After SEE Portal

बन्दाबन्दीमा अपाङ्गता भएका बालबालिकालाई के र कसरी सिकाउने ?

Bridge Course

लकडाउनको लम्बाइमा अपाङ्गता भएका बालबालिका  

कोरोना भाइरसको प्रकोपबाट उत्पन्न विश्वव्यापी महामारी र सम्भावित क्षतिबाट बच्न विभिन्न देशले अपनाएको लकडाउन मानव इतिहासमै कष्टकर घटना हुन् । कोभिड १९ संक्रमण भएको व्यक्ति र निजले प्रयोग गरेको वस्तुको सम्पर्कमा आउनासाथ जुनसुकै लिङ्ग, उमेर र अवस्थाका मानिसलाई सजिलै सर्ने भएकोले अपाङ्गता भएका साना बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा हरेक अभिभावक चिन्तित छन् । अपाङ्गता भएका बालबालिकालाई कोरोनाको कथा सुनाउँदै सम्भावित संक्रमणबाट जोगाउने र लामो लकडाउनको समयलाई सार्थक बनाउने काम चुनौतिपूर्ण छ । 

अपाङ्गताभित्र दृष्टिविहीन, सुस्त श्रवण वा बहिरा, शारीरिक वा बौद्धिक अपाङ्गता, अटिज्म र गम्भिर प्रकृतिको अपाङ्गता जस्ता विभिन्नता हुने भएकाले सबै बालबालिकालाई संकटको अवस्थामा गरिने व्यवहार एकैनाशको हुन सक्दैन । एकै प्रकारको अपाङ्गतामा पनि यसको जटिलताको मात्रामा हुने विविधताका कारण जीवनलाई सहज बनाउन एउटै उपायले काम गर्दैन । साङ्ग बालबालिकालाई पनि महिनौसम्म घरभित्र बसाउन विभिन्न कार्यक्रमले व्यस्त बनाउनुपर्ने हुन्छ भने अपाङ्गता भएका बालबालिकालाई रोग सर्नबाट जोगाइ खुशी बनाउन विशेष प्रकारका क्रियाकलाप गरिरहनु पर्दछ ।  

जिम्मेवारी कसको ?

दुर्भाग्यवस संकटमा अपाङ्गता भएका बालबालिका आममानिसको वेवास्ताका विषयवस्तु बन्न पुग्छन् । महामारीका वेलामा अपाङ्गता भएका बालबालिकाको सुरक्षा र उनीहरुको सिकाइको निरन्तरताका बारेमा सरकारी, निजी तथा सामुदायिक स्तरबाट निरन्तर छलफल हुनु, कार्यक्रम बन्नु र सामग्रीको विकास गरिनु जरूरी छ भने यसरी बनेका सामग्री र कार्यक्रमको प्रयोग विधिका बारेमा शिक्षण संस्थाले सहजीकरण गर्नुपर्ने हुन्छ । यस कार्यमा मुलतः तीन पक्ष– सरकार, विद्यालय र परिवार वा संरक्षक जोडिन्छन् । यो कार्यमा टाढाका सरकारभन्दा स्थानीय तहका र खास गरी वडाहरुको ठूलो भूमिका हुन्छ । सरकारले आफ्नो भूगोलभित्र कुन प्रकृतिका, कति संख्यामा अपाङ्गता भएका बालबालिका छन् ख्याल राख्नै पर्छ । 

अपाङ्गताको प्रकृति हेरी उनीहरुलाई सम्बोधन गर्ने कार्यक्रम बनाउन आवश्यक पर्ने  स्रोतको व्यवस्था गरिदिनु पर्छ भने कार्यक्रम निर्माण र सामग्री उत्पादनका काममा विद्यालयको भूमिका रहन्छ । एउटा विद्यालयमा धेरै प्रकारका विद्यार्थी हुन्छन् । विद्यालयले सबै विद्यार्थीका साझा विशेषतालाई सम्बोधन गर्ने प्रकारका कार्यक्रम बनाउदा अपाङ्गता भएका बालबालिकालाई विशेष ध्यान पु‍र्याउनु पर्छ । विद्यालयले अभिभावक र सरकारसँग पुलको काम समेत गर्नुपर्छ । लामो लकडाउनको बेलामा अपाङ्गता भएका बालबालिकाको घर परिवारलाई स्थानीय सरकारले र विद्यालयका शिक्षकले बेलाबेला फोन गरेर परामर्श दिँदा अभिभावक पनि खुशी हुने, सरकार र विद्यालय बालबालिकाको तत्कालको अवस्थामा अद्यावधिक हुने र दुई पक्षबीचको अन्तरकृयाले बालबालिकाको सिकाइमा र समय व्यवस्थापनमा नयाँ उपाय पत्ता लाग्दछ । 

विद्यालय बन्द रहेको अवस्थामा अपाङ्गता भएका बालबालिकाको सिकाइको प्रमुख जिम्मेवारी परिवारमा निहित रहन्छ । अभिभावकको समय उपलब्धताका हिसाबले लकडाउनको अवधि अपाङ्गता भएका बालबालिकाका लागि स्वर्णिम समय हो । यो समय गुणस्तरीय हुन सक्यो भने अभिभावक र बालबालिका दुवै लाभान्वित हुन पाउँछन् । यसका लागि अभिभावकले पनि योजना बनाउनै पर्छ । सरकारी वा विद्यालयस्तरमा तयार भएका कार्यक्रम तथा सामग्रीको बालबालिकालाई प्रयोग गरी सिकाउने काम अभिभावकको हो । यस अर्थमा बालबालिकाका अभिभावक नै जिम्मेवार शिक्षक हुन् । त्यसैले अपाङ्गता भएका बालबालिकाका अभिभावक तालिम प्राप्त हुनै पर्छ । सहनशीलता, समय व्यवस्थापन गर्ने कौशलता र सकारात्मक सोच अपाङ्गता भएका बालबालिकाका अभिभावका न्यूनतम गुणहरु हुन् । आफ्ना बालबालिका जस्तासुकै भए पनि उनीहरुसँग रमाउन सके भने मात्र अभिभावक खुशी हुन सक्छन् ।  

कुन विधिको प्रयोग कसरी गर्ने ?  

यस्तो बेलामा अपाङ्गता भएका बालबालिकाका अभिभावक वा संरक्षकलाई सुसूचित गराउन सचेतना सामग्री बनाउने र बालबालिकाको सिकाइमा उपयोगी हुने सामग्रीको खाँचो पर्दछ । विशेष आवश्यकता भएका बालबालिका र तिनका अभिभावकलाई बनाइने सामग्री सरल, छोटा, सकभर एउटा उद्देश्यका लागि एउटै मात्र वनाउनु राम्रो हुन्छ । यी सामग्री अवस्थाअनुसार श्रव्य, दृष्य र श्रव्यदृष्य हुन सक्छन् । रेडियो, टेलिभिजन वा सामाजिक सञ्जालबाट प्रसारण गर्ने सामग्री, तत्काल दोहोरो सञ्चार गर्न सकिने वा नसकिने अनलाइन सामग्री वा आफू वरपर रहेका वस्तु संकलन गरेर बनाउन सकिने ठोस सामग्रीसमेत प्रयोगमा ल्याउन सकिन्छ । कार्टुन लगायत टेलिभिजन कार्यक्रम प्रस्तुत गर्ने हो भने मातृभाषा, साङ्केतिक भाषा र क्याप्सनिङको समेत प्रयोग गर्नुपर्ने हुन्छ । आम अभिभावकले रेडियो सुन्न सक्ने हुँदा रेडियो सामग्री बनाइ हौसला प्रदान गरिरहनु पर्छ । नेपालको सन्दर्भमा सबैतिर इन्टरनेट वा विद्युतीय माध्यमबाट प्राप्त हुने सामग्री व्यवहारिक नहुने भएकोले कार्यक्रममा विविधता हुनु पर्छ ।  

पाठ्यपुस्तकका ज्ञान मात्र सिकाइका क्षेत्र होइनन् । अपाङ्गता भएका बालबालिकालाई जीवन कसरी सरलढंगले जिउने, कसरी स्वस्थ रहने र कसरी खुशी हुने भन्ने पाठ पनि सिकाउन सकिन्छ । दैनिक जीवनका नियमित गतिविधिमा बालबालिकालाई संभव भएसम्म सहभागी गराउँदा लकडाउनको बसाइ झनै लाभदायक हुन्छ । यस्ता गतिविधिमा खाना बनाउने, तरकारी र फलफूल काट्ने वा केलाउने, आफ्नो शरीर र कोठाको सरसफाइ गर्ने, आफ्नो लुगा धुने, व्यायाम गर्ने जस्ता काममा सहायक सामग्रीको प्रयोग गरी वा नगरी सहभागी गराउन सकिन्छ । बालबालिकालाई शारीरिक, मानसिक तथा स्वरको विकासका लागि आवश्यक पर्ने विभिन्न प्रकारका थेरापीहरु गराउन सकिन्छ । 

कतिपय बालबालिकामा माँसपेशी र स्नायुको सन्तुलनमा समस्या भएका कारण आफ्नो दैनिक गतिविधि आफै गर्न कठिनाइ हुन्छ । त्यस प्रकृतिका बालबालिकालाई आफ्नो लुगा आफै लगाउन र फुकाल्न, टाँक लगाउन, फास्नर (चेन) खोल्न बन्द गर्न तथा तुना वा इजार बन्द गर्न सिकाउनुपर्ने हुन्छ भने कतिपयलाई चम्चाले खाना खान, गिलास समातेर पिउन खाना मुछेर वा समातेर खान, स्वशौच गर्न, साबुन पानीले हात धुन, दाँत माझ्न, स्यानिटाइजर लगाउन र टिस्युपेपरले नाक, मुख र हात पुछ्ने बानी लगाउनुपर्ने हुन्छ । बालबालिकालाई उनीहरुको शरीरको अवस्थाअनुसार चालमा सघाउ पुर्याउने वा सञ्चारमा मद्दत मिल्ने प्रकृतिका सजिलै उपलब्ध हुने सहयोगी सामग्रीको अभ्यास गराउन सकिन्छ । शैक्षिक कार्यक्रमतर्फ सङ्गीत, पेन्टिङ, हस्तलेखन, गीत तथा कविता लेखन वा गायन जस्ता काममा अभ्यस्त गर्नाले सिर्जनात्मक र सकारात्मक बनाउन मद्दत पु‍र्याउँछ ।  

अभिभावकको मायाले बालबालिकालाई सुरक्षित महशुस गराउँछ, उनीहरुमा सन्तुष्टी मिल्छ र स्वस्थ रहन्छन् । एउटा परिवारमा अपाङ्गता भएका बालबालिकाको संख्या धेरै नहुने भएकाले उनीहरुको व्यक्तिगत अवस्था र आवश्यकता बमोजिमका गतिविधिका ससाना योजना बनाइ अभ्यास गराउन सकिन्छ जुन विशेष आवश्यकता शिक्षाको मर्म हो । यस्ता बालबालिकाका बारेमा विद्यालयको शिक्षकभन्दा उसको आमा वा संरक्षक नै बढी जानकार हुने भएकोले सिकाइका दृष्टिकोणले लकडाउनको बसाइ झनै लाभदायक हुन्छ । ध्यान दिनुपर्ने कुरा के हो भने बालबालिकालाई लामो समय एकै प्रकारको गतिविधि गराउनु हुन्न । सञ्चारका बहुविधिको प्रयोग लाभदायक हुन्छ । बाहिरी संक्रमणबाट बालबालिकालाई कसरी बचाउने भन्ने कुरा संरक्षकको कर्तव्यभित्र पर्ने भएकाले बालबालिका स्वयं भने यो चिन्ताबाट मुक्त रहन्छन् । क्वारेन्टाइनमा को बस्ने, किन बस्ने र केके सावधानी अपनाउने भन्ने व्यवस्था मिलाउने पहिलो जिम्मेवारी अभिभावकको भएकोले यस्ता जटिल विषयबाट बालबालिकालाई अलग राख्नु पर्छ ।  

विशेष शिक्षामा विद्यावारिधि शोध गरेका लेखक शिक्षा सेवाका उपसचिव हुन् ।

A Levels MA
Thuprai - Books and E-books