After SEE Portal

लुम्बिनी बौद्ध विश्वविद्यालय १४औँ वर्षमा प्रवेश

Bridge Course

रुपन्देही, १४ मङ्सिर (रासस) : लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १४औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाउन शुरु गरेको छ । 

वार्षिकोत्सवको आज लुम्बिनीमा उद्घाटन गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुसङ्कायमा आधारित विश्वविद्यालयका रुपमा विकसित गर्नुपर्ने बताउनुभयो । 

पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभाका सांसद पौडेलले बौद्ध दर्शन मात्रै अध्यापन हँुदा विद्यार्थीको सङ्ख्यासमेत कमी भएको भन्दै बहुविषयमा अध्ययन अध्यापन जरुरी भएको बताउनुभयो । उहाँले बुद्ध दर्शनलाई प्राथमिकता दिएर अन्य विषय समावेश गरेमा विश्वविद्यालयले गति लिने बताउनुभयो । उहाँले भन्नुभयो, “१४ वर्षसम्म पनि विद्यार्थीको सङ्ख्या बढेन, अब कानून संशोधन गरेरै भए पनि मल्टी फ्याकल्टी प्रणालीमा जानुको विकल्प छैन ।” विश्वविद्यालयले नयाँ सम्बन्धन दिन नमिल्ने मिल्दैन उहाँले भन्नुभयो, “नेतृत्वले कानूनी सीमा नमिचाँै, मिचे दुःख पाइन्छ ।” 

राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले बौद्ध दर्शन शिक्षा र लुम्बिनीको माध्यमबाट पर्यटन विकास गर्न सकिने भन्दै अवको योजना त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले बौद्ध दर्शनको अध्ययनसँगै व्यावहारिक प्रयोगमा विशेष जोड दिनुपर्ने बताउनुभयो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य फकुरुद्दिन खानले लुम्बिनीमा बहुविषययुक्त क्याम्पसको आवश्यक भएको भन्दै लुम्बिनीलाई बौद्ध दर्शनमा मात्रै सीमित गर्न नहुने बताउनुभयो । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले विश्वभरबाट बौद्ध दर्शन खोज्दै लुम्बिनी आउने वातावरण बनाउन विश्वविद्यालय र कोष एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । विश्वविद्यालयका निमित्त उपकुलपति तिलक आचार्यले बजेट अभावमा विश्विद्यालयले लक्ष्यअनुरुप शैक्षिक गतिविधि अघि बढाउन नसकेको बताउनुभयो । दुई बिगाहा क्षेत्रफलमा विश्वविद्यालयका संरचना रहेकाले पूर्वाधार विकाससँगै शैक्षिक क्रियाकलाप अघि बढाउन सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । 

सोही अवसरमा करीब रु १२ करोडको लगानीमा विश्वविद्यालयले निर्माण गर्न लागेको पुस्तकालय भवनको पूर्वमन्त्री पौडेलले शिलान्यास गर्नुभयो । सो अवसरमा विश्वविद्यालयका विभिन्न तहमा अध्ययनरत ३३ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । 

विश्वविद्यालयले १४औँ वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउँदैछ । मङ्सिर २२ गते राष्ट्रपतिको आतिथ्यतामा समापन कार्यक्रम हुनेछ । सो अवसरमा विश्वविद्यालयका नवनिर्मित छात्रावास, अनुसन्धान केन्द्रलगायत भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालय प्रमुख फणीन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

A Levels MA
Thuprai - Books and E-books