
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले अध्ययनका लागि विदेश जाने मात्र नभई अब विदेशबाट अध्ययन गर्न नेपाल आउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। शनिबार पोखरामा आयोजित स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल' (फेकन) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन्।
उनले नेपालको रमणीय प्राकृतिक वातावरण र सांस्कृतिक विविधताका कारण विदेशी विद्यार्थी आकर्षित हुन सक्ने सम्भावना रहेको भन्दै परामर्श केन्द्रहरूले 'स्टडी इन नेपाल' अवधारणामा पनि काम गर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री थापाले युवालाई आत्मनिर्भर बनाउन रोजगारी सिर्जना आवश्यक रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारले सीप विकास तालिम केन्द्रमार्फत १२ प्रकारका सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिएका छन्। व्यवसायीका चुनौतीप्रति आफू जानकार रहेको बताउँदै उनले शैक्षिक परामर्श क्षेत्र लगायत सम्पूर्ण व्यवसायीको हकहित संरक्षणका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। विभिन्न नाममा सञ्चालित शैक्षिक परामर्श केन्द्रहरूलाई एकीकृत भई संस्थागत रूपमा अघि बढ्न समेत उनले सुझाव दिएका छन्।
कार्यक्रममा फेकनका केन्द्रीय अध्यक्ष उमेश कुशवारले शैक्षिक परामर्श केन्द्रको मुख्य उद्देश्य विद्यार्थीलाई मार्गदर्शन गर्ने भएकाले यसलाई म्यानपावर जस्तो व्यवहार नगर्न आग्रह गरेका छन्। यस्तै, फेकन गण्डकीका संस्थापक अध्यक्ष जागृत भट्टराईले २०७५ सालदेखि दर्ता प्रक्रिया रोकिँदा व्यवसायी समस्यामा परेको भन्दै धरौटी रकम सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
फेकन गण्डकीका अध्यक्ष सुजन बहादुर बस्नेतले संस्थाले विद्यार्थी, अभिभावक र व्यवसायीबीच विश्वासको सेतुको रूपमा काम गरिरहेको र 'स्टडी इन नेपाल' को अवधारणालाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन्।




