नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको उद्घाटन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो रुपमा रहेकाले त्यसलाई राख्नुपर्ने बताउनुभयो । 

    विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपाल फर्काउन इक्यानले भूमिका खेल्नुपर्नेसमेत उहाँको भनाइ रहेको थियो । “विदेशमा भएर अध्ययन गर्नु राम्रो हो । तिनीहरुले विश्वमा भएको विकासको बारेमा सिक्न पाउँछन्”, उहाँले भन्नुभयो, “त्यहाँ अध्ययन गरेसकेपछि ती विद्यार्थीलाई नेपालमा फर्काउन सके मुलुकको समृद्धिमा सहयोग पुग्ने छ ।”

    उहाँले १९८० को दशकमा विश्वमा रहेका चिनियाँ नागरिक आफ्नो मुलुक फर्केको उल्लेख गर्दै नेपालले पनि त्यसैगरी विश्वमा रहेका बौद्धिक व्यक्तिलाई फर्काउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वमा नेपालको पर्यटन बजारलाई उपस्थित गराउन नेपाल भ्रमण वर्ष–२०२० शुरुआत गरिएको भन्दै इक्यानले पनि आफ्नो पहलबाट नेपालमा पर्यटक ल्याउन सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

    “यहाँबाट लाखाँै विद्यार्थी अध्ययनका लागि बाहिर गएका छन् । ती विद्यार्थीले आफ्नो कजेलमा नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएर भ्रमण वर्षमा त्यहाँका कलेजबाट पनि पर्यटक ल्याउनु पर्दछ”, उहाँले भन्नुभयो । उहाँले भ्रमण वर्ष शुरुसँगै भौतिक पूर्वाधारका काम पनि सँगै हुने बताउनुभयो । हिजोभन्दा राम्रो सेवा हाम्रो विमानस्थलले दिन थालेको भन्दै उहाँले नयाँ बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले विश्वका राम्रा विमानस्थलले दिने सेवा दिने धारणा राख्नुभयो ।  

    कार्यक्रममा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले विदेश अध्ययन गर्न जाने विद्यार्थीमार्फत आफूहरुले पर्यटक भित्र्याउने बताउनुभयो । साधारणसभाले दुई वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ । 

Thuprai - Books and E-books