काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित अरुणोदय माध्यमिक विद्यालयका शिक्षकले आज पठाउनुभएको यो तितो वास्तविकताः
हरेक दिन झैँ तेस्रो कक्षाको घन्टी बज्यो । म आफ्नो नित्य कर्मका लागि कक्षाकोठामा पसेँ । विद्यार्थीलाई सम्मान स्वरुप नमस्कार गरेँ। उनीहरुले पनि उत्साहपूर्वक नमस्कार फिर्ता गरे। मेरो आँखा अन्तिम पछिल्लो बेञ्चमा टाउको निहुराएर बसिरहेकी एकजना नानीतिर पुगेँ । सबै विद्यार्थीलाई बस्नको लागि इशारा गर्दै म सरासर अन्तिम बेञ्चमा पुगेँ र उनलाई बिस्तारै बोलाएँ । उनी रोइरहेकि रहिछन् । रुनुको कारण सोधेँ । उनले बताउन चाहिनन् । मैले बाहिर गएर मुख धोएर आउन अनुरोध गरेँ । उनले त्यसै गरिन् ।
कक्षा क्रियाकलापतिर लागेँ । बेलाबेलामा मेरो नजर उनीतिर परिरहेकै थियो । उनको आँखामा आँसु टिलपिलाई रहेका थिए । म भावुक हुँदै नियालिरहेको थिएँ । आफ्नो घन्टी सकिएर बाहिर निस्कने बेलामा मैले उनलाई फेरि भेट्नको लागि भनेँ र म बाहिरिएँ । बालबालिकाको खाजाको समय थियो । म अफिसमै थिएँ । उनै नानी र उनको एकजना साथी आए र मलाई बाहिर आउन अनुरोध गरे। म बाहिर आएँ । हामी एउटा खाली कोठामा बस्यौँ । उनले मलाई धुरुधुरु रुदैँ आफ्नो सम्पूर्ण व्यक्तिगत, पारिवारिक अवस्था र काठमाडौँको बसाइँबारे बताइन् । म एकैछिन केही बोल्न सकिन । कक्षा ९ बाट १० मा पुग्दा विद्यालयमा तिर्नुपर्ने विद्यालय सहयोग शुल्क (वार्षिक शुल्क चार हजार पाँच सय रुपियाँ) नतिरेको कारण वैशाखदेखि उनको हाजिरी कापीमा नाम लेखिएको रहेनछ । उनीसँग त्यो सहयोग शुल्क तिर्न सक्ने अवस्था पनि रहेनछ । सहयोग शुल्कको रुपमा तिर्नुपर्ने त्यो रकम नतिरेसम्म उनको दैनिक उपस्थिति हाजिरि नहुने रहेछ ।
म एकैछिन स्तब्ध भएँ । एकैछिनपछि प्रधानाध्यापकलाई सम्बोधन गरेर एउटा निवेदन लेख्न लगाएँ र त्यस निवेदन लेखाशाखामा दिनको लागि भने । उनले त्यस निवेदन लिएर जाँदा लेखाशाखामा म पनि सँगै गएँ र निःशुल्क फाइलमा त्यस निवेदन राख्दै लेखा कर्मचारीले प्रधानाध्यापकसँग कुरा गरेर मात्र विद्यालय रेकर्ड र हाजिरी कापीमा नाम चढाउन मिल्ने कुरा बताउनुभयो । म प्रधानाध्यापकको पर्खाइमा रहेँ । केही क्षणपछि प्रधानाध्यापक आउनुभयो । उनै नानीको बारेमा कुरा गरेँ । उहाँले सहजै दुई चार जनालाई त निःशुल्क गर्न सकिन्छ होला भनेर जवाफ दिनुभयो । प्रधानाध्यापकसँग केही सवाल जवाफ गर्न मन लागेन । मन भारि भएर आयो । उनको नाम विद्यालयको भर्ना रेकर्डमा चढाइ त्यहाँबाट बाहिरिएँ ।
मनमनै सोचेँ संविधानमै लिखित रहेको सामुदायिक विद्यालयको माध्यमिक तहसम्मको निःशुल्क शिक्षा हराएको अनुभूति गरेँ । व्यवहारमा अझ पनि अप्रत्यक्ष वा घुमाउरो पारामा लिने गरिएको यस्ता शुल्क र त्यही शुल्क तिर्न नसकेर दिनभरि विद्यालयमा सयौँ साथीहरुको अगाडि लज्जित भएर रोएकी ती नानीको अनुहार झलझलि आँखामा आइरह्यो । आफू माध्यमिक तहको शिक्षक, पेशागत सङ्घमा आबद्ध शिक्षक भएर पनि विद्यालयमा बालबालिकाले निःशुल्क पाउनुपर्ने अधिकारको लागि आवाज उठाउन नसकेकोमा आफैँलाई आत्मग्लानि भएर आयो । आफैँलाई बेस्सरी मनमनै गाली गर्न मन लाग्यो । मनमनै "यस समस्याको समाधान कहिले होला ? निःशुल्क भनिएको शिक्षा व्यवहारमा साँच्चिकै कहिले निःशुल्क होला ?" भनेर सोचिरहेँ ।