प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
परीक्षा नियन्त्रण कार्यालय
सानोठिमी, भक्तपुरको
डिप्लोमा तथा प्रमाण पत्र तहमा शिक्षण संस्था स्थानान्तरण र अध्ययन निरन्तरता र क्रेडिट ट्रान्सफरका लागि निवेदन पेस गर्नेबारे अत्यन्त जरुरी सूचना
(मिति: २०७६ भाद्र २२ गते प्रकाशित)
यस परिषदका आगिक, साझेदारी, सरकारी/सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले स्थानान्तरण, क्रेडिट ट्रान्सफर, अध्ययन निरन्तरता र कार्यक्रम परिर्वतन गर्न चाहेमा उपयुक्त कारण खलाई मिति २०७६/०६/१२ गते कार्यालय समयभित्र परिषद्, परीक्षा नियन्त्रण कार्यालयमा निम्न सर्तहरू पूरा गरी निवेदन दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
शर्तहरू:
१. परिषद्अन्तर्गतका शिक्षण संस्थामा कुनै शैक्षिक कार्यक्रममा अध्ययनका लागि परिषद, परीक्षा नियन्त्रण कार्यालयमा रजिष्ट्रेशन भएको हुनुपर्नेछ ।
२. परिषदका आंगिक, साझेदारी, सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरू सम्बन्धित शिक्षण संस्थामा मात्र स्थानान्तरण हुन सक्ने छन् ।
३. निजी शिक्षण संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरू अर्को निजी शिक्षण संस्थाहरूमा मात्र स्थानान्तरण हुन सक्ने छन्।
४. स्थानान्तरणका लागि उपयुक्त कारण खुलेको कागजात पेस गर्नु पर्नेछ ।
५. विद्यार्थीले अध्ययनरत तथा स्थानान्तरण हुन चाहेको दुबै शिक्षण संस्थाको सहमति पत्र पेस गर्नु पर्नेछ।
६. स्थानान्तरण हुन चाहेको शिक्षण संस्थामा कोटा रिक्त रहेको सक्कल पत्र तथा अघिल्लो वर्ष/सेमेष्टरको अन्तिम परीक्षाको प्रमाणित परीक्षा आवेदन समष्टिगत पेस गर्नुपर्नेछ।
७. विद्यार्थी भर्ना हुँदा जुन कोटा (छात्रवृत्ति, पूर्ण शुल्क, लक्षित वर्ग र प्रा.एस.एल.सी.) मा भर्ना भएको हो सोही कोटामा मात्र निजको स्थानान्तरण हुनेछ।
८. आन्तरिक मूल्याङ्कन परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई शिक्षण संस्था स्थानान्तरण/अध्ययन निरन्तरताको सहमति दिइने छैन।
९. अध्ययन निरन्तरताको लागि सम्बन्धित विद्यार्थी सन् २०१४ भन्दा पछाडि रजिष्ट्रेशन भएको र पाठ्यक्रम परिमार्जन नभएको हुनु पर्नेछ।
१०. क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्ने परीक्षार्थीहरूले अध्ययन गर्ने संस्थाको सहमति पत्र र उत्तीर्ण कार्यक्रमको प्रमाणपत्रहरूको प्रतिलिपि एवं परीक्षार्थीको सक्कल निवेदन पेस गर्नु पर्नेछ।
परीक्षा नियन्त्रक