यार्थीले पनि मानविकी विभिन्न समूहमा अध्ययन गरिरहेका छन् । ‘मानविकी कमजोर विद्यार्थीले पढ्न विषय हो भनेर हामी सबैले बुझ्न थालेका छौं तर आर्ट एण्ड कल्चर पढ्न ३.६५ भन्दा माथि जीपीए भएका विद्यार्थी आएका छन् ।’ आर्ट एण्ड कल्चर विभाग प्रमुख सरोज देवकोटाले भने, ‘विद्यार्थी थोरै छन् तर भोकै र तीर्खै विहानदेखि आधा दिनसम्म चित्र कोरिरहन्छन् ।’

चित्र कोर्ने मानसिकता तयार गरेका बालबालिकालाई समयको प्रवाह नहुने तर अभिभावकले यसको मर्म नबुझेको गुनासो चित्रकार तथा प्राध्यापक अजय देसारले गरे । ‘तपाईँका छोराछोरीले घरमा लगेर चित्र कोर्न सोचे जस्तो सक्दैनन् ।’ प्राध्यापक देसारले भने, ‘१२ कक्षा पास गरेका हाम्रा बालबालिका आत्मनिर्भर बनी सकेका हुन्छन् त्यसैले आफ्ना छोराछोरीलाई विश्वास गर्नुस् ।’

कला भनेको के हो नचिनेकी आफूले कलालाई नै जीउने आधार बनाएको विद्यार्थी रुबी श्रेष्ठले बताइन् । उक्त कार्यक्रममा संस्कृतिविद् जोशीलाई कलेजले सम्मान गरेको थियो । सो कार्यक्रमको उद्घाटन संस्कृतिविद् जोशीले क्यानभासमा चित्र सहित हस्ताक्षर गरेर गरेका थिए ।

सो कार्यक्रममा बालबालिकाले विभिन्न खालका सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

A Levels MA
Thuprai - Books and E-books