After SEE Portal

चितवनको भरतपुर महानगरपालिकामा महिला पोलिटेक्निक कलेज खोलिने

Bridge Course

चितवन, ८ जेठ (रासस) :प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने भएको छ । 

कलेज सञ्चालनका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ ।

महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताउनुभयो । प्रमुख र उपप्रमुख महिला भएको महानगरपालिकाले यस कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । 

सिटिइभिटीका योजना महाशाखा निर्देशक रमेश बखतीका अनुसार महानगरपालिकाले समन्वय गरिरहेकाले आउँदो शैक्षिक सत्रबाट दुई वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

सो स्थानमा रहेको सरकारी विद्यालयमा नयाँ भवन बन्दै गरेको छ । 

पहिलो वर्षका लागि सोही विद्यालयको भवन प्रयोग गर्न सकिने महानगरले जनाएकाले त्यही ठाउँमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । पहिलो वर्ष होटल व्यवस्थापन र फार्मेसी विषयको पढाइ शुरु गर्ने योजना बनाइएको छ ।

कार्यक्रम सञ्चालनका लागि सरकारको बजेट वक्तव्यको पर्खाइमा रहेको बखतीले जानकारी दिनुभयो । खाली जग्गाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी शिक्षा मन्त्रालयमार्फत् बजेटका लागि अर्थमन्त्रालयमा पठाइने बताइएको छ । 

सिटिइभिटीले देशका छवटै महानगरपालिकामा महिला पोलिटेक्निक स्थापना गर्ने योजना बनाएको छ । आउँदो शैक्षिक सत्रबाट भने भरतपुर, पोखरा र विराटनगरमा मात्र कार्यक्रम शुरु गर्ने तयारी गरिएको बखतीले बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books