रत्नराज्य क्याम्पसमा नक्कली विद्यार्थी राखेर पढाइ सुरु गर्‍यौँ

नक्साल नारायणचौरको उत्तरतर्फ शङ्करराज अर्यालको घर । दक्षिणतर्फ नन्दीकेशर वहाल । नन्दीकेशर बहालमा एक जना गुरुले लड्काहरुलाई पढाउँथे । त्यो बेला पढाउने भनेकै कौमुदी, अमरकोस, रुद्रीपाठ आदि हुन्थ्यो । ती गुरुले पढाउने पनि तिनै थिए । गुरु कडा । नन्दीकेशर वहालमा ठूलाठूला खोपा थिए । पाठ बुझाउन नसक्नेलाई तिनै खापामा राखिदिन्थे ती गुरुले । उल्टोतर्फ फर्काएर खोपामा राखिन्थे । न बोल्न सकिन्थ्यो, न हिँड्डुल गर्न सकिन्थ्यो न उनले पठाएको देख्न नै सकिन्थ्यो । उल्टो मुख फर्काएर दिनभरि राखिदिन्थे । नपिटे पनि यो ठूलै सजाय थियो । उनी टुँडालदेवी बस्थे । त्यो बखत टुँडालदेवीको फाँटमा जम्मा एउटा घर । गुरु पूर्णिमाका दिन विद्यार्थीहरु गुरुको घर खोज्दै ढोग्न जान्थे ।

शङ्करराजका पिता ईश्वरराज । पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयका संस्थापकमध्येका एक । नन्दीकेशर वहालको पठनपाठन सकिएपछि उनी कक्षा १ मा भर्ना भए पिताले स्थापना गरेको विद्यालय पद्मोदयमा । कक्षा १० त्यहीसम्म पढे उनले । पुतलीसडकस्थित शेयर मार्केट भएको घर गुठी संस्थानको पुरानो भवनमा पद्मोदय मावि सञ्चालित थियो । शङ्करराजले पनि केही वर्ष त्यही पढे । नयाँ भवन बनेपछि विद्यालय सर्‍यो । पेशाले इन्जिनियर शङ्करराज (७६ वर्ष)ले ती बेलालाई यसरी स्मरण गरे, “बुबा साइकल चढेर स्कुल जानुहुन्थ्यो, हामी हिँडेरै जान्थ्यौँ । स्कुलका क्यासियर काका हुनुहुन्थ्यो । बुबाले घरमा स्कुलको शुल्क बुझाउन पैसा दिनुहुन्थ्यो । आफैले तिर्नू भन्नुहुन्थ्यो । आफैले लगेर शुल्क तिरिन्थ्यो । त्यो बेला शुल्क चार रुपियाँ जति हुनुपर्दछ ।”

उ बेला नियम पनि गजब थियो । विदाका बेला विद्यालयलाई शुल्क तिर्नुपर्दैन थियो । “मीन पचासको विदामा पढाइ नहुने भएकाले शुल्क तिर्ने चलन हुन्थेन” उनले भने, “विदामा शिक्षकले चाँहि पैसा पाउँथे ।” शिक्षकले बेलाबखत तलब पाउँदैन थिए । ईश्वरराज भारतको राँची पुग्थे र पद्मशमशेरसँग पैसा मागेर ल्याउँथे । पद्मशमशेरको निधनपछि उनकी पत्नी कमला महारानीसँग पैसा माग्ने गरिन्थ्यो । ‘मैले शिक्षकहरुलाई तलब खुवाउन सकिन हजुर’ भनेपछि महारानीले पैसा दिन्थिन् । उनले दिएको रकमलाई ईश्वरराजले पटुकामा लुकाएर ल्याउँथे । त्यो बेला डकोटा हवाइ जहाज चल्थ्यो । त्यसमा नै ईश्वरराज आउजाउ गर्थे । त्यसरी थुप्रैपटक पैसा ल्याएर बाँडियो ।

काठमाडौँ नगरपालिकाका तत्कालीन अध्यक्ष शङ्करदेव पन्तसँग विद्यालयका लागि जग्गा माग्दा भूकम्पले भत्किएको पुरानो भवन भएको स्थानमा चार आना जतिको सानो टुक्रा जग्गा उपलब्ध गराइयो । त्यतिले त पुग्ने थिएन । भारत पलायन भइसकेका तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले जग्गा किन्न २५ हजार रुपियाँ दिएका थिए । पुतलीसडकको बाटो फराकिलो हुने क्रममा धेरै जग्गा बाटोमा पर्ने भयो । बाटोमा गएको जग्गाको क्षतिपूर्तिका रुपमा जग्गा चाहियो भनेर तत्कालीन अञ्चलाधीस विष्णुमणि आचार्यमार्फत भन्न लगाएपछि तत्कालीन राजा महेन्द्रले हंसमानलाई क्षतिपूर्तिवापत नजिकै जग्गा उपलब्ध गराइदिन आदेश दिए । वाल्मीकि क्याम्पसको पूर्वतर्फ हाल तरकारी बजार भएको स्थानमा महेन्द्रले स्कुललाई जग्गा उपलब्ध गराइदिए । २०३० सालसम्म पद्मोदय विद्यालयकै नाममा थियो । ईश्वरराज प्रधानाध्यापक पदबाट हटे । विद्यालयले त्यो जग्गाका बारेमा चासो देखाएन । तिरो पनि तिरेन । महेन्द्रले दिएको हुकुम प्रमाङ्गी लिएरमात्र बसिरह्यो । पछि नगरपालिकाले कब्जा गर्‍यो । अब त्यो जग्गा फिर्ता पाउन कठिन छ । विद्यालयले चासो नदिँदा त्यति ठूलो जग्गा गुमाउनुपर्‍यो ।

त्यो बेला पद्मोदय र जुद्धोदय विद्यालयबीच प्रतिस्पर्धा हुन्थ्यो । जुद्धोदयले एसएलसी परीक्षामा बोर्डमा ल्यायो भने अब आफूहरुले ल्याउनुपर्दछ भनेर पद्मोदयका शिक्षकहरु कसिन्थे । पद्मोदय विद्यालयका प्रअ ईश्वरराजका घरमा खाली दुई वटा कोठा थिए । एसएलसी परीक्षाको दुई महिनाअगाडि विद्यार्थीलाई त्यही डाकेर ईश्वरराजले इतिहास र अंग्रेजी पढाइ दिन्थे । बाहिरका गतिला शिक्षक खोजेर निःशुल्कमा ट्युसन पढाउने व्यवस्था गरिदिन्थे ईश्वरराजले । 

कृष्णराज अर्याल शङ्करराजका कान्छा बाबु । कलेज अफ एजुकेशन स्थापना गर्न अमेरिकामा पढ्न उनलाई पनि सरकारले पठाएको थियो । त्रैलोक्यनाथ उप्रेतीले पनि साथै पढेका थिए । कलेज अफ एजुकेशनमा कृष्णराज र त्रैलोक्यले सँगै अध्यापन गर्थे । त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि त्रैलोक्य विश्वविद्यालयतर्फ लागे भने कृष्णराज सरकारी जागिरे बने । घर नजिक बस्ने गरेका शिक्षामन्त्री परशुनारायण चौधरीको आग्रहमा कृष्णराज शिक्षा मन्त्रालयका जागिरे बनेका थिए । पछि विश्वविद्यालय सेवाबाट आएकाले लोक सेवा आयोगको परीक्षा दिनुपर्दछ भन्ने निर्णय भयो । आफू विश्वविद्यालयमा पढाइसकेको व्यक्ति, अब पुनः लोक सेवाको परीक्षा दिनु पो पर्ने भनेर झोक्किदै मन्त्रालयबाट हटे । ईश्वरराजले भाइ कृष्णराजलाई त्यत्रिकै खाली बस्नुभन्दा क्याम्पस खोल्न सल्लाह दिए । महिला क्याम्पस खोल्न सल्लाह दिने गरेका थिए । तीन दिनपछि विद्यालय र क्याम्पस दुवै खोल्ने निर्णय गरी अनुमतिका लागि तत्कालीन राजा महेन्द्रसमक्ष दरखास्त दिए । यो घटना २०१८ सालको थियो । “काका कृष्णराजले सरकार रत्नराज्यको नामबाट कलेज खोल्न र वीरेन्द्र सरकारको नामबाट स्कुल खोल्न पाउँ भनेर दरर्खास्त हाल्नुभयो” शङ्करराजले थपे, “कसैले त्यसप्रति चासो भएन । राजाका भान्दाइ साम्राज्यशमशेरसँग कराउनुभयो । बुबाले हंसमान, ईश्वरीमान, विष्णुमणि आदिलाई कराउन गएपछि स्कुल चलाउन तिमीहरुलाई दिदैनौ तर क्याम्पस चलाउन दिन्छौँ भनेको पत्र आयो ।” 

निजी स्तरमा रत्नराज्य क्याम्पस स्थापना भयो । बागबजारको मोडमा क्याम्पस खोल्ने भनेर तुलमा लेखेर विज्ञापन झुण्ड्याइयो । विज्ञापन त भयो तर स्थानको टुङ्गो लागिसकेको थिएन । पछि हाल शेयर मार्केट रहेको भवनको तल खाली कोठा थिए र ती भाडामा लिएर क्याम्पस राखियो । शङ्करराज भर्खरै एसएलसी परीक्षा उत्तीर्ण भएका थिए । उनैलाई भर्ना हुन आउनेहरुलाई भर्ना गर्नू भनेर राखियो । एक महिना समय दिइएको थियो । कोही आएनन् । त्यसपछि बल्लतल्ल दुई महिला आइपुगे । उनीहरुले ‘अहिलेसम्म कति जना भर्ना भए ?’ भनेर सोधे । एक जना पनि भएको भर्ना भएका छैनन् भन्यो भने उनीहरु पनि फर्किएलान् कि भन्ने सोचेर शङ्करराजले फ्याट्टै २५ जना भइसके अब पाँच जना थप्यो भने पढाइ सुरु हुन्छ भन्दिए । “उनीहरुलाई २६ र २७ नम्बरको कार्ड बनाएर रसिद दिए” उनले भने ।

हुन त कृष्णराजले दुई जना भए पनि पढाउँछु भनेर कस्सिएका थिए । पहिलो दिन दुई जनालाई मात्र पढाउनु त भएन भन्ने सुझाव दिइयो । शैलेन्द्रप्रसाद रिमाल, अरबिन्दनाथ रिमाल आदिलाई गुहार्दा सबैले एसएलसी पास नभएका तर घर बाहिर पठाउन अनुमति नदिइएका छोरीबुहारीलाई नक्कली विद्यार्थी बनाएर क्लासमा राख्न सल्लाह दिए । सबैको सहयोगमा दुई जना सक्कली बाँकी नक्कली विद्यार्थी राखेर पठनपाठन थालियो । पढाइ सुरु भए पनि ‘विद्यार्थीहरु भर्ना भए’ भने पुन विज्ञापन गरेपछि १० जना नयाँ विद्यार्थी भर्ना हुन आए । नयाँ थपिएपछि नक्कली विद्यार्थीहरुलाई फर्काइयो र सक्कली १२ जनालाई राखेर पठनपाठन थालियो । “ती बेलाका यी कुरा अहिले सम्झिदा रमाइलो लाग्छ । रत्नराज्य क्याम्पस स्थापनाका ती प्रसङ्गका बारेमा त्यस कलेजका मानिसहरु कसैलाई पनि थाहा छैन होला” इन्जिनियर शङ्करराजले भने ।

आर्थिक समस्याबाट उन्मुक्ति पाऊन महेन्द्र राजालाई बोलाएर सांस्कृतिक कार्यक्रम गर्न कृष्णराजलाई बच्चुकैलासले सल्लाह दिए । राजा महेन्द्रलाई सांस्कृतिक कार्यत्रम निकै मन पर्थ्यो । दरबारमा उनले गीत र भजन गाउन अलग भवन बनाएका पनि थिए । २०७२ सालको भूकम्पका बखत उनकी पत्नी तत्कालीन बडामहारानी रत्न त्यही भवनमा बस्न गएकी थिइन । अहिले पनि त्यो भवन सुरक्षित छ । राजा महेन्द्रलाई आमन्क्रण गरी राष्ट्रिय नाच घरमा कार्यत्रम गर्ने निधो भयो । राजा आएनन् तर रत्नराज्य सहभागी भइन् । नेपालका उच्च पदस्थ पदाधिकारीहरु पनि कार्यक्रममा आइपुगेका थिए । कार्यक्रमपश्चात रत्नले ‘राजाबाट बक्सिएको’ भन्दै १० हजार रुपियाँ त्यही दिइन् । राजाले आर्थिक सहयोग गर्ने भएपछि कलेज राम्रो हुन्छ भन्ने भएपछि त्यसपछि ह्वात्तै विद्यार्थी बढेर एक सय नाघ्न सफल भयो । 

अर्को वर्ष राजा महेन्द्रले खबर पठाए ‘गत वर्ष राम्रो कार्यक्रम गरेका रहेछौ आगामी वर्ष गर्ने भए म पनि आउँछु’ । एक वर्षदेखि तयारी गर्न पायो कलेजले । भव्य रुपमा कार्यक्रम सम्पन्न भयो । पछि महेन्द्रले कृष्णराजलाई शिक्षा राज्यमन्त्री बनाइदिए । त्यसपछि ईश्वरराज क्याम्पस प्रमुख बने । ईश्वरराजले महिलालाई प्रमुखको जिम्मेवारी दिइनुपर्दछ भनेर प्रभा बस्नेतलाई प्रमुख बनाइदिए । 

तत्कालीन अञ्चलाधीस विष्णुमणिले प्रदर्शनीमार्गमा जग्गा अधिकरण गरेर क्याम्पसलाई दिन थाले । त्यो बेला रत्नराज्यलाई पनि जग्गा दिलाइदिन विष्णुमणिसम्म कुरा पुग्यो । निजी क्याम्पसलाई जग्गा दिन नमिल्ने भनियो । निकै बिन्ती चढाएपछि निजी भए पनि रत्नराज्यलाई दिनू भनेर हुकुम प्रमाङ्गी मिल्यो । नयाँ शिक्षा लागु भयो । त्यो क्याम्पस पनि सरकारीकरण भयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत गयो ।