महानगरका ३९ निजी विद्यालयले अहिले सम्म छात्रवृत्ति विवरण बुझाएनन्

काठमाडौं महानगरपालिकाका भित्रका ३९ निजी विद्यालयले अहिले सम्म छात्रवृत्ति विवरण बुझाएका छैनन् । महानगर भित्रका ५०४ निजी विद्यालयमध्ये ४६५ ले मात्र छात्रवृत्ति विवरण बुझाएको हुन् ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहका अनुसार अहिलेसम्म छात्रवृत्ति विवरण नपठाउने विद्यालयलाई रु. एक लाख जरिमाना लिएर अन्तिम पटक विवरण बुझाउने मौका दिइने छ ।

अन्तिम समयसम्म विवरण नबुझाउने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने प्रमुख शाहले जानकारी दिए ।

१३ हजार बढीले छात्रवृत्ति पाए

महानगरका ४६५ निजी विद्यालयले १३ हजार भन्दा बढी बालबालिकालाई छात्रवृत्ति प्रदान गरेका छन् ।

महानगरपालिकाले गरेको विद्यालयको निरीक्षण तथा विद्यालयले बुझाएको विवरणमा महानगरको इतिहासमा पहिलो पटक धेरै विद्यार्थीले छात्रवृत्ति पाएको प्रमुह बालेन्द्रले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।