विद्यालयमा एउटा धारा छ । पानी आउँदैन कमिला हिड्छन् । विद्यालय खुलेको समयमा शौच आइ हाल्यो भने पनि पाँच मिनेटको दूरीमा रहेको खोलामा पानी लिन जानुपर्छ । खानेपानीको त कुरै छाड्यौं ।
२०१७ सालमा स्थापना भएको दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लामो समय देखि यही समस्या झेल्दै आइरहेको छ ।
नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालयसम्म पुर्याउन सकिएको छैन । विद्यालयमा पानी आवश्यक पर्छ भन्ने समेत कसैको ध्यान जान सकेको छैन ।
विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर पानी कहिल्यै आउँदैन । शौचालयमा पानी हुँदैन । शौच गर्न खोलाबाट पानी बोक्नु पर्छ । खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ । यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन् । विडम्बना त के छ भने विद्यार्थीले त्यही खोलाको पानी प्रयोग गर्छन् । गाउँका मान्छेले पनि खोलामा बगिरहेको त्यही पानी प्रयोग गर्ने गरेका छन् । धेरै माथिको मुहानबाट बगेर आएको पानी नै विद्यार्थीले पिउनुपर्ने बाध्यता छ । ‘हामीले बिभिन्न ठाउँमा पानीको उचित व्यवस्थापनका लागि भनेर पहल ग¥यौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विकले भने, ‘तर अहिलेसम्म कुनै पनि निकायबाट सहयोग भएको छैन ।’
राससका अनुसार विद्यार्थी खोलाको दूषित पानी पिउन बाध्य छन् । वर्सात्को समयमा धेरै विद्यार्थीहरू दूषित पानी पिएकै कारण झाडाबान्ता तथा जुकाको प्रकोपको सिकार हुने गरेका छन् । यसमा समयमै सम्बन्धित निकायको ध्यान जानुपर्ने विद्यालयका प्रधानाध्यापक मीनबहादुर केसीले बताए ।
विद्यालयमा खानेपानीको समस्या देखिएपछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अवलोकन समेत गरेका थिए । उनले सो अवसरमा प्रदेशको प्रतिस्थापन बजेटबाट रु आठ लाख बजेटबाट भवन निर्माणको काम सुरु भएको र खानेपानीको समस्या समाधान समेत गर्ने प्रतिबद्धता जनाए ।
विद्यालयमा पर्खालको पनि उत्तिकै समस्या छ । विद्यालय खुला छ । यसले गर्दा पटक–पटक विद्यालयको झ्यालढोका तोडफोड हुने गरेको प्रधानाध्यापक केसीको भनाइ छ ।
सो विद्यालयमा शिशुदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ । उक्त विद्यालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छ शिक्षक कार्यरत छन् ।
दुई स्थायी, एक राहत, एक बाल विकास कार्यकर्ता र अन्य दुई विद्यालयले व्यहोर्ने गरी शिक्षक र कर्मचारी राखेको छ । शिक्षक कर्मचार िपर्याप्त छन् । तर विद्यालयले समेत खानेपानीको व्यवस्थापनका लागि उचित पहल नगरेको स्थानीयको गुनासो छ । ‘विद्याँलयमा एक जना शिक्षक कर्मचारी बराबर करिब १४ जना विद्यार्थी पर्छन् तर विद्यार्थीलाई दिनभरि के के आवश्यक पर्छ विद्यालयले सम्बन्धित निकायमा माग गर्न सकेको छैन ।’ एक स्थानीयले भने, ‘भूमिगत हुनु अगाडि मोहन बैद्यले आफैं पढाएको विद्यालयमा भोगेको समस्या समेत समाधान गर्न सकेनन् ।’