मीडवाईफरी शिक्षकका लागि १४ दिने तालिम

मीडवाईफरी अध्यापन गराउने शिक्षकहरुको लागि १४ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । मिडवाईफरीको शिक्षण सिकाइलाई दक्ष बनाउने उद्देश्यले मीडवाईफरीका शिक्षकहरुलाई प्रभावकारी अध्यापन गराउनको लागि गर्न सकिने प्रयास, उपायको बारेमा तालिम सिप प्रदान गरिने मीडवाईफरी संघकी अध्यक्ष डा.लक्ष्मी तामाङले जानकारी दिइन् ।

तालिममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, प्रसूती गृह थापाथली, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल र नेम्स कलेजका १४ जना शिक्षक तालिममा सहभागी रहेका छन् ।

दीगो विकास लक्ष्य प्राप्ति गराउनको लागि नेपालमा कम्तिमा ९ हजार मीडवाईफरीको आवश्यकता भएको नेपाल सरकारले निष्कर्ष निकालेको छ। तर तालिमप्राप्त नर्सहरु अन्य वार्ड (ट्रमा सेन्टर, बच्चा वार्ड, सर्जिकल वार्ड) मा काम गर्ने भएकोले नतिजा प्रभावकारी नआएपछि मीडवाईफरी अध्यापनमा जोड दिन थालिएको हो ।

यसको कार्यान्वयनका लागि सरकारले सन् २००६ मा लागू गर्ने नीति ल्याए पनि २०१६ देखि मात्रै कार्यन्वयनमा आएको हो । सोही अनुसार सन् २०१६ मा काठमाडौं विश्वविद्यालयले, २०१७ मा नेम्स कलेजले, २०१८ मा कर्णाली विज्ञान प्रतिष्ठानले यसको अध्यापन सुरु गरेका हुन् ।।

यी कलेजहरुबाट अहिलेसम्म जम्मा २९ जना मीडवाईफरी उत्पादन भइसकेका छन् । चिकित्सा शिक्षा आयोगले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मीडवाईफरी पढाउने अनुमति दिएको छ । यो वर्ष प्रतिष्ठानले २० जना विद्यार्थी पढाईरहेको छ । यो स्नातक सरहको कम्तिमा तीन वर्ष पठनपाठन हुने कार्यकमम् हो ।

तीन वर्षे प्रमाणपत्र तहको मीडवाईफरी उत्पादन गर्ने भनेर विसं २०७५ मा स्वास्थ्य मन्त्रालय र सीटीइभीटी मिलेर पाठ्यक्रम तयार गरेपनि अझैसम्म पनि अध्यापन भने शुरु भएको छैन ।