Thuprai - Books and E-books
Scholarship edusanjal

किन पिट्छन् शिक्षकले विद्यार्थी ?

Admission edusanjal

बेलाबखत संसारभरबाट शिक्षकले विद्यार्थीलाइ पिटेका घटनाहरू सार्वजनिक भइरहन्छन् । यसले के देखाउँछ भने विश्वभरि बालबालिका विद्यालयबाट सिकाइ संगै पिटाइ खाएर घर फर्कन बाध्यछन् ।  युनिसेफले जारी गरेको रिपोर्ट अनुसार संसारभर १३ देखि १५ वर्ष उमेर समूहका करिब आधा अर्थात् १५ करोड बालबालिका हिंसाको अनुभव गर्छन् । सिकाइका विभिन्न माध्यमहरू भएतापनि अझैपनि विद्यालयमा शारीरिक एवम् मानसिक सजाय दिने समस्या छ ।

नेपालमा पनि विभिन्न विद्यालयमा शिक्षकले विद्यार्थीलाई दिएका शारीरिक तथा मानसिक यातनाका कारण बालबालिकाहरू विद्यालय नै जानै छाडेका घटना प्रशस्तै भेटिन्छन् । सामान्यतया विद्यार्थीहरू कहिले गृहकार्य नगरेको निहुँमा, हल्ला गरेको, चकचक गरेको, समयमै उपस्थिति नभएको जस्ता विभिन्न बाहानामा पिटाइ खान बाध्य छन् । युनिसेफको रिपोर्ट अनुसार नेपालमा १ देखि १४ वर्ष उमेर समूहका १० मध्ये ८ बच्चाहरू अर्थात् ८० प्रतिशत बच्चाहरू शारीरिक एवम् मानसिक हिंसा भोग्न बाध्यछन् ।

गत असार महिनामा कन्चनपुर भीमदत्त नगरपालिकाका छात्र माधव कलौनीको शिक्षकबाट भएको कुटपिटले मृत्यु भएको थियो । केही दिन अघिमात्र सम्मरी माइ ज्ञानदीप बोडिङ स्कुलका महम्मद तौफिक देवानलाई कापि लान बिर्सिएपछि शिक्षकले लौरोले जथाभावी हिर्काउँदा उनको आँखा सुन्निएको थियो । त्यसपछिका कयौं दिन देवान स्कुल जानै डराएका थिए । त्यस्तै साउन महिनामा कन्चनपुरकै विद्यार्थी सुरज लेखकले आत्महत्या गरेका थिए । सुसाइड नोटमा उनले आफू मर्नुका कारण प्लसटु कोर्डिनेटर हुन् भनेर लेखेका थिए । यी त प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटना बारम्बार सञ्चार माध्यममा आइरहन्छन् । अझ कतिपय स्कुल तथा कलेजहरूले आफ्ना विद्यार्थीहरूलाई तह लगाउन ‘बाउन्सर’ समेत राखेका हुन्छन् ।

के भन्छ कानुन ?

सन् २०१८ मा पारित बाल ऐन अनुसार बच्चाहरू माथि घर, विद्यालय वा अन्य स्थानमा कुनै पनि किसिमको शारीरिक सजाय दिन कानुनतः बन्देज छ । यस्तो कानुन बनाउने नेपाल दक्षिण एसियाको पहिलो देश हो भने विश्वको ५४ औं देश हो । संयुक्त राष्ट्र संघको बालअधिकार घोषणापत्रको धारा १९ बमोजिम बालबालिकामा अन्य मानिस जस्तै सबै प्रकारका शारीरिक तथा मानसिक हिंसाबाट जोगाउनु पर्ने कुरा उल्लेख छ । यसको तात्पर्य शिक्षक शिक्षिकाहरूले शारीरिक सजायको सट्टा अन्य अनुशासनात्मक अभ्यासहरू अपनाउन आवश्यक छ ।

किन पिटिन्छन् विद्यार्थी ?

१. पिट्नैपर्छ भन्ने मानसिकता :

विद्यार्थीलाई डर त्रास देखाइ नियन्त्रण गरेर मात्र सिकाउन सकिन्छ भन्ने गलत मान्यताले गर्दा विद्यार्थीले पिटाइ खान्छन् । शारीरिक सजाय तथा कुटपिटले कुनै पनि दुर्व्यवहार नरोक्ने एवम् राम्रो खालको व्यवहार प्रोत्साहित नगर्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । अझै शारीरिक यातनाले त विद्यार्थीमा मनोवैज्ञानिक असर पुर्‍याउने हुँदा विद्यार्थीलाई कुट्नु घातक हुन सक्छ ।

२. पेसासँग वितृष्णा :

राज्यले प्रदान गर्ने सेवासुविधा, पेसा प्रतिको सामाजिक दृष्टिकोण तथा आन्तरिक तनावको व्यवस्थापन गर्न नसकी शिक्षकहरूमा पेसा प्रति वितृष्णा उत्पन्न हुने गरेको छ । त्यसैले शिक्षकले आफूप्रति हीनता बोध गरी सो वितृष्ण विद्यार्थीमा पोख्नेहुँदा विद्यार्थी पिटाइ खान बाध्य हुन्छन् ।

३. शिक्षकको मनोवैज्ञानिक अवस्था :

एजुकेसन सपोट ग्रुप युकेका अनुसार बेलायतमा करिब ७८ प्रतिशत शिक्षक, कमर्चारीहरूले शारीरिक तथा मानसिक समस्याबाट ग्रसित हुन्छन् । कार्यक्षेत्रमा उत्पन्न तनावका कारण आधा जस्तो पेसाबाट नै पलायन हुन्छन् । नेपालमा पनि शिक्षकले आन्तरिक तनाव, द्वन्द्व व्यवस्थापन आदि गर्न नसकेपछि विद्यार्थीमाथि रिस पोख्न पिट्ने गर्छन् भने कतिपयले अहंकारका कारण विद्यार्थी पिट्न गरेको पाइन्छ ।सेवासुविधाको अभाव, शिक्षकलाई हेर्ने सामाजिक दृष्टिकोण, रुचि अनुसारको पेशा नहुनु, राज्यले उपयुक्त व्यवस्थापन गर्न नसक्नु, पेशागत प्रशिक्षणमा मानसिक सु-स्वास्थ र मानसिक स्वास्थ साक्षरतालाई नसमेटनुजस्ता कारणले शिक्षकहरूमा मानसिक समस्या उतपन्न हुने एसिया प्यासिफिक स्कुल साइकोलोजी एसोसिएसनका नेपाल प्रतिनिधि डा.नरेन्द्रसिंह ठगुन्ना बताउँछन् ।

४. अन्य अनुशासनात्मक विकल्पबारे ज्ञानको अभाव :

धेरै जस्तो शिक्षकलाई विद्यार्थीलाई शारीरिक तथा मानसिक यातनाबाट उत्पन्न हुने समस्याका बारेमा जानकार छैनन् । यातनाभन्दा विद्यार्थीलाई माया, ममता र अनुशासनात्मक कारवाहीले सही मार्गप्रर्दशन गर्छ भन्ने कुरामा अनविज्ञ छन् । त्यसैले आफ्नो शक्ति प्रदर्शन गर्न विद्यार्थीलाई पिट्छन् । अन्य अनुशासनात्मक विकल्प पिटाइभन्दा ज्यादा प्रभावकारी हुने अधिकांस विज्ञहरुको मत छ । 

५. पिटाइबाट हुने नकारात्मक समस्याबारे अज्ञानता :

शारीरिक तथा मानसिक यातनाबाट शारीरिक, मानसिक एवम् सामाजिक विकासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा बालबालिकाका दीर्घकालीन स्वस्थ्यमा असर पर्न जान्छ भन्ने कुृरामा शिक्षक अनविज्ञ छन्  । फलस्वरूप सिकाइ उपलब्धीमा समेत असर पर्न जान्छ । विद्यार्थी डिप्रेसनको सिकार हुने, एक्लै बस्न रुचाउने, विद्यालय जान नमान्ने, स्मरणशक्ति कमजोर हुने जस्ता नकारात्मक प्रभाव पर्दछ ।

६. बालमनोविज्ञानबारे अनविज्ञता:

बालबालिकाहरूको शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक आदि पक्षको अध्ययन नै नगरी शिक्षकले प्रशासकको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेका पाइन्छन् । बालबालिकाका अवस्था र आवश्यकताअनुसार सामूहिक तथा व्यक्तिगत शिक्षणसिकाइ गर्नुको सट्टा आफ्नो अंहकार लाद्न खोज्दा विद्यार्थी कुटिने गरेका छन् ।

अनुशासनात्मक नियमहरू बनाउने, उचित परामर्श दिने जस्ता कुराहरू पिटाइभन्दा ज्यादा प्रभावकारी हुने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा शिक्षक यी विषयमा जानकार हुँदाहुँदै पनि विद्यार्थीलाई मानसिक तथा शारीरिक यातना दिने गर्छन् ।कलिला बालबालिकाको रूचि, इच्छा र क्षमताअनुसार शिक्षण प्रक्रिया अपनाइ बालमैत्री वातावरण सिर्जना गरी शिक्षण / सिकाइ गर्नु आज को युग को आवश्यकता हो ।

Courses edusanjal
Select college / campus
Schools edusanjal