साप्ताहिक शैक्षिक गतिविधि (माघ १९-२५)

यस साता प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने विषयले चर्चा पायो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले अब हुने विज्ञापनबाट प्रारम्भिक परीक्षामा उत्तीर्ण गरेकाहरुलाई मात्र विषयगत परीक्षामा सहभागी गराउन मिल्ने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

आयोगले वस्तुगततर्फ एक सय र विषयगततर्फ एक सय पूर्णाङ्कको परीक्षा सञ्चालन गर्नेछ । वस्तुगततर्फ सामान्य ज्ञान लगायतका प्रश्न सोधिनेछ । 

यस्तै यो हप्ता काठमाडौं महानगरपालिका भित्रका प्राथमिक तहको प्रश्नपत्रमा एकरूपता ल्याउने उद्देश्यले नेपाल शिक्षक सङ्घ महानगरपालिकाका कार्य समितिले नमुना प्रश्नपत्र लेखन कार्याशालाको आयोजना गरेको छ । सो कार्याशाला रत्नरात्य माध्यमिक विद्यालयमा आयोजना गरिएको हो ।

सहभागी शिक्षकहरूलाई पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विज्ञ युवराज अधिकारीले प्रशिक्षण गराएका छन् । सङ्घले महानगरपालिकाका सम्पूर्ण शिक्षकलाई प्रश्नपत्र निर्माणका वैज्ञानिक आधार तथा पद्धतिका बारेमा समूहगत प्रशिक्षण गराउँदै आएको छ ।  नगरका सम्पूर्ण विद्यालयका  प्रश्नपत्रमा एकरुपता ल्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको कार्य समितिका अध्यक्ष नारायणप्रसाद गौतमले बताए ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यहि साता पछिल्लो पाँच महिनामा आफूले गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ ।

आयोगले पत्रकार सम्मेलनमार्फत् आफूले गरेका कामहरुको विवरण सार्वजनिक गरेको हो । ती कामहरुमा चिकित्सा शिक्षामा शुल्क निर्धारणलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । आयोग स्थापना भएदेखि हालसम्म ४४ वटा बैठक बस्यो । बैठकले नीतिगत तथा कार्यगत निर्णय गरेको छ ।

आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई सहजरुपमा कार्यान्वयनका लागि चिकित्सा शिक्षा नियमावली मस्यौदा निर्माणको अन्तिम तयारीमा रहेको जनाएको छ । चिकित्सा शिक्षा नियमावली केही दिनमै सरकारलाई पेश  गर्ने जनाइएको  छ ।

सो मस्यौदा स्वीकृतिका लागि छिट्टै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरिने आयोगका उपाध्यक्ष प्रा।डा। श्रीकृष्ण गिरीले बताए ।यस्तै, यो साता चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ ।

आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै विश्वविद्यालयहरुलाई अतिरिक्त शुल्क नलिन आग्रह गर्दै पुनः पत्राचार गरेको हो । आयोगका उपाध्यक्ष प्रा।डा श्रीकृष्ण गीरीले अतिरिक्त शुल्क लिइए सैह्य नहुने भन्दै कारबाही प्रकृया अघि बढ्ने बताए ।

यो साता काठमाडौ वाहिर रहेको पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापक सङ्घले शुरु गरेको आन्दोलन स्थगित भयो । 

क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकले दैनिक ज्यालादारी प्रथाको अन्त्य हुनुपर्ने माग राख्दै विगत एक हप्तादेखि आन्दोलमा होमिएका थिए । सङ्घको आह्वानमा आंशिक प्राध्यापकले कक्षा वहिस्कार गर्दै आएका थिए ।

कक्षा वहिस्कारका कारण एक हप्ता क्याम्पसको पठनपाठन पूर्ण रुपमा बन्द भएको थियो । त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र सङ्घका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्तामार्फत समस्या समाधान गर्न सहमति भएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको सङ्घका अध्यक्ष सुनिल गौतमले जानकारी दिनुभयो ।

Thuprai - Books and E-books