इतिहास र संस्कृति विषयमा शून्य विद्यार्थी

Thuprai - Books and E-books

विद्यार्थी छैनन् । दैनिक शिक्षक आउँछन् हाजिर गर्छन् । केही समय घाम ताप्छन् घर फर्कछन् । बुटवल बहुमुखी क्याम्पसका इतिहास र संस्कृति विषयका शिक्षक विगत एक दशकदेखि यसरी नै दिन कटाउँदै आएका छन् ।

इतिहास र संस्कृति विभागमा विद्यार्थी भर्ना नै हुन छाडेपछि शिक्षकलाई पढाउने झन्झट छैन । अन्य व्यवसायिक तथा प्राविधिक विषयमा विद्यार्थीे आकर्षण बढेपछि मानविकीका  पुराना  विषयहरूमा  विद्यार्थी आउन छाडे । यो क्याम्पसमा  मात्र होइन देशैभरिका अन्य क्याम्पसको अवस्था यस्तै छ । हरेक क्याम्पसमा यी विषय पठनपाठन  हुने कक्षाकोठा नै सुनसान देखिन थालेका छन् । यो क्याम्पसमा विगत पाँच सात वर्ष अघिसम्म इतिहास विभागमा विद्यार्थी खचाखच हुन्थे तर केही वर्ष यता विद्यार्थी नै नआएपछि क्याम्पस परिसर स्थानीय तथा प्राध्यापकहरूको घाम ताप्ने ठाउँमा परिवर्तन भएको इतिहास विभाग प्रमुख प्राडा सूर्यवहादुर जीसी बताउँछन् । ‘त्रिभुवन विश्वविद्यालयको आंगिक होस वा सम्बन्धन प्राप्त पहिला इतिहास विषय पढाइ नहुने क्याम्पस नै हुँदैन थियो ।’ उनले भने ‘बुटवल क्याम्पसमा पनि तीनचार वटा सेक्सनमा पढाइ हुन्थ्यो । तर अहिले विद्यार्थी संख्या शून्यमा झरेको छ ।’

क्याम्पसको परीक्षा शाखाका अनुसार यी दुइ विषयमा दुई–दुई जना विद्यार्थी मात्र आन्तरिक परीक्षामा सामेल भएका छन् । आन्तरिक परीक्षामा थोरै विद्यार्थी सामेल भएपनि विगतमा शैक्षिकसत्रको बिचबिचमा विद्यार्थी थपिने गरेको  प्राडा जीसी बताउँछन् ।परीक्षा शाखाका अनुसार इतिहास विषयमा स्नातक तह दोस्रो वर्षमा विद्यार्थी नै छैनन् । इतिहासकै जस्तो अवस्था छ संस्कृति विषयमा पनि । यो विषयमा पनि विद्यार्थी संख्या शुन्य छ । स्नातक तहको तेस्रो वर्षमा इतिहास र संस्कृति दुवै विषयमा एक–एक जना अध्यनरत छन् ।

 विद्यार्थी नगन्य छन् । नियमित क्याम्पस पनि आउँदैनन् । त्यसैले यी विषय पठनपाठन हुने कक्षाकोठा पनि कहिले काहीँ मात्र खुल्छन् । ‘विद्यार्थी आएसम्म हामीले पठनपाठन गराएका छौं ।’ क्याम्पस प्रमुख शसिसरण सुवेदीले भने, ‘आधुनिक विषयमा विद्यार्थी आकर्षण राम्रो छ, तर पुराना विषयहरूमा विद्यार्थी अन्यत्र जस्तै कम छन् ।’क्याम्पसमा इतिहास विषयको लागी ३ जना प्राध्यापक छन् । त्यसैगरी संस्कृति विषयमा एक जना स्थायी र एक जना करारका शिक्षक छन् ।क्याम्पसको भूगोल विषयमा पनि विद्यार्थी संख्या न्यून छ । स्नातकतर्फ प्रथम वर्षमा ७ जना भूगोल विषय पढिरहेका छन् । दोस्रो वर्षमा भने २ जना र तेस्रो वर्षमा पनि सातै जना रहेको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट हटाएपछि उच्च माध्यमिक शिक्षा परिषदले ११ र १२ कक्षा सञ्चालन गर्न थाल्यो । ११ र १२ सञ्चालन गर्ने विद्यालयहरूले मानविकीलाई कम प्राथमिकता दिएपछि विद्यार्थी आउन छाडेको प्रमुख सुवेदी बताउँछन् । 

व्यवस्थापन, विज्ञान, शिक्षापछि मात्र विद्यार्थीले मानविकीका पुराना विषय रोज्न थालेका छन् । देशभरि वैदेशिक रोजगारीले गर्दा युवाशक्ति पलायन भइरहेको छ । बाँकिरहेका युवायुवति पनि न्यून आर्थिक अवस्था भएका छन् । पैसा हुनेहरूले आधुनिक विषय रोज्छन् । गाउँका छोरीबुहारी अरु केही बन्न नसके पनि शिक्षा पढेर शिक्षक त भइहालिन्छ नि भन्ने विश्वासले ती विषय पढ्न हुँदा इतिहास, संस्कृति जस्ता विषय लोप हुँदै गइरहेको प्राडा जीसी बताउँछन् । ‘गाउँमा च्याउँजस्तै कक्षा १२ सम्म पढाइ हुने विद्यालय छन् ती विद्यालयले इतिहास, संस्कृति जस्ता विषय पढाउँदै पढाउँदैनन् ।’ प्राडा जीसी भन्छन्, ‘समाजका लागि महत्वपूर्ण यी विषय देशैबाट लोप हुँदै गइरहेका छन् ।’ 

उच्च शिक्षा पढ्ने विद्यार्थी प्रतिवर्ष घट्दै छन् । नेपाली विद्यार्थीहरू राष्ट्रका लागिभन्दा पनि अन्तर्राष्ट्रिय बजारमा आफ्नो भविष्य देखेर विदेश पलायन भइरहेका छन् । त्यसैले यी विषयको महत्व, आवश्यकताको प्रचारप्रसार गरी स्वदेशकै लागि विद्यार्थी उत्पादन गर्न सम्बन्धित निकायको चासो जानु पर्ने क्याम्पस प्रमुख सुवेदी बताउँछन् ।