लकडाउनमा शिक्षकले के गर्ने ?

विश्वका शक्तिशाली राष्ट्र चीन, अमेरिका, इटाली, बेलायत, भारत जस्ता मुलुक यतिवेला कोरोना भाइरसको मुख्य जोखिम र चपेटामा परेका छन् । अन्य राष्ट्रले पनि यस्तो हालतको परिकल्पना गरिसकेका छन् र उच्च सतर्कताका लागि व्यापक तयारी गरेका छन् । यो भाइरसलाई प्राकृतिक महामारीको रूपमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि घोषणा नगरेको अवस्था, सञ्चार माध्यमले पनि शंका व्यक्त गरेको अवस्था र भाइरस फैलने तरिका तथा यसको फैलावटको अवस्था, नियन्त्रणका लागि खोप तत्काल पत्ता लगाउन नसकिनु जस्ता अवस्था हेर्दा यो मानव निर्मित त होइन भन्ने प्रशस्त शंकाका बाटाहरू कोरिनु स्वाभाविकै हो । चाहे जे होस, यो भाइरस अत्यन्त खतनाक छ, भीड मन पराउँदैन र सामाजीकरणलाई यसले स्थान दिदैन । सचेत नागरिक भइ मुलुकलाई सहयोग गर्नुको र आत्म अनुशासन कायम राख्नु नै यसबाट बच्ने उपाय हो ।

नेपाल पनि COVID-19 को उच्च जोखिममा रहेको कुरा डब्लुएचओले औंल्याएको छ । नयाँ तथ्यांकले पाँच जनालाई संक्रमित भएको देखाएको छ । यसले नेपाली समाजमा तिब्रता पायो भने उपचारको सम्भावना छैन । तत्काल नियन्त्रण जरूरी छ । यस अवस्थामा सरकारले देशको स्वास्थ्य क्षेत्रको क्षमता विश्लेषण गरेर थप पहल कदमी चाल्नुपर्छ । सरकारको चनाखोपन र नागरिकको सचेतना नै यस रोगलाई जित्ने उत्तम उपचार हो । यसैका लागि नेपाल सरकारले भीडभाड हुन नदिन र मानिसको आतजावतलाई कम गर्न मुलुकलाई लकडाउन गरेको छ । सन्त्रासमय अवस्थामा मानिस घरभित्रै सेल्फ क्वाराइन्टाइनमा बसेका छौं । यो रोग विस्तार हुन नदिने उत्तम विकल्प यही हो ।

मुलुक लक डाउनमा परेपछि एसइइ परीक्षा तयारीका परीक्षार्थीदेखि विद्यालय र विश्वविद्यालय तहका अधिकांश विद्यार्थी र परीक्षार्थी घरमा अभिभावकसँग छन् ।

छोराछोरीलाई घरमा धेरै समय दिन नसक्ने परिवारका लागि यो सुनौलो अवसर हो । यस अवस्थाले छोराछोरीसँगै रहेर संस्कार र संस्कृति सिकाउने अवसर दिएको छ । घरायसी काम, खेतबारीको काम, भान्साको काम सिकाउने पर्याप्त अवसर दिएको छ । माया, ममता, सद्भावले दरिलो परिवार निर्माणको आधार दिएको छ । यो समयलाई सही सदुपयोग गरेमा भोलिका दिनमा खुशीसाथ जिउने र नयाँ भाग्य रेखा कोर्ने अवसर सिर्जना गरेको छ । त्यसैले आफू र परिवार अनि समाजको स्वास्थ्य राम्रो हुने र पारिवारिक वातावरण उल्लासमय हुने अवसर यसले जुटाइदिएको छ । यसलाई सकारात्मक सोचौं ।

नयाँ शैक्षिक सत्रको शुरुवाती चरणमा विद्यालय बन्द भए । लकडाउन कति दिनसम्म रहेने हो यकिन छैन । तर जस्तो सुकै वातावरणमा पनि विद्यार्थीले पढ्न पाउनुपर्ने हकलाई स्थापित गर्नु जरुरी छ । यस सन्दर्भमा विभिन्न संस्था वा निकायले अनलाइन सिकाइको वातावरण सिर्जना गरेका छन् । यसको खुलेर प्रशंसा गरौं । सिकाइ विद्यालयको चौघेराभित्रमात्र हुन्छ भन्नु गलत हो । जो साबित भइसकेको छ । विद्यालय नयाँ शैक्षिकसत्र शुरु हुने दिन बैसाख १ गते नजिकै छ तर सन्त्रासमय वातावरण हराएको छैन । शैक्षिक सत्र विद्यालय हाताभित्र जहिले सुरु भए तापनि विद्यालय र शिक्षकको आगामी शैक्षिक वर्षको असल योजनाले गुमेको सिकाइ अवसरलाई पूरा गर्छ । त्यसैले एक असल शिक्षक र विद्यालयले नयाँ शैक्षिक सत्रका लागि केकस्ता योजना निर्माण गर्ने भन्ने बेला हो यो । यसका लागि धेरै शिक्षक योजना निर्माणको व्यस्ततामा नै हुनुहुन्छ भन्ने अपेक्षा यस लेखकले गरेको छ । जुन सत्य साबित बनोस् ।

यस विषम परिस्थितिमा आगामी शैक्षिकसत्रका लागि विद्यालय र शिक्षकले कस्ता योजना निर्माण गर्न सकिन्छ भनेर केही टिप्स उल्लेख गर्ने जमर्को गरिएको छः

१. सरकारले लकडाउन घोषण गर्दा विद्यालयको शैक्षिक सत्र २०७६ को परीक्षा समाप्त भइसकेको थियो । यसको उत्तरपुस्तिका परीक्षण भइरहेको वा भइसकेको हुनुपर्छ । यसमा विद्यार्थीले प्राप्त गरेको अंकको विश्लेषण गर्नुहोस् । गत शैक्षिक सत्र र यस वर्षको परीक्षामा के फरक रह्यो । सिकाइ उपलब्धि हासिल भए कि भएनन् । किन कुनै विद्यार्थीले कम अंक ल्यायो, किन कसैले बढी अंक ल्यायो ? प्रश्नको कठिनाइ स्तर कस्तो थियो ? पाठ्यक्रमले निर्दिष्ट गरेका सक्षमता प्राप्त भए ? यसको बारेमा चिन्तन गर्नुहोस् । जसले आगामी शैक्षिक सत्रमा कुन बाटो अघि बढ्ने भन्ने मार्गनिर्देश गरोस् ।

२. शैक्षिक सत्र २०७६ मा तपाईं अध्यापन गरेको विषयमा किन कुनै वा केही विद्यार्थीले कुनै विषयवस्तु सिक्न सकेन वा सकेनन् । त्यस वा ती विद्यार्थीको आर्थिक, सामाजिक, शैक्षिक, भौगोलिक सबै पक्षको विश्लेषण गर्नुहोस् । उसका वास्तविक समस्या के हुन्, किन उसले वा उनीहरूले अरुले जस्तो सहजै सिक्न सक्दैन वा सक्दैनन् । उसको अघिल्लो कक्षाको सिकाइस्तर के थियो जस्ता विभिन्न पक्षबाट विश्लेषण गर्नुहोस् । यसका आधारमा आगामी शैक्षिक सत्र २०७७ का लागि कार्यमुलक अनुसन्धानको रुपरेखा तयार गुर्नहोस् । सम्भाव्य विकल्पको खोजी गरी योजना निर्माण, त्यसको कार्यान्वयन, अवलोकन र पुनर्योजनाको सम्भाव्य खाकाले तपाईंलाई सिकाइमा देखिएका समस्या समाधानका लागि मार्गनिर्देश गर्नेछ ।

३. शैक्षिक सत्र २०७७ देखि कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदैछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत कक्षा १ देखि १२ सम्मको  पाठ्यक्रम ढाँचा अध्ययन गर्नुहोस् । धेरै शिक्षकले पाठ्यपुस्तक र पाठ्यक्रम एकै हो । फरक हुन्छ र ? भन्नुहुन्छ । यसको बारेमा धारणा प्रष्ट पार्नुहोस् । यो वर्ष मेरो विषय वा कक्षामा लागू हुँदैन भनेर हेलचेक्रयाईं नगर्नुहोस् । शिक्षक सधैं सबै विषयमा अद्यावधिक हुनुपर्छ । शैक्षिक सत्र शैक्षिक सत्र २०७७ बाट कक्षा ११ सञ्चालन गर्दै हुनुहुन्छ भने त्यसको स्वीकृति लिने प्रक्रिया के हो ? कुन कुन विषयमा लिन पाइन्छ ? पहिले जस्तो विज्ञान, मानविकी, शिक्षाजस्ता संकायको लागि निवेदन दिनेकी कक्षा ११ सञ्चालनका लागि दिने ? यसको प्रक्रियाका बारेमा शिक्षक र विद्यालय दुवै अद्यावधिक हुनुपर्दछ ।

४. तपाईंले सिकाउने (पठनपाठन गर्ने) विषयवस्तुको पाठ्योजना, एकाइ योजना, वार्षिक शैक्षणिक योजना र वार्षिक कार्य योजना निर्माण गर्नुहोस् । शिक्षण सुधार योजना (टिचिंग इम्प्रुभमेन्ट प्लान) तयार गर्नुहोस् । यसले तपाईको आगामी शैक्षिक सत्रका लागि चाहिने आवश्यक सामग्री विकास, योजना, अपेक्षित सिकाइ अवस्था, सिकारुको अवस्थालाई विश्लेषण गर्न सहज पुर्याउँछ ।

५. हामी विद्यार्थीलाई यो पढ र त्यो पढ भन्छौं । गृहकार्य गर । त्यो काम गर । त्यो पुस्तक पढ भन्छौं । तर त्यतिबेला आफूचाहिँ सोसल मिडियामा रमाइरहेका हुन्छौ । आफूले नगर्ने तर अर्कालाई गर भन्ने हक हामीमा छैन । हामीसँग पठन संस्कृतिको विकास भएको छैन । प्रचलित कानुन, संविधान, योजना जस्ता विषयमा अद्यावधिक हुनुपर्छ । अरूलाई अर्ति दिन आफू नमुना बन्नु पर्छ । यसका लागि यो अनुपम समय हो । आफ्नो विषयवस्तुका अतिरिक्त जीवन परिवर्तन हुने पुस्तक पढौँ । समाज परिवर्तनका लागि आफ्नो धारण व्यक्त गरौँ । आगामी शैक्षिक सत्रमा विद्यालयका निर्धारित पाठ्यपुस्तक बाहेक अन्य कस्ताकस्ता सन्दर्भ सामग्री अध्यापन गर्न सकिन्छ, सूची तयार गरौँ । पाठबालबालिकामा कसरी पठन संस्कृतिको विकास गर्न सकिन्छ, चिन्तन गरौँ ।

६. शैक्षिक सत्र शुरु हुनसाथ सवै बालबालिकाका हातमा समयमा नै पाठपुस्तक पुग्ने अपेक्षा छ । यसका लागि विद्यालय र सम्बन्धित शिक्षकले त्यसको तयारी कसरी गरेका छौं । स्थानीय पालिकाबाट पाठ्यपुस्तकका लागि रकम उपलब्ध भयो कि, भएको छैन । आफ्ना विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक र सन्दर्भ सामग्रीको के कति चाहिने हो? यसका लागि फोन, इमेलको माध्यम अग्रिम बुकिङ गर्न सकिन्छ । यसका लागि तत्काल तयारी अवस्था रहनुपर्नेछ । शैक्षिक सत्र २०७७ बाट स्थानीय पाठ्यक्रम अनिवार्य गरिएको छ । तपाइको पालिकामा तयार भयो कि छैन? विद्यालयले छुट्टै बनाउने योजना छकि ? यदि पाठ्यक्रम तयार भएको भए अध्ययन सामग्री बनेको छ कि छैन ? यस विषयमा बेलैमा सचेत रहनुपर्नेछ ।

७. अहिले सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी संख्या घट्दो छ । यस अवस्था आगामी शैक्षिक सत्रमा कसरी विद्यालयमा विद्यार्थी संख्या बृद्धि गरी गुणस्तरीय शिक्षा दिने भन्ने योजना तयार हुनुपर्छ । आफ्ना सबै विद्यार्थी सोही विद्यालयमा भर्ना हुन्छन् ? अन्य विद्यालयबाट भर्ना हुन आउने सम्भावना के छ ? विद्यार्थी तान्ने, टिकाउने, सिकाउने र विकाउने योजना के छ ? विद्यालयको क्याचमेन्ट एरियाभित्रको जनसंख्या वृद्धिदर, मृत्युदर, बसाइ सराइको दर के छ ? यस्ता विषयले विद्यार्थी भर्नामा प्रभाव पारेको हुन्छ । यसका लागि विद्यालयले समयमै ठोस योजना तयार गर्नुपर्ने हुन्छ । विविधता व्यवस्थापन गर्नुपर्छ । अभिभावकको सामुदायिक विद्यालयप्रति गुम्दै गएको विश्वासलाई पुनर्जीवित गर्ने योजना तयार गर्नुपर्छ । अभिभावकमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

८. एक्काइसौं शताब्दि सूचना र सञ्चार प्रविधिको युग हो । यसका लागि सबै शिक्षक तयार भइनसकेको अवस्था छ । त्यसैले यस समयमा सूचना तथा प्रविधिको ज्ञान नभएका शिक्षकले स्वयम् शिक्षामा कसरी सूचना र सञ्चार प्रविधिको विकास गर्न सकिन्छ भनी खोज गर्ने, सिक्ने जस्ता प्रवर्धनात्मक कार्य गर्नुपर्छ । आफूले सिकाउने विषयवस्तुको प्रस्तुतीकरण तयार गर्नुपर्छ । यसले आफ्नो दक्षता विकास हुन्छ भने आत्मविश्वास पैदा गर्छ । यसका लागि सरकारको मुख ताक्नु पर्दैन । विश्वमा कहीं पनि मोबाइल चलाउन सिकाउने इन्स्टिच्यूट खुलेको थाहा छैन । इच्छाशक्ति भए सवै सिक्न सकिन्छ ।

९. स्थानीय पालिका, प्रदेश वा संघबाट विद्यालयलाई कुनै प्रकारको अनुदान वा मर्मत संभारको कार्य परेको भए त्यसको प्रगति अवस्था के छ ? कुनै समस्या परेको छ कि छैन ? प्राविधिक लगत इष्टिमेट तयार भएको छ कि छैन ? प्राविधिक अनुगमनको अवस्था के छ ? गत आ.ब. को कार्य भए पेस्की फछ्यौट भयो कि छैन । भुक्तानी लिनु पर्ने रकमको अवस्था के छ ? कुनै निकायबाट नयाँ कार्यक्रम माग भएको छ, कि छैन ? विद्यालयको सामाजिक परीक्षण भयो कि, भएन ? लेखा परीक्षण भयो कि, भएको छैन ? भए केही सच्याउनुपर्ने कुरा औंल्याएको छ कि ? यस्ता संबोधन गर्नुपर्ने विभिन्न विषयमा तत्काल ध्यान पुर्याउनका लागि यो समय उपयोगी समय बनेको छ ।

१०.विद्यालय भनेको शिक्षक, विद्यार्थी र समाजको त्रिकोणात्मक सम्बन्ध भएको संगमस्थल हो । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन लगायतका कार्य गरेको छ कि छैन ? विद्यालयमा अभिभावकलाई आकर्षित गर्ने र मन जित्ने कस्ता कार्यक्रम ल्याउन सकिन्छ ? स्रोत संकलन र परिचालनको मोडिलिटी के होला? विद्यालय सुधार योजना निर्माणमा अभिभावक र सरोकारवालाको कस्तो भूमिका रहन्छ ? विद्यालय सुधार योजना निर्माण गरेर सम्बन्धित पालिकामा पेस गरेको छ कि छैन ? जस्ता विषयमा स्टे होम अवधिमा कार्य गर्न सक्निछ ।

यी प्रतिकात्मक अवस्थामात्र हुन । शिक्षक र विद्यालयले अन्य आवश्यकताअनुसारका कार्यक्रम तर्जुमा, योजना निर्माण, विद्यार्थीसँग नियमित सम्पर्क सूत्र स्थापना, मनोसामाजिक परामर्श, विपत् व्यवस्थापनका लागि समाजलाई सहयोग, कोरोना भाइरसको जोखिमबाट बच्ने उपायको प्रचार प्रसार, संभावित खतरा व्यवस्थापन गर्ने तरिका, स्वस्थ्य रहन गर्नुपर्ने कार्यजस्ता विषयमा समेत यस समयमा शिक्षक र विद्यालयले अहम् भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

(लेखक काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी हुन् ।)