A Levels MA

सात हजार विद्यार्थी दीक्षित गर्दै पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोह सम्पन्न

पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा विद्यार्थी दीक्षित भएका हुन् ।

विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षित गर्नुभएको हो । पोखरा विश्वविद्यालयले यस वर्ष व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक विद्यार्थीलाई कुलपति पदक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने ११ विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई उपकुलपति पदकबाट विभूषित गरिएको थियो ।

उक्त अवसरमा विभिन्न विधाका पाँच सय ७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो । व्यवस्थापन सङ्कायअन्तर्गत आङ्गिक महाविद्यालयबाट स्नातकोत्तर तहमा एमबिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक, २०७९ बाट सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत स्नातक तहमा बिसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल, २०७९ बाट सम्मान गरिएको छ ।

पोखरा विश्वविद्यालयका ६६ महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका पठनपाठनका साथै विश्वविद्यालयमा ६४ कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले जानकारी दिए ।

यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

विश्वविद्यालयका देशैभरि चार आङ्गिक, चार संयुक्त आङ्गिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो । आङ्गिक महाविद्यालयमा स्नातक तहमा १७, स्नातकोत्तर तहमा १७, एमफिल तहमा एक र विद्यावारिधि तहमा तीनसहित ३८ कार्यक्रम सञ्चालनमा रहेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो । विश्वविद्यालयले एक वर्षयता शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक रूपान्तरणका लागि आवश्यक जनशक्ति पोखरा विश्वविद्यालयले उत्पादन गर्ने विश्वास व्यक्त गरे । 

उनको राष्ट्रिय शिक्षा नीति, २०७६ को उद्देश्यअनुरूप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संशाधन विकास गर्ने दिशामा विश्वविद्यालय अगाडि बढ्नुपर्नेमा जोड थियो ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी भइरहेको जानकारी पनि दिए । भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयू) का उपकुलपति प्रा डा उमा भारद्वाजले गुणस्तरीय शिक्षाबाट विश्व बजारमा प्रतिस्पर्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी देशको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

उच्तस्तरीय जनशक्ति उत्पादन गर्नका लागि अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्य पक्षलाई अगाडि बढाउँदै लानुपर्नेमा उनको जोड थियो । विश्वविद्यालयका उपकुलपति प्राडा अर्यालले विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि विदेश जानबाट रोक्न आकर्षक छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए ।

Thuprai - Books and E-books