सुत्न लाग्दा केपी ओलीले ढोका ढकढक्याए

पढ्नुभन्दा स्कुले विद्यार्थीको संस्थाहरुमा रहेर काम गर्न रुचाउने पाटन इलाछेंका कमलकृष्ण जोशीले २०१२ सालमा एसएलसी परीक्षामा असफलता देखे । पूरक परीक्षामा सम्मिलित भए, फेरी असफलता । अर्को वर्ष उत्तीर्ण भए तर तेस्रो श्रेणीमा । जोशीका चार भाइ । दुवै दाइले मानविकी पढेको देखेपछि आमाले ‘तिमीहरु सबैले आर्ट्स पढ्ने भयौ, कोही साइन्स पढ्ने भएनौँ’ भनेपछि त्यही इखले कमलकृष्ण त्रिचन्द्र कलेजमा पुगे । एसएलसी परीक्षामा ऐच्छिक गणित नलिएकाले विज्ञान पढ्न नपाउने जवाफपछि निरास बने । त्यसै वर्ष अमृतलाल प्रधानले विज्ञान कलेज सञ्चालन गरे । कमलकृष्णले आवेदन दिए । नाम निस्कियो । अनिवार्य गणितमा निकै कमजोर । नाम त निस्कियो, तर पढ्न सक्ने हिम्मत थिएन । आमाको चाहना पूरा गर्न भए पनि विज्ञान विषय अध्ययनका लागि हौसिएका थिए । ठिक त्यसै बखत तत्कालीन सरकारका विरुद्ध आन्दोलन सुरु भयो । मंगलबजारमा कार्यक्रम हुन्थ्यो । पालैपालो सत्याग्रहमा बस्नुपर्ने नियम बनाइएको थियो । पर्सी परीक्षा छ, आज उनको पालो पर्‍यो । सत्याग्रहमा बसेकै बखत प्रहरीले समाएर लग्यो । गोकर्णमा लगेर छोडिदियो । हिँड्दै घर आइपुगे । सत्याग्रह कारण निस्कियो, उनी आईएस्सीमा अनुत्तीर्ण भए । भौतिकशास्त्र ठ्याम्मै नबुझ्ने । जति पढे पनि अनुत्तीर्ण । तेस्रोपटकमा मुस्किलले उत्तीर्ण भए । आईएस्सीमा पनि तेस्रो दर्जामा उत्तीर्ण भए । 

“अब त राम्ररी पढ्नुपर्छ भनेर त्रिचन्द्र कलेजमा बीएस्सीमा भर्ना भए । जीवशास्त्रमा भर्ना भए” ८० वर्ष पुगेका कमलकृष्णले भने, “एसएलसीमा अब संस्कृत पढ्नु परेन भनेर निकै खुशी भएको थिए । त्यस्तै खुशी आईएस्सी पास हुँदा भए किनकी अबदेखि फिजिक्स पढ्नु परेन भन्ने लाग्यो ।”

बीएस्सीमा मिहिनेत गरिरहेकै थिए उनी । विद्यार्थी युनियनको अध्यक्ष पनि बनिसकेका थिए । २०१७ सालको घटना वाधक बन्न पुग्यो । पुस १ गते तत्कालीन राजा महेन्द्रको कदमपछि सबै भागाभागको स्थिति बन्यो । घरको तल्लो कोठामा बसेर रेडियो सुनिरहेका उनका कानमा विद्यार्थी युनियनमाथि प्रतिवन्ध लगाइएको समाचार सुने । पुस २२ गतेको घटना थियो । “लौ, अब मलाई समाउन आउलान् भन्ने लाग्यो । किनकी म युनियनको अध्यक्ष थिए । यही सोचिरहेको थिए” उनले थपे, “समाचार सकिन पाएको थिएन गेटमा पुलिस । पुलिसलाई मलाई पक्राउ गर्न वारेन्टी छ भनेर सोधे । एउटा पुलिस मंगलबजारमा पुगेर डीएसपीलाई बोलाएर ल्यायो । मलाई लिएर गए ।”

सुरुमा मंगलबजारमा राखे । राती तत्कालीन अञ्चलाधीस विष्णुमणि कहाँ लगे । मजिष्ट्रेट अफिस । उनका छोरा अच्युतमणि मेरो बीएस्सी पढ्दाको साथी । विष्णुमणिले मलाई बोलाएर यो मान्छे मेरो छोराको साथी, मेरो छोरा भोलि शैक्षिक भ्रमणका लागि भारत जाँदैछ, यो चाँहि जेल जाँदैछ भने । न्यूरोडमा पर्चा किन छरेको भनेर सोधे । मेरो घर पाटन हो, मैले पर्चा छरेको होइन र त्यस बारेमा थाहा छैन भने । तेरो घर पाटन हो भने ल सिद्धीलाल कहाँ छ भन् भने । तपाईँको सीआईडीहरुलाई थाहा हुनुपर्ने भनेपछि मलाई गालामा थप्पड हाने । माथि लैजाउ भने उनले ।” हनुमानढोका लिएर जानुलाई माथि लैजानु भन्ने बुझिन्थ्यो । भोलिपल्ट शनिबार थियो । पर्सीपल्ट जेल चलान गरे । भद्रगोल जेलमा डेढ महिनासम्म राखे । 

डा. तुल्सी गिरी त्यही जेलमै थिए । उनले दिनदिनै महेन्द्रलाई धूप बालेर बस्थे । सुराकीले यो कुरा पक्कै राजाकहाँ पुर्‍याए । केही दिनमा उनी बाहिरिए । पछि त मन्त्री नै बने । तुल्सी र कमलकृष्ण जेलको एउटै घरमा बस्थे, कोठा अलि फरक ठाँउमा । “उनले महेन्द्रको फोटो राख्थे । धूप बालेर नमस्ते गरेर बस्थे । त्यो कुरा दरबारमा पुग्यो । उनी त रिहा भइहाले” उनले भने । जेलमा मार्सलजुलुम शाक्य पनि थिए । दिनदिनै बेलुका संगीत सम्मेलन हुन्थ्यो । कमलकृष्णले गीत गाउँथे । डकैती र ज्यान मुद्दाका अपराधीहरुले ढोलक बजाउँथे भने राजनीतिक बन्दीहरुले गाउँथे । कमलराज रेग्मीले लेखेको र अन्य हिन्दी क्रान्तिकारी गीत गाइन्थे । श्याम, मार्सल आदि कैदीले भारतीय चलचित्रका प्रेम गीत गाउँथे । ज्यानमारा कैदीहरुले भने त्यस्तो गीत रुचाउँदैन थिए । 

एक वर्ष पढाइ रोक्दा राम्रो हुन्छ भन्ने भएपछि उनले त्यस वर्ष परीक्षा नै दिएनन् । अर्को वर्ष पुनः भर्ना हुन जाँदा प्रिन्सिपलले मानेनन् । यो मानिस ‘ट्रबल मेकर’ हो भनेर भर्ना नै लिन चाहेनन् । बल्लतल्ल भर्ना पाए । विद्यार्थी युनियन खारेज भइसके पनि बेलाबखत उनलाई समाउने र बयान लिएर छाड्ने काम जारी नै रह्यो । बीएस्सीमा ५८ प्रतिशत ल्याएर उत्तीर्ण भए, जुन उनका लागि चमत्कारिक नतिजा थियो । 

त्यसबेलासम्म नेपालमा एमएस्सीको पठनपाठन भइसकेको थिएन । पाटनका लक्ष्मीलाल श्रेष्ठ उद्योग विभागको निर्देशक थिए । उनले सुगर टेक्नोलोजी पढ्ने भए वीरगन्ज चिनी कारखानामा एक, दुई वर्ष काम गर्नू भने । लोभिएर काम गर्न गए । दुई सिजन काम गरे । सुगर टेक्नोलोजीका लागि छात्रवृत्ति कोटा आयो, तर त्यसमा गणित पढेको हुनुपर्ने उल्लेख थियो । तर त्यससँगै अल्कोहोल टेक्नोलोजीको छात्रवृत्ति कोटा पनि आयो । त्यसमा जीवशास्त्र पढेकाले पनि पाउँथे । ठिक त्यसैबेला नेपालमा एमएस्सीको पढाइ सुरु हुने भयो । “बोटनी र केमेस्ट्रीमा अप्लाइ गरिदिनु भनेर भाइलाई अह्राएको थिए । दुवैमा नाम निस्कियो । मैले केमेस्ट्री मेरो प्राथमिकता हो भनेको थिए तर भाइले बोटनीमा भर्ना गरेर आइदिए । अल्कोहोल टेक्नोलोजी नपढ्ने निर्णयका साथ त्रिचन्द्रमा एमएस्सी पढ्न थाले” उनले स्मरण गरे । 

त्यसबीचमा लोक सेवा आयोगमा जाँच दिए । उत्तीर्ण भए तर सिफारिस भएनन् । बुझ्न जाँदा ‘तिम्रो पुलिस रिपोर्ट खराब छ’ भन्ने जवाफ पाए । अस्थायी छ महिना काम गर्दा पुलिस रिपोर्ट नचाहिने तर स्थायी हुन चाहिने भनेर कराए । सरकारी सेवा बन्द नै भयो । परिवार नियोजन सङ्घमा सम्पादकको विज्ञापन मागियो । नियोजन पत्रिकाका लागि । त्यसमा उनी छनोट भए । त्यहाँ काम गर्दै जाँदा कर्नाटक विश्वविद्यालयमा विद्यावारिधि गर्न गए । साइट्रो जेनेटिक्समा विद्यावारिधि गरे । त्रिभुवन विश्वविद्यालयको कोर्समा त्यो विषय रहेको तर पढाउने मानिस कोही थिएन । विभागीय प्रमुख दयानन्द बज्राचार्यलाई समस्या पर्‍यो । कमलकृष्णलाई बोलाए । परिवार नियोजनको राम्रै जागिर छाडेर उनी त्रिविमा आवद्ध भए ।

प्रजातन्त्र प्राप्ति भएपछि उनी ललितपुरमा मेयरको उम्मेदवार पनि भए । जागिर छोडेर मात्र उम्मेदवार हुन पाउने कही व्यवस्था थिएन । त्यो बेला अदालतले फैसला हुँदा अहिलेलाई जागिर नछोडेर पनि निर्वाचनमा सहभागी हुन पाउने आदेश जारी गर्यो । त्यो फैसला टेकेर उनी उम्मेदवार भएका थिए । 

उनी उम्मेदवार बन्दा पनि रमाइलो प्रसङ्ग छ । पाटनका कम्युनिष्टहरुलाई कमलकृष्णलाई मेयरमा उठाउन पाए पक्कै जितिन्छ भन्ने लागेछ । राती १० बज्दै थियो, कमलकृष्ण सुत्ने तयारी गर्दै थिए केपी ओली र माधव पौडेलले घरको ढोका ढकढक्याए । ‘ल तपाईँ पार्टीको तर्फबाट मेयरमा उठ्नुपर्यो’ भन्न थाले । आफू पार्टीको सदस्य पनि नभएकाले किन उठ्ने भनेर उनले जवाफ दिए । दुवैले ‘सदस्य हुनुपर्दैन तपाईँ उठ्नुस् हामी सहयोग गर्छौँ’ भन्न थाले । “म मास पोलिटिक्समा जान इच्छुक मानिस होइन भन्दा तपाईँले हुन्छ नभन्दासम्म हामी यहाँबाट उठ्दैनौ भन्न थाल्नुभयाे । राती १२ बज्न थाल्यो उहाँहरू गएकै होइन । उहाँहरु जाने जस्तो छैन भन्ने लाग्यो । प्रचार प्रसारका लागि समय पनि छैन, त्यसैले जित्न सकिन्न कि भन्ने लागिरह्यो” कमलकृष्णले सुनाए, “१५ दिनको अवधि बाँकी थियो । जित्न कठिन होला भन्ने लाग्यो । उहाँहरु जाँदै नगएपछि राती साढे १२ बजेतिर हुन्छ भने । उहाँहरु दङ परेर जानुभयाे । नोमिनेसनका दिन मानिसहरुको भीड देख्दा जितिन्छ भन्ने लागेको थियो, तर पाटनका ठूला नेताहरुको अन्तर्घातले दुई हजारको अन्तरले पराजय भोगे ।” 

२०५१ सालमा नेकपा एमालेको सरकार बन्यो । त्रिविका तत्कालीन उपकुलपति केदारभक्त माथेमा प्रधानमन्त्री मनमोहन अधिकारीलाई भेट्न गए । मनमोहनले ‘तपाईँलाई हटाउने हामीहरुको कुनै विचार छैन’ भनेपछि फर्किए । पछि पार्टीको दवाव आयो । फेरी बोलाएर राजीनामा दिनुपर्ने भयो भनेपछि राजीनामा दिए । 

त्यसपछि कमलकृष्णलाई उपकुलपति बनाइयो । त्रिविको त्यसबेलासम्मको इतिहासमा उपकुलपति कि दरबारका वा काङ्ग्रेस समर्थित थिए । प्रगतिशीलतर्फका पहिलो उपकुलपति बन्ने अवसर पाए कमलकृष्णले । नौ महिनामा सरकार ढलेपछि गोविन्दराज जोशी शिक्षामन्त्री बने । मन्त्रीले सहयोग गर्नुपर्यो भने । पदबाट राजीनामा दिएर सहयोग गर्न भने । “विश्वविद्यालयको स्वायत्तताका लागि सङ्घर्ष गरिरहेकोले शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो भन्नासाथ भीसीले राजीनामा दिनु भनेको स्वायत्तता होइन, बरु त्यो त शिक्षामन्त्रीलाई बुझाउने हुन्छ त्यसैले मलाई हटाइदिनुस् भने । शिक्षामन्त्रीले राजीनामा माग्नु विश्वविद्यालयमाथि हस्तक्षेप भएको ठहरिन्छ भने । स्वायत्तताको चिन्ता हो, म राजीनामा दिन्न भने । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मलाई हटाउन एउटा कमिटी गठन भयो । उनीहरु राजा वीरेन्द्र कहाँ गए । राजाले हुन्छ हटाइदिन्छु तर मलाई यो कारणले हटाउनु परेको हो भन्ने चिठ्ठी दिनू भन्ने जवाफ दिए । कारण त फेला परेन” उनले भने, “त्रिवि दिवसमा राजा आउने चलन थियो । कोठामा बसेर चिया खाएर कुराकानी हुन्थ्यो । काम धेरै गर्न सकिन्थ्यो तर गर्ने वातावरण छैन भने । हरेक काममा विरोध गर्ने चलनमात्र भयो भने । तिमी अगाडि बढ भने । तर मसँग गिरिजाप्रसाद वा देउवाले राजीनामा मागेनन् ।”