एमबीबीएस र बीडीएस शुल्क कार्यान्वयन गर्ने गराउने सन्दर्भमा शिक्षा मन्त्रालयको सूचना

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, सूचना

नेपाल सरकारद्वारा चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएस र बीडीएस कार्यक्रमका लागि निर्धारित शुल्क कार्यान्वयन गर्ने गराउने सन्दर्भमा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यूको उपस्थितिमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय तथा काठमाडौ विश्वविद्यालयका पदाधिकारी तथा एमबीबीएस र बीडीएस कार्यक्रम सञ्चालन गर्ने मेडिकल कलेजका सञ्चालक एवं पदाधिकारीहरूको उपस्थितिमा भएको मिति २०७६/८/१० को बैठकबाट शुल्क कार्यान्वयन सम्बन्धमा देहायबमोजिम निर्णय गरिएको हुँदा सो निर्णय कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयमार्फत् सम्बन्धित सबै मेडिकल कलेजहरूलाई पत्राचार गरिसकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 

शैक्षिक कार्यक्रम सञ्चालनमा गतिरोधको अवस्था रहिरहँदा पठनपाठन तथा प्रयोगात्मक अभ्यासमा गम्भीर असर पर्न गई समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुने भएकाले आफ्नो नियमित पठनपाठन र प्रयोगात्मक अभ्यासमा निरन्तर सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरिन्छ । यसका साथै विद्यार्थीहरूले विश्वविद्यालयद्वारा निर्धारित समयावधिभित्र नै तोकिएको शैक्षिक उपलब्धि हासिल गर्नसक्ने गरी पठनपाठनको कार्यलाई सुचारू राख्न सकारात्मक पहल तथा सहयोग गरिदिनुहुन सम्बन्धित सबै अभिभावकहरूलाई हार्दिक अनुरोध गरिएको छ।

निर्णय नं. १ : नेपाल सरकार मन्त्रिपरिषद्बाट चिकित्सा शिक्षाको स्नातक तहका एमबीबीएस र बीडीएस कार्यक्रमका लागि निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्न प्रतिबद्ध छौं।

निर्णय नं. २ : निर्णय नं. १ को कार्यान्वयनका लागि देहायबमोजिम गर्ने निर्णय गरियो : 

(क) विश्वविद्यालयहरूबाट काउन्सिलिङ्ग गरी बैंकिङ्ग प्रणालीद्वारा विद्यार्थी भनी प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी रकम लिएका मेडिकल कलेजहरूले भोलि मिति २०७६ मंसिर ११ गतेदेखि नै बढी लिएको शुल्क रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने ।

(ख) शैक्षिक सत्र ०७२/०७३ र ०७३/०७४ को हकमा विश्वविद्यालयहरूको समन्वयमा अध्ययन, छलफल र छानवीन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने  

(ग) शैक्षिक सत्र ०७६/०७७ का हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुचारु गर्ने । 

(घ) शैक्षिक सत्र ०७७/०७८ र त्यस पछिका लागि वैज्ञानिक ढङ्गले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा आयोगबाट कार्य अघि बढाउने।

Thuprai - Books and E-books