Thuprai - Books and E-books

विश्वविद्यालय सञ्चालन गर्न सक्षम छौं

भिड १९ को प्रकोपका कारण सम्पूर्ण विश्व नै प्रभावित भएको छ । नेपालमा पनि कोभिड १९ को प्रकोपका कारण सम्पूर्ण विश्व नै प्रभावित भएको छ । नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको छ । शिक्षा क्षेत्रलाई कोभिडले थला पारिसकेको छ । लामो समयदेखि विद्यालयदेखि विश्वविद्यालयका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् । केही दिन यता विश्वविद्यालयका प्रशासनिक कार्य पनि प्रभावित हुन पुगेका छन् । यस्तो विषम परिस्थितिमा पनि कतिपय क्याम्पसहरुले आफ्ना विद्यार्थीसंग सामाजिक दुरी कायम गर्दै सम्पर्क तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रस्तुत छ सीमित स्रोत र साधनलाई परिचालन गर्दै क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक योजना बनाएर आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको कास्कीको पोखरास्थित  पृथ्वी नारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. सरोज कोइरालासंग इडियुुसञ्जालले समसामयिक विषयमा गरेको इडियुटकको सारसंक्षेपः

पृथ्वी नारायण क्याम्पसको बारेमा प्रकाश पारिदिनोस् न ?

२०१७ सालमा स्थानीय समुदायको सक्रियतामा सानो ठाउँमा क्याम्पस सुरु भएको हो । केही समयपछि अहिले चौर भएको ठाउँमा छाप्रोबाट सञ्चालन भयो । १३ जना विद्यार्थी र दुई जना शिक्षक राखेर क्याम्पस सञ्चालन गर्न सुरु गरिएको हो । सुरुमा छाप्रोमा पढाइ हुने क्याम्पसमा अहिले भवन बनिसकेका छन् । नेपाल सरकार र विदेशी दाताको सहयोगमा भवन निर्माण भयो । २०३० को दशकमा स्नातकोत्तर तहको केही विषयमा कक्षा सञ्चालन भयो । ५० को दशकमा अरु विषयमा पनि स्नातकोत्तर तहका कार्यक्रम थपिए । प्रमाणपत्र तह फेजआउट भएपछि ४ वटा फ्याकल्टी र एउटा इन्स्टीच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा स्नातक र स्नातकोत्तर तहका विभिन्न ३१ वटा कार्यक्रम सञ्चालित छ ।

विद्यार्थी संख्या कति छ ? कक्षा कसरी सञ्चालन गर्दै आउनु भएको छ ?

विद्यार्थी १० हजार ५०० भन्दा धेरै छन् । स्नातकोत्तर तहको विहान, दिउसो स्नातक र शिक्षा संकायको बेलुका कक्षासञ्चालन गर्दै आएका छौं ।

क्याम्पसले विद्यार्थी भर्ना कसरी लिने गरेको छ ?

सेमेस्टर प्रणालीमा मेरिट प्रणालीमा भर्ना लिने गरेका छौं भने वार्षिक प्रणालीमा प्रक्रिया पुरा गरेर भर्ना गर्छौं ।

३१ ओटा कार्यक्रम भित्र केकस्ता पाठ्यक्रम लागु गर्नु भएको छ ?

स्नातकमा दुई खाले कार्यक्रम सञ्चालनमा छ । एउटा वार्षिक र अर्को सेमेस्टर प्रणाली छ । वार्षिक प्रणालीमा ६ ओटा कार्यक्रम सञ्चालनमा छ भने सेमेस्टरमा चारओटा कार्यक्रम सञ्चालनमा छ । बीबीए, बीएस्सी सीयसआइटी, बीएएलएलबी, व्याचलर अफ पब्लिक एडमिनिस्ट्रेसन सञ्चालनमा छ । स्नातकोत्तरमा विभिन्न संकायका २१ ओटा कार्यक्रम सञ्चालनमा छन् । हामी नयाँ कोर्ष सञ्चालन गर्न चाहे पनि त्रिभुवन विश्वविद्यालयको मातहतमा रहँदा यसको प्रक्रिया झन्झटिलो हुन जान्छ । त्यसैले हामीले यसलाई विश्वविद्यालय बनाउने रणनीति तयार गरेका छौं । क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गरेपछि स्वेच्छिक तरिकाले नयाँ विषय सञ्चालन गर्न सहज हुन्छ ।

क्याम्पस विश्वविद्यालयमा रुपान्तरण हुन्छ त ?

विद्यार्थीको आकर्षण राम्रो छ । क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने हाम्रो सोच हो । यसका लागि मानवस्रोत र भौतिक पूर्वाधार पर्याप्त छ । क्याम्पसलाई विश्वविद्यालयमा लानै पर्छ । हाम्रो लक्ष्य भनेको स्वतन्त्र विश्वविद्यालय सञ्चालन गर्ने हो । हामीले तीनओटा विषयमा एमफिल सञ्चालनको अनुमति मागेका छौं । अहिलेसम्म भारा टार्ने काम भएको छ । क्याम्पस नै विश्वविद्यालय भने यो समस्या हटेर जान्छ ।

वर्तमान अवस्थामा शिक्षणसिकाइ कार्यलाई कसरी अघि बढाउनु भएको छ ?

हामीले कोभिड १९ को असरपछि थुप्रै विषयमा अनलाइन कक्षा सञ्चालन गरेका छौं । हामीले स्टाफ र एक्स्पोटलाई विभिन्न माध्यमबाट ओरेन्टेसन कक्षा पछि अनलाइन कक्षा सञ्चालन भइरहेको छ । अहिले त्रिविका आंशिक शिक्षक आन्दोलनमा हुनुहुन्छ उहाँहरुको र केही प्रविधिसंग आवद्ध हुन नसक्नु भएको शिक्षकको कक्षा सञ्चालन गर्न सकिएको छैन ।

वर्तमान परिपेच्क्षयमा क्याम्पसका चुनौती के कस्ता छन् ?

प्रशासनिक, आर्थिक, फिजिकल समस्या छन् । तिनीहरुलाई पहिचान गरी समाधान गर्न पहल गदैछौं । अहिले पनि हामीले शुद्ध पिउने पानी विद्यार्थीलाई दिन सकेका छैनौं । शौचालयको समस्या छ । कतिपय भवन जीर्ण भइसके , फर्निचर थोत्रा छन् । आंशिक शिक्षकको समस्या छ । त्रिविले पठाएको निर्देशिका उहाँहरुले स्वीकार्नु भएको छैन । कर्मचारी अभाव छ । कर्मचारी तत्काल त्रिविबाट नपठाएसम्म इन्टनसिप मार्फत विद्यार्थीलाई सक्रिय बनाउने सोचमा छौं । इन्टसिपमा काम गर्ने विद्यार्थीलाई हामी पारिश्रमिक पनि प्रदान गर्छौं । विद्यार्थीलाई तत्काल हेल्प डेस्क बनाउने तयारीमा छौ । विद्यार्थीलाई स्वरोजगार बनाउने योजना रहेको छ ।

क्याम्पसमा अनुसन्धानको अवस्था कस्तो छ ?

त्रिविका अरु क्याम्पस भन्दा राम्रो छ ।यसका लागि २५ वर्ष अगाडि तत्कालीन क्याम्पस प्रमुख प्राडा नारायणदत्त नेपालले १५ लाखको अक्षयकोष स्थापना गर्नु भएको थियो । यसबाट अनुसन्धानका लागि लगानी गर्दै आएका छौं । अहिले अक्षयकोषको रकम एक करोड माथि पुगेको छ । हामीले विश्वविद्यालय अनुदान आयोगले गर्ने काम आफैंले गरेका छौं । कोषबाट लगानी गरी गतवर्ष सम्म शिक्षकहरुले अनुसन्धान गर्दै आएकोमा अब हामी विद्यार्थीलाई पनि निश्चित विषयमा अनुसन्धानमा सहयोग गर्ने योजनामा छौं ।

क्याम्पसको स्तरोन्नतिका लागि केकस्ता योजना बनाउनु भएको छ ?

मैले सरोकारवाला, पूर्व विद्यार्थी, पूर्व क्याम्पस प्रमुख, विश्वविद्यालयका पदाधिकारी संग छलफल गरेको छु । यो क्रम जारी छ । सानातिना काम सुरु भइसकेका छन् । भारतीय दुतावाससंग भवन निर्माणका लागि छलफल अघि बढाएको छु । मुख्यमन्त्री संग पनि अनौपचारिक छलफल गरेको छु । औपचारिक रुपमा छलफल गरी क्याम्पसको गुणस्तर अभिवृद्धि गर्नका लागि बनाएका रणनीतिलाई कार्यान्वयन गर्ने सोचमा छौं ।