माध्यमिक शिक्षा परीक्षा कक्षा-१० को वार्षिक परीक्षामा सम्मिलित भई ग्रेडवृध्दि गराउन चाहने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्ने सूचना

नेपाल सरकार

राष्ट्रिय परीक्षा बोर्ड 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० 

सानोठिमी, भक्तपुर 

२०७६ सालको चैत्रमा सञ्चालन हुने  माध्यमिक शिक्षा परीक्षा कक्षा-१० मा ग्रेडवृध्दि गराउन चाहने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना 

माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (Secondary Education Examination Grade-10) को वार्षिक परीक्षामा सम्मिलित भई ग्रेडवृध्दि गराउन चाहने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम २०७६ मंसिर ९ देखि २०७६ पुष ८ गतेसम्म भरी बुझाउने सम्बन्धी यो सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ। 

ग्रेडवृध्दि तर्फ (साधारण, प्राविधिक, खुला तथा वैकल्पिक र अनौपचारिक प्रौढ विदयालयका परीक्षार्थी) 

१.  २०७४ को नियमित परीक्षार्थी भई एसइइ परीक्षामा सहभागी भएका परीक्षार्थीहरुले विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यावन्यन कार्यविधि २०७२ को परिच्छेद ३ को ३.१.३.४(ख)मा भएको "दुई विषयभन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका परीक्षार्थी वा आफूले चाहेको विषयमा ग्रेड वृध्दि गर्न चाहने पुराना परीक्षार्थीहरुलाई बढीमा ३ वर्षसम्मका लागि वार्षिक परीक्षामा ग्रेड वृध्दि गर्ने अवसर उपलब्ध गराइने छ" व्यवस्था बमोजिम ग्रेडवृध्दि गर्न चाहेमा २०७६मा हुने माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसईई) मा ग्रेडवृध्दि समूहबाट परीक्षामा सहभागी हुन सक्नेछन् । साथै २०७४ साल भन्दा अगाडि नियमित परीक्षामा सहभागी भएका सबै परीक्षार्थीहरुले अक्षाराइकन पद्धती नयाँ पठ्यक्रम अनुसार सम्पूर्ण विषयमा परीक्षा दिन सक्नेछन । यस्ता परीक्षार्थीहरुले परीक्षामा सहभागी हुन चाहेमा आफ्नो विद्यालयमा गई पुन: प्रयोगात्मक परीक्षामा सामेल हुने व्यवस्था मिलाई पुरानो परीक्षार्थीका रुपमा सहभागी हन सक्नेछन् । 

२. त्यस्ता परीक्षार्थीहरूले हालसालै खिचेको पासपोर्ट साइजको २ (दुई) प्रति फोटो टाँसी आवेदन फाराम भरी देहायका कागजातहरु संलग्न राखी प्रति परीक्षार्थी परीक्षा दस्तुर रु ५००/- (पाँच सय) सहित २०७६ पुष ८ गतेभित्र आवेदन फाराम भरी सम्बन्धित विदयालयमा बुझाइसक्नुपर्नेछ ।

(क) रजिष्ट्रेशन स्लिपको प्रतिलिपि (अनिवार्य), 

(ख) अक्षराङ्कन प्रणाली अन्तर्गतका ग्रेडवृध्दि गर्न चाहने परीक्षार्थी भए ग्रेडसिटको प्रतिलिपि, 

(ग) पुरानो परीक्षार्थी सवै विषय दिन चाहने परीक्षार्थी भए मार्कसिट वा ग्रेडसिटको प्रतिलिपि,

(घ) अनुपस्थित भएको भए लेजर र प्रवेशपत्रको प्रतिलिपि 

३. फाराम भर्दा परीक्षार्थीले पहिले दिएका परीक्षाका सबै वर्षका सिम्बोल नम्बरहरु क्रमश: उल्लेख गर्नुपर्नेछ । 

४. परीक्षा आवेदन फाराम भर्दा परीक्षार्थीले आफूले नियमित अध्ययन गरेको विद्यालयबाट नै भर्नुपर्नेछ । अन्य विद्यालयबाट आवेदन फाराम भरेमा स्वतः रद्द हनेछ । साथै अन्य विद्यालयका परीक्षार्थीको आवेदन फाराम भराएमा प्रधानाध्यापकलाई कारवाही हुनेछ । 

५. विद्यालयहरुले ग्रेडवृध्दि परीक्षार्थी र पुरानो परीक्षार्थीहरुको छुट्टाछुट्टै फायलमा परीक्षार्थीहरुको आवेदन फाराम परीक्षार्थीको वर्णानुक्रम अनुसार सिलसिला मिलाई सो बमोजिमको समष्टिगत फाराम तयार गरी परीक्षा दस्तुर बापतको राजस्व जम्मा गरेको भौचर वा नगदी रसिद समेत संलग्न राखी २०७६ साल पुष ११ गतेभित्र नै सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईमा बुझाइसक्नुपर्नेछ । २०७६ फाल्गुण १६ गते भित्र पुराना (२०७४ भन्दा अगाडिका) परीक्षार्थीहरु प्रयोगात्मक परीक्षामा सहभागी हुन आएमा तिनीहरुको प्रयोगात्मक परीक्षा लिइ अंक तालिकामा भरी शिक्षा विकास तथा समन्वय एकाईमा छुट्टै बझाइनु पर्नेछ । 

६. परीक्षा दस्तुर बापतको राजस्व विद्यालयहरुले शिक्षा विकास तथा समन्वय एकाई वा बैंकमा जम्मा गरिसक्ने अन्तिम मिति २०७६ पुष ११ गतेसम्म र शिक्षा विकास तथा समन्वय एकाईहरुले बैंकमा जम्मा गरिसक्ने अन्तिम मिति २०७६ पुष १५ गतेसम्म कायम गरिएको छ । राजस्व खाता नं. १४२२३ रहेकोछ । 

७. शिक्षा विकास तथा समन्वय एकाईहरुले विद्यालयहरूबाट प्राप्त आवेदन फाराम तथा समष्टिगत विवरण फाराम रुजु गरी २०७६ पौष २० गतेभित्र ग्रेडवृध्दि र पुरानो परीक्षार्थीहरुको आवेदन अनलाइन इन्ट्री गरी गराई एकाई प्रमुखबाट फाराम स्वीकृत गरी प्रवेशपत्र विदयालयमार्फत परीक्षार्थीहरुसँग पुग्ने गरी आवश्यक व्यवस्था मिलाइ उक्त विवरण परीक्षा नियन्त्रण कार्यालयमा पठाइसक्नुपर्नेछ । 

८ . नियमितका लागि योग्य भएका र ग्रेडवृध्दि दुवै परीक्षार्थीहरुको छुट्टाछुट्टै तेरिज खडा गरी राजस्व विवरण र परीक्षार्थी संख्या विद्यालयकोड अनुसार २०७६ साल फाल्गुण २० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ । विवरण पठाउँदा विदयालयको कोड नं.को क्रममा विद्यालयको नाम, विद्यार्थी सङ्ख्या र राजस्व रकमसमेत खुल्ने गरी पठाउनुपर्नेछ । 

 ९. ग्रेडवृद्धि तर्फ सहभागी हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र केन्द्रिकृत गरेर सदरमुकाममा मात्र हुने छ र सोही अनुसार परीक्षा केन्द्र कायम गर्ने व्यवस्था एकाईहरुले मिलाउनु पर्ने छ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा सम्मिलित हुन आवेदन फाराम भरेका परीक्षार्थीहरुको केन्द्र परिवर्तन हुनेछैन ।

परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपुर । 

Tag:परीक्षा आवेदन फाराम
Thuprai - Books and E-books