A Levels MA

एउटै विद्यालयका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गरे

जगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गर्दै स्थानीय सरकारलाई पत्राचार गरेका छन् ।

कक्षा ६ सम्म पठनपाठन हुने उक्त विद्यालयमा अध्यापनरत पाँच जना शिक्षकले आफूहरू असुरक्षित भएको भन्दै सरुवाका लागि पत्राचार गरेका हुन् ।

हिजो बिहान विद्यालयमा केही व्यक्ति आएर शिक्षक विद्यार्थी माथि अभद्र व्यवहार गर्नुका साथै डरत्रास देखाएपछि शिक्षकहरूले सरुवाको माग गरेको पत्रमा उल्लेख गरेका छन् । ‘स्थानीयले पटक पटक शिक्षक विद्यार्थीमाथि गालि गलैच तथा दुव्र्यवहार गर्दै आइरहेको हुँदा विद्यालयमा कार्यरत सबै शिक्षक र कर्मचारीले सामुहिक सरुवाको माग गरेका हौं ।’ पत्रमा उल्लेख गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक बादशाह साहका अनुसार फागुन २ गते मंगलबार बिहान १० बजे प्राथना गर्ने समयमा आएर गाउँका ७ जना युवाले अभद्र व्यवहार गरेका थिए ।

उनीहरुले कक्षा कोठामा गई छात्र छात्राहरुलाई हातपात, गाली गलौज गरी पाठ्यपुस्तक बाहिर फालेको, शिक्षकले नपढाएको भन्ने आरोप लगाउन दवाव दिँदै, छात्राहरुलाई समेत हात हालेको, मोबाइलमा भिडियो लिई फलामको रड हल्लाउँदै तर्साउँदै शिक्षक कर्मचारीहरूलाई विद्यालयमै विद्यार्थीको सामु गाली गलौज गर्दै दुव्र्यवहार गरेको प्रधाध्यापक साहले बताए ।

सो विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायले बताए । ‘सरुवाको माग गर्दै शिक्षकहरू बाद शाह, गुडिया देवी, ओमप्रकाश चौधरी, रेखाकुमारी यादव, गुलावप्रसाद यादवले हामी कहाँ पनि पत्राचार गर्नुभएको छ ।’ उनले भने, ‘हामी घटनाको अध्ययन गरिरहेका छौं, सर्वदलीय छलफलपछि समस्याको निकास निकाल्छौं ।’

उनका अनुसार विद्यालयमा विद्यार्थी अभिभावकको आकर्षण राम्रो छ । पठनपाठन पनि अन्य विद्यालय भन्दा राम्रो छ । ‘बाहिर हल्लामा आए जस्तो सो विद्यालयका शिक्षकले नपढाएको होइन, पढाइ राम्रो छ ।’ उनले भने, ‘ठुलो समस्या होइन, छलफलपछि समाधान गछौं ।’

Thuprai - Books and E-books