भर्चुअल शिक्षण: शिक्षकको अनुभव

म दुर्गम गाँउमा जन्मेहुर्केको मान्छे । गाँउले परिवेशकै विद्यालयमा पढेको मान्छे । शिक्षण पेसामा आवद्ध रही गाँउकै विद्यालयमा लामो समय शिक्षण गरेको मान्छे । गाँउघर जहाँ टेलिभिजनलाई नयाँ वस्तुको रुपमा चिनिन्छ । जहाँ एक घरको टेलिभिजन सेट वरिपरि छिमेकी घरका मान्छेहरुलाई मनोरञ्जन दिने साधनको रुपमा चिनिन्छ । त्यस्तो क्षेत्रका विद्यालयहरुमा टेलिभिजन सेटबाट पठनपाठन सुरु हुनु त्यहाँका अभिभावक तथा विद्यार्थीको लागि नौलो कुरा हुनु स्वभाविकै हो । 

म आफै स्वयं पनि नेपाल टिभी प्लसले सञ्चालन गरिरहेको भर्चुअल शिक्षण सिकाइ कार्यक्रम देखेर कसरी पढाइन्छ होला भनेर कल्पनामा डुब्ने मान्छे । म जुन ठाँउमा शिक्षण गर्छु, त्यो ठाँउमा भर्चुअल शिक्षण र सिकाइ कार्य अलि नौलो चिजको रुपमा चिनिनु स्वभाविकै हो । नचिनियोस् पनि किन ? त्यहाँका अभिभावक र विद्यार्थीका लागि यो एउटा नौलो प्रयास र प्रयोग थियो । मेरो विद्यालय शारदा मावि छिन्चुको विज्ञान प्रयोगशाला रहेको कोठामा नियन्त्रण कक्ष बनाइ भर्चुअल कक्षा सञ्चालन गर्ने वातावरण भेरीगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जुरायो । २०७६ पुसदेखि फागुनसम्म करिव तीन महिना टेलिभिजन सेट मार्फत पाँचवटा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई अङ्ग्रेजी, गणित र विज्ञान विषय अध्यापन गरियो । मेरो जिम्मेवारीभित्र अङ्ग्रेजी विषय पर्‍यो । उक्त विषय भर्चुअल पद्धतिबाट अध्यापन गरी आफूले प्राप्त गरेका अनुभवहरु यो लेख मार्फत पाठकहरुलाई पस्किने जमर्को गरेको छु । 

सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका, युवा, शिक्षा तथा खेलकुद शाखाले आफनो नगरपालिका अन्तर्गतका पाँच वटा माध्यमिक विद्यालयहरु शारदा मावि छिन्चु, शिखर मावि रामघाट, प्रभात मावि थानीचौर, जनज्योति मावि झिङ्नी र नेपाल राष्ट्रिय मावि लोदेमा भर्चुअल मोडमार्फत एसईई तयारी कक्षा चलाउने निर्णय गर्‍यो । जसको लागि प्रत्येक विद्यालयलाई कक्षा र सेक्सनअनुसार टिभी सेट र एक/एक वटा ल्यापटप र कम्प्युटरको व्यवस्था गरियो । टेलिभिजन, क्यामेरा, ल्यापटप कम्प्युटर किन्नका लागि नगरपालिकाले १६ लाख रुपियाँ विनियोजन गरेको थियो । उक्त रकम प्रति कक्षाअनुसार एक लाख ५० हजार रुपियाँ लागत पर्न आयो । मानवीय जनशक्ति अर्थात् शिक्षण कार्यका लागि सबै विद्यालयबाट व्यवस्थापन गर्न खोजिए पनि भौगालिक दूरी र योग्य जनशक्तिलाई मध्येनजर गरी शारदा माध्यमिक विद्यालयका शिक्षकहरु म (अङ्ग्रेजी), जीतेन्द्रराज वली (गणित) र कुशेश्वर ठाकुर (विज्ञान)लाई विषय शिक्षकको रुपमा चयन गरियो । नगर शिक्षाको योजनाअनुरुप हामी तीन जना शिक्षकहरुले २०७६ मङ्सिर ८ गतेदेखि फागुन मसान्तसम्म शारदा मावि छिन्चुको विज्ञान प्रयोगशालामा कन्ट्रोल रुम बनाइ करिव तीन महिना उक्त पाँच वटा विद्यालयका नौ वटा सेक्सनमा तीन वटा विषय शिक्षण गर्‍यौं । 

भर्चुअल कक्षा शिक्षण गर्दा हामी तीन जनाले अनलाइन शिक्षकका रुपमा काम गर्नुपर्थ्यो भने सम्बन्धित विद्यालयका विषय शिक्षकहरुले अफलाइन शिक्षकको रुपमा रही आफना विद्यार्थीहरुलाई सहजीकरण गर्नु पर्दथ्यो । अनलाइन शिक्षकले रित्तो कोठा (कन्ट्रोल रुम)मा क्यामेरालाई मध्येनजर गरी बोर्डमा पढाउनु पर्दथ्यो भने अफलाइन शिक्षकले अनलाइन शिक्षकले पढाएको  विषयवस्तु विद्यार्थीहरुले ध्यान दिएर पढे वा नपढेको अवलोकन गरी आवश्यक परेको खण्डमा सहजीकरण गर्नु पर्दथ्यो । अनलाइन शिक्षकले एकोहोरो पढाइ रहनु पर्ने देखिन्थ्यो । विद्यार्थीहरुले बुझे वा नबुझेको कुराको जानकारी लिन नसकिने अवस्था देखियो । कतिपय अवस्थामा केही विद्यार्थीलाई प्रतिनिधि पात्रका रुपमा सोध्न सकिने वातावरण देखियो । सबै विद्यार्थीलाई सोध्न र उनीहरुका समस्या बुझ्न गाह्रो महसुस गरियो । 

अफलाइन शिक्षकले विद्यार्थीहरुलाई सहजीकरण गर्नु भन्दा अनलाइन शिक्षकले पढाएको र विद्यार्थीहरुले पढाइतिर ध्यान दिएको वा नदिएको कुरा हेर्नुपर्ने देखियो । उनीहरुलाई आफैले सहजीकरण गर्नका लागि समयको तालमेल नमिलेको अवस्था देखियो । अफलाइन शिक्षक स्वयंले कक्षामा शिक्षण गर्न नपाउँदा शिक्षक विद्यार्थीबीच अन्तरक्रिया गर्ने, छलफल गर्ने र प्रश्नोक्तर गर्ने जस्ता त्रियाकलाप गराउन नसकिने वातावरण सिर्जना भएको महसुस गरियो । 

कतिपय अफलाइन शिक्षकको मनोविज्ञान अनलाइन शिक्षकमार्फत पढाइ भैहाल्छ किन कक्षा कोठामा बसिरहनु भन्ने पनि देखियो । हामी शारदा मावि छिन्चुका अनलाइन शिक्षकका कक्षामा अर्को अफलाइन शिक्षक नहुँदा विद्यार्थीहरुले पढे वा नपढेको कुरा बुझ्न पनि गाह्रो महसुस गरियो । हामी अनलाइन शिक्षकका रुपमा (कन्ट्रोल रुम)मा व्यस्त रहँदा हाम्रो आफ्नै कक्षा व्यवस्थापनका लागि अर्को अफलाइन शिक्षकको आवश्यकता रहने कुराको महसुस गरियो । 

विद्यार्थीहरुको मनोविज्ञान बुझ्दा सिकाइ प्रति वास्ता गर्ने र नगर्ने दुई किसिमका विद्यार्थीहरु कक्षामा रहेको पाइयो । जसले पढाइ प्रति चासो दिन्छन् त्यस्ता विद्यार्थीले आफनो कक्षामा पढाइ रहेको शिक्षक भन्दा फरक शिक्षकबाट पढ्न पाएकोमा गर्व लागेको अनुभव ब्यक्त गरेको पाइयो । त्यस किसिमका विद्यार्थीलाई भर्चुअल कक्षा शिक्षणले धेरै फाइदा पुर्रयाएको बुझियो । यस्ता विद्यार्थीहरुको संख्या अत्यन्त न्युन रहेको देखियो । बहुसङ्ख्यक विद्यार्थी भने शिक्षकको प्रत्यक्ष निगरानी बिना नपढने खालका देखिए । त्यस्ता विद्यार्थीहरुलाई भर्चुअल कक्षा शिक्षणले खासै लाभ पुर्‍याएको देखिएन । 

भर्चुअल कक्षामा स्वतन्त्रता बढी भएकोले उनीहरुलाई आफू अनुकूल वातावरण भएको मनोविज्ञान बुझियो । सिक्न चाहने विद्यार्थीले कति सिक्यो भन्ने कुराको जानकारीका लागि अभ्यास गर्ने/गराउने वातावरण भएन । अर्कोतर्फ सिकाइ प्रति बेवास्ता गर्ने विद्यार्थीलाई कसरी अभिप्रेरित गर्ने भन्ने कुराको व्यवस्थापन गर्न गाह्रो देखियो । जसले गर्दा शिक्षण सिकाइको अपेक्षित लक्ष्य हासिल गर्नका लागि चुनौती देखियो ।

भर्चुअल शिक्षण र सिकाइ कार्यक्रमले गाँउघरमा रौनकता पायो । गाँउघरका बालबालिकाले आफ्नो घरमा भएको टेलिभिजनमा माक्र कार्यत्रम मात्र हेरेको अवस्थामा टेलिभिजन सेटमार्फत आफू स्वयंले पढ्न पाएकोमा विद्यार्थीहरुले नौलौ अनुभव महसुस गरे ।

भर्चुअल शिक्षण सिकाइ कार्यक्रम देखेर अभिभावकहरु पनि हर्षित देखिए । अभिभावकहरुले भर्चुअल पढाइ भइरहेका विद्यालयमा आएर भर्चुअल कक्षा अवलोकन गरे । छिमेकी नगरपालिका तथा गाँउपालिका अन्तरगतका विद्यालयका अभिभावक तथा शिक्षकहरुले भर्चुअल कक्षा अवलोकन गर्न र प्रविधि सिक्नका लागि शैक्षिक अवलोकन भ्रमणमा आई जानकारी लिने अवसर पाए । भर्चुअल कक्षा शिक्षण कार्य जिल्लाभित्र र जिल्ला बाहिरबाट नयाँ प्रविधिको प्रयोग तथा उपयोगिता बुझ्ने एवं अवलोकन भ्रमण गर्नका लागि आकर्षणको केन्द्र बन्यो । कतिपय विद्यालयले यो प्रविधिको अनुशरण गरी आफनो विद्यालयमा भर्चुअल कक्षा शिक्षण कार्यक्रम सञ्चालन पनि गरे । जताततै भर्चुअल कक्षाको चर्चा परिचर्चा गरेको सुनिन थाल्यो । 

भर्चुअल प्रविधिमार्फत यस्तो परीक्षण कार्यक्रम सञ्चालन गर्ने भेरीगंगा नगरपालिका नेपालको पहिलो नगरपालिकाको रुपमा रह्यो । यो नेपालमै प्रथम फाइलटिङ् कार्यक्रम मानिन्छ । आगामी वर्षको कार्यत्रमका लागि नगरपालिकाले यो कार्यक्रमलाई विशेष महत्वका साथ हेरेको छ । जसका लागि नगरपालिका तथा युवा, खेलकुद तथा शिक्षा शाखाबाट नियमितरुपमा नियमन तथा अनुगमन गरिएको थियो । विशेष गरी नगर शिक्षा शाखाले यस कार्यको नियमितरुपमा फलोअप गरेको थियो । यो वर्षको कमी कमजोरीलाई परिष्कृत गर्दै अर्को वर्ष कक्षा ८ र १० का सम्पूर्ण विषयहरुको पठनपाठन गराउने योजनामा नगरपालिका रहेको देखिन्छ । यस कार्यको कार्यन्वयनका लागि विद्यालयहरु उत्साहित देखिन्छन् ।

मैले आफुले आफनो आत्मविम्वन गर्दा हाम्रा विद्यालयहरुमा भर्चुअल कक्षा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिएको खण्डमा निम्नानुसारका लाभ लिन सकिने अवस्था देखियो ।

  • ■ भौगोलिकरुपले टाढाको दूरीमा रहेका विद्यालय तथा विद्यार्थीका लागि उपयोगी ।
  • ■ साधन श्रोत नभएका बिद्यालयका विद्यार्थीहरुलाई सिक्ने सुवर्ण अवसर ।
  • ■ योग्य र दक्ष शिक्षकको अभाव भएका विद्यालयका विद्यार्थीहरुलाई उपयोगी ।
  • ■ पढाएको पाठहरु रेकर्ड गर्न सकेको खण्डमा जुनसुकै समयमा उपयोगमा ल्याउन सकिने ।
  • ■ इन्टरनेटको सुविधा भएको खण्डमा जुनसुकै ठाँउ र समयमा सञ्चालन गर्न सकिने ।
  • ■ विभिन्न विद्यालयका विद्यार्थीहरुले एकै किसिमका शैक्षिक सामग्री प्रयोग गरी पढाएको हेर्न र बुझ्न सक्ने ।
  • ■ विद्यार्थीहरुलाई स्वतन्त्ररुपमा सिक्ने वातावरण सिर्जना हुने ।
  • ■ शिक्षक र सिकारुमा डिजिटल सीपको विकास गर्न सकिने ।
  • ■ एउटै शिक्षकबाट धेरै कक्षामा एकै समयमा शिक्षण गर्न सकिने ।
  • ■ विद्यार्थीलाई अन्य विद्यालयका विद्यार्थीसित आफूलाई तुलना गरी स्वमूल्याङ्कन गर्न सजिलो हुने ।
  • ■ रेकर्डेड कक्षाहरु कम्प्युटर, ल्यापटप, ट्याब्लेट र मोबाइलमा सजिलै हेर्न सकिने ।

भर्चुअल कक्षा शिक्षण सञ्चालन गर्न भने सजिलो छैन । म आफू स्वयं यो कार्यक्रममा सहभागी भएकोले केही चुनौतीहरु सामना गर्नु परेको कुराहरु निम्नानुसार औंल्याइएको छ । 

  • ■ सैद्धान्तिक पक्षलाई जोड दिनुपर्ने वाध्यतात्मक शिक्षण सिकाइ ।
  • ■ अफलाइन शिक्षक नभएको अवस्थामा कक्षाकोठाको हल्ला कन्ट्रोल गर्न गाह्रो ।
  • ■ विद्यार्थीहरुसित अन्तरक्रिया गर्न नसकिने ।
  • ■ विद्यार्थीलाई कक्षाकार्य गराउन गाह्रो ।
  • ■ विद्यार्थीको गृहकार्य परीक्षण गरी पृष्ठपोषण दिन गाह्रो ।
  • ■ विद्यार्थीहरुलाई छलफल कार्यमा सहभागी गराउन गाह्रो ।
  • ■ परीक्षा सञ्चालन गर्न गाह्रो ।

निष्कर्ष

भेरीगंगा नगरपालिका युवा, खेलकुद तथा शिक्षा शाखाका उपसचिव धिरेन्द्रप्रसाद शर्माले यो कार्यक्रमलाई निरन्तरता दिई आगामी दिनमा अन्य विद्यालयहरुमा विस्तार गर्ने योजना नगरपालिकाको रहेको कुरा बताउनुभएको छ । भर्चुअल कक्षा शिक्षण कार्यक्रम सञ्चालनका लागि नगरपालिका तथा सम्बन्धित विद्यालयले विशेष तयारी गर्न सकेनन् भने अपेक्षा गरे अनुसारको उपलब्धि हासिल नहुनसक्छ । पहिलो वर्षको अनुभवलाई ध्यान दिइ फरिमार्जित कार्यक्रम लागु गरेको खण्डमा कार्यत्रम प्रभावकारी हुनसक्ने कुरामा दुई मत छैन । सकभर शैक्षिक सत्रको सुरुदेखि नै थालनी गर्न सकेमा प्रभावकारी हुने देखिन्छ । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई कार्यक्रमको बारेमा राम्ररी जानकारी गराउनु जरुरी छ । विद्यालयमा बत्ती गएको अवस्थामा व्याकअपको आवश्यक्ता हुन्छ । त्यसैले विद्यालयहरुले इन्भर्टरको व्यवस्था गर्नु जरुरी छ । केवल अङ्ग्रेजी, गणित र विज्ञान विषयहरु मात्र नभइ सबै विषय शिक्षण गर्ने व्यवस्था गर्न सकेमा कार्यक्रमको प्रभावकारिता अवश्य बढ्नेछ ।

 

लेखक सुर्खेतको छिन्चुस्थित शारदा माध्यमिक विद्यालयमा अध्यापन गर्छन् ।