बाल विकास केन्द्रमा ३१ प्रकारका सामग्री हस्तान्तरण

सल्यान २७, मङ्सिर (रासस) ः कपुरकोट गाउँपालिकाले गाउँपालिकाभित्रका बाल विकास केन्द्रमा ३१ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

बाल विकास केन्द्रको क्षमता अभिवृद्धि तथा बाल सिकाइमा सुधार ल्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो । बाल विकास केन्द्र अनुगमन गर्दा केन्द्रमा धेरै समस्या देखिएपछि गाउँपालिकाले शैक्षिक सामग्री हस्तान्तरण गरेको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिनुभयो । “बालबालिका बाल विकास केन्द्रमा आएर आफूखुशी खेल्ने, खाने र सुत्न पाउने वातावरण हुनुपर्छ यसका लागि बाल विकास केन्द्रको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले योजना बनाएको छ ।”, अध्यक्ष सेनले भन्नुभयो । 

बाल विकास केन्द्रमा व्यवस्थापन सुधार, गुणस्तर वृद्धि, पूर्वाधार निर्माण, समुदाय परिचालन तथा सशक्तीकरण गर्नका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष सेनले बताउनुभयो । गाउँपालिकाले बाल विकास केन्द्रमा बालबालिकालाई पोसाक, खेलकूद सामग्री, सङ्गीत तथा अन्य शैक्षिक सामग्री वितरण गरेको कपुरकोट गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जानकारी दिनुभयो । 

Thuprai - Books and E-books