परीक्षा पछि १२ कक्षाका विद्यार्थी के गर्दै छन् ?

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ निवासी अप्सरा काफ्ले काठमाडौंको शान्तिनगरस्थित एक निजी क्याम्पसमा कक्षा १२ मा पढछिन् । उनले भर्खरै कक्षा १२ को परीक्षा स्थानीय विद्यालयबाट सेन्टर परिवर्तन गरेर दिइन् । तत्काल नतिजा प्रकाशन हुनेमा उनी विश्वस्त थिइन् । उनी अहिले परीक्षामा आफ्नो मेहनत अनुसारको नतिजा प्राप्त नहोलाकी भन्ने चिन्तामा परेकी छिन् । ‘परीक्षा त गाउँबाटै दिए तर कापी परीक्षण कसले गर्छ ?’ उनी थप्छिन्, ‘मैले त लामो समय विद्यालय जान नपाउँदा पढ्ने बानी छुटेका कारण नेपालीको व्याकरण र सामान्य फर्मुला समेत विर्सिएछु, अब त पहिला जस्तो नतिजा ल्याउन सक्दिन होला । परीक्षा यसरी नै गर्ने भए त पहिल्यै गरिदिएको भए हुन्थ्यो ।’

१२ कक्षापछि होटल म्यानेजमेन्ट पढ्न विदेश जाने सपना बोकेकी उनी आफ्नो सपना अधुरै रहनेमा आशंकित छिन् । उनी जस्तै कोरोनाको ट्याग लागेर राम्रै नम्बर ल्याए पनि पछि विश्वास पो नहुने हो कि भन्ने चिन्तामा छिन् सुनसरी इनरुवाकी गरिमा कार्की । उनको पनि स्नातकपछि उच्च शिक्षाका लागि विदेश जाने लक्ष्य छ । आफ्नो लक्ष्यलाई कोरोनाका कारण प्रश्न चिन्ह उठ्ने हो कि भन्ने चिन्तामा छिन् ।

अनलाइनको पहुँचमा भएका विद्यार्थी मात्र होइन दुर्गम तथा दुर दराजका विद्यार्थी पनि लामो समय परीक्षा हुन्छ हुँदैन भन्ने दोधारका कारण पढाइ छुटेर आफ्नो सही मूल्याङ्कन नहुनेमा चिन्तित छन् । ताप्लेजुङ फुङ्लिनकी परीक्षार्थी माला लिम्बु भन्छिन्, ‘मलाई जसरी हुन्छ डाक्टर बन्नु छ तर कोरोनाका कारण असर पो पर्ने हो की ?’

यी त प्रतिनिधि विद्यार्थी मात्र हुन् । अहिले कक्षा १२ को परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका कूल ४ लाख १५ हजार २५२ परीक्षार्थी नै आफ्नो भविष्यको बारेमा चिन्तित भएको अभिभावकहरु बताउँछन् ।

‘मेरो छोरोले परीक्षापछि राम्ररी खाना समेत खाएको छैन । परीक्षा अघि जहिल्यै मोवाइलमा गेम खेलेर बस्यो, पहिले जस्तै होलाकी भनेर परीक्षा तयारी नगरेका कारण ऊ आफैं चिन्तामा डुबेको छ ।’ भक्तपुर निवासी मधु मण्डल भन्छिन्, ‘१२ पछि विदेशह जान्छु भन्दै बसेको थियो परीक्षा सोचे जस्तो नभएका कारण सुर्ताएको छ ।’

नतिजा कहिले प्रकाशन हुन्छ ?

परीक्षा सकिए लगतै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरी ५ दिन भित्र राष्ट्रिय परीक्षा बोर्डमा परीक्षण विवरण पठाउनु पर्ने व्यवस्था माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२० को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७ले गरेको छ । तर अहिलेसम्म सबै विद्यालयमा उत्तर कुञ्जिका पुगिसकेको छैन । परीक्षाको विश्वव्यापी मान्यता अनुरुप परीक्षणमा विश्वसनीयत, वैद्यता र एकरुपता कायम गर्न उत्तर कुञ्जिका निर्माण गर्ने गरिने भए पनि समयमा नै सबै विषयको उत्तर कुञ्जिका विद्यालयमा पुग्न नसक्दा नतिजा बोर्डमा पठाउन केही दिन लाग्ने शिक्षकहरु बताउँछन् ।

विगतको परीक्षण पद्धतिभन्दा विपरीत यस पटक प्रत्येक विद्यालयका सम्बन्धित शिक्षकबाटै कापी परीक्षण हुने व्यवस्था अनुसार नतिजा प्रकाशनमा ढिलाइ हुन सक्ने कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द सोदेम्बा बताउँछन् ।

मंसिर ९ देखि १६ गते मंगलबार सम्म कक्षा १२ को परीक्षा सञ्चालन गरिएको थियो । बोर्डका अनुसार आगामी २२ गते भित्र परीक्षण गरेको कापी बोर्डमा पठाउनु पर्ने छ । बोर्डले प्राविधिक समस्या नदेखिएमा आगामी पुस १५ गते भित्र नतिजा प्रकाशन हुने जानकारी दियो ।