After SEE Portal

पहुँच नभएकाका लागि पनि भर्च्युअल विधि

Bridge Course

कार्यशैलीको पृष्ठभूमिबाट सुरु गरौँ

कामहरु दुई किसिमले गरिन्छ :  भौतिक उपस्थिति र अभौतिक (भर्च्युअल) प्रक्रियाबाट । मानव संसाधनको उपस्थिति र अन्य भौतिक स्रोतसधानहरुको परिचालनबाट गरिने काम सबै भौतिक कामहरु हुन् । यस्तो काममा मानव, सामग्री र पैसा (थ्री एम-म्यान, मटेरियल र मनी) लाई प्रत्यक्षरुपमा परिचालन गरिन्छ । तर अहिले विज्ञानले सूचना र प्रविधि क्षेत्रमा गरेको विकासले गर्दा मानिसको भौतिक उपस्थितिबिना उक्त तीनैवटा 'एम'को परिचालन थुप्रै कामहरु गर्न सम्भव भएको छ । यसरी मानिसको प्रत्यक्ष भौतिक उपस्थितिबिना गरिने कार्यलाई अभौतिक (यसपछि भर्च्युअल भनिएको) कार्य भनिन्छ । यस्ता भर्च्युअल कार्यलाई विद्यालय शिक्षामा पनि समावेश गर्न थालिएको छ ।

तीन वटा 'एम'मध्ये मटेरियल तथा मनी हार्डवेयरहरु  हुन् । भर्च्युअल चाहिँ सफ्टवेयर भयो । यसबाट मानिसले ज्ञान बनाउँछ । निर्णय गर्दछ । यो प्रक्रिया माइन्ड वेयर भयो । (माइन्ड-वेयर शब्द किथ स्टानोभिचले आविष्कार गरेका थिए ।) माइन्ड वेयरलाई मानिसले समस्या समाधान गर्न र निष्कर्षमा पुग्न उपयोग गर्छ । कम्प्युटर प्रयोग गरी हार्डवेयर, सफ्टवेयर तथा माइन्ड वेयरको काम गर्ने व्यक्तिलाई ह्युमन वेयर (जस्तै कम्प्पुटर अपरेटर) भनिन्छ ।

भर्च्युअल कार्यका उदाहरण धेरै छन्

कम्प्युटरमा टाइप गर्दा आउने अक्षरहरु भर्च्युल अक्षरहरु हुन् । यस्तो अक्षरलाई स्पर्श गर्न सकिँदैन । टाइप गर्दा पनि कुनै मसी र कागजको खर्च हुँदैन । मोबाइलबाट पठाउने एसएमएस, ब्यालेन्स ट्रान्सफर, बैङ्किङ कारोबार, आदि कभर्च्युअल कार्यहरु हुन् । गीतसङ्गीतका भाका र धुनसमेत भर्च्युअलरुपमा तयार गर्ने प्रचलन बढ्दै गएको छ । मोबाइल फोनमा फोटो खिचेर हेर्न सकिने भएको छ ।  डेबिट वा क्रेडिट कार्डहरु प्रयोग गरेर सामान किनबेच गर्न सकिने सुविधा भएको छ । यो भर्च्युअल कारोबार हो । मोबाइलको एप्स प्रयोग गरेर बस र प्लेनको टिकट काट्न सहज भएको छ । त्यसैगरी बार-कोड रिडरबाट सामानको विशषता, मूल्य आदि जानकारी लिन सकिन्छ । क्यु-आर कोडको प्रयोग गरेर सामानहरुको खरीद बिक्री गरिन्छ ।

हाम्रा नागरिकता, परिचयपत्र, योग्यताका प्रमाणपत्रहरु इन्टरनेटमा सुरक्षित रुपमा अपलोड गरेर राख्न सकिन्छ । त्यहीबाट प्रमाणपत्रहरु अपलोड गरेर अनलाइन निवेदनसँग संलग्न गरी पठाउन सकिन्छ । विदेश जान चाहने युवाहरुले अनलाइनबाटै आइएलटीएस आदिजस्ता विदेश जाने भाषा परीक्षा दिन्छन् । कम्प्युटर र मोबाइलमै फुटबल, टेनिस, चेस, बाघचाल आदि खेल्न सम्भव भएको छ । यी भर्च्युल खेलहरु हुन् । कम्प्युटरमा चलाउने फ्लाइट सिमुलेटरहरु पाइन्छन् । यसले प्रयोगात्मक रुपमै प्लेन उडाउन सिकाउँछ । यसरी विश्वमा दिनप्रतिदिन भर्च्युअल क्रियाकलापहरु बढदै गइरहेका छन् । हाम्रो देशमा बैङ्कका एटीएमहरुको प्रयोग बढदो छ तर भर्च्युअल मौद्रिक कारोबार गर्ने सुविधा भएका देशहरुमा एटीएम मेसिनको सङ्ख्या घटदै गएको समाचार सुन्न पाइन्छ । मोबाइलमा हुने वालेट एप भर्च्युअल थैली (पर्स)हरु हुन् ।

सामाजिक सञ्जालका वेबसाइट तथा मोबाइल एपको सहायताले सयौँ किलोमिटर टाढाको मानिसको भौतिक उपस्थिति बिनै आमने सामने कुराकानी गर्न र भेटघाट गर्न सकिन्छ । यसैगरी स्काइप, भाइबर, जुम आदिजस्ता कन्फरेन्स, भिडियो भर्च्युल मिटिङ भनिन्छ । अहिले कतिपय सङ्घसंस्थाहरुले छोटो सुचीमा परेका उम्मेद्वारहरुको मौखिक अन्तरवार्तासमेत अनलाइन विधिबाटै सञ्चालन गरी छनौट गर्ने गरेका छन् ।

भर्च्युअल सिकाइ वातावरण पनि सिर्जना गर्न सकिन्छ

भर्च्युअल सिकाइ वातावरण त्यस्तो सिकाइ वातावरण हो जहाँ व्यक्तिलाई डिजिटल उपकरणहरु जडान गरी वास्तविक वातावरणमा रहेको भान हुने गरी सिकाइ अनुभव प्रदान गरिन्छ । यस्तो वातावरणमा आँखा, कान आदि ज्ञानेन्द्रीय तथा शरीरका अङ्गहरुमा विशेष उपकरण जडान गरेर सिकाइ अनुभव प्रदान गरिन्छ । भर्च्युअल सिकाइ वातावरणमा स्मार्ट बोर्ड,  हाई-स्पिड इन्टरनेट धान्ने  कम्प्युटर वा ल्यापटप, भीआर बक्स, गुणस्तरीय हेडफोन, जोय-स्टिक आदि आवश्यक पर्दछन् । भर्च्युअल सिकाइ वातावरणको सिर्जना गरेर पृथ्वीका विभिन्न महादेश र महासागरहरुको भ्रमण, अन्तरिक्ष यात्रा, विज्ञानका जटिल प्रयोगहरु, हवाइजहाज उडाउने, भाषा सिकाइ, हिमालयहरुको भ्रमण आदिको अनुभव हासिल गराउन सकिन्छ । यसका लागि सबै विषयवस्तुहरु प्रोग्राम गरिएको हुनुपर्दछ । भरच्युअल कक्षा र सिकाइ वातावरमा फिजिकल र इन्टरयाक्टिभ दुवै प्रकारको सिमुलेसन प्रयोग गरिन्छ । यस्तो सिमुलेसन पनि लाइभ, भर्च्युअल र कन्स्ट्रक्टिभ गरी तीन प्रकारको हुन्छ । यस्ता सिमुलेसनहरु नै अहिलेको सन्दर्भमा भर्च्युअल सिकाइ वातावरण हुन् । भविष्यमा अझ आधुनिक भर्च्युअल सिकाइ वातावरण प्रदान गर्ने प्रविधि आउन सक्छन् ।

सिकाइ सिङ्क्रोनस र एसिङ्क्रोनस दुवै तरिकाबाट गर्न सकिन्छ

अनलाइन र अन-एअर माध्यममा दुई किसिमले सिकाइको सञ्चार हुन्छ : सिङ्क्रोनस र एसिङ्क्रोनस । अनलाइन वेबसाइटको प्रयोग गरेर एउटै समयमा सिक्ने र सिकाउने बीचमा आमने-सामने बसेजस्तो गरी आपसी संवाद (कन्भरसेसन), कुराकानी (च्याट), प्रश्नोत्तर, समुह छलफल (ग्रुप डिस्कसन) गर्न मिल्ने भर्च्युअल वातावरणलाई सिङ्क्रोनस सिकाइ भनिन्छ । यस्तो सिकाइ माध्यमले आमनेसामने कुराकानी गर्न अप्ठेरो मान्ने र विशेषत: इन्ट्रोभर्ट प्रकारका व्यक्तिलाई समूहमा कुराकानी गरेर सिक्न मद्दत गर्दछ । तर एसिङ्क्रोनस सिकाइमा यस्तो हुँदैन । एसिङ्क्रोनस सिकाइका लागि सामग्रीहरु पहिले नै  इन्टरनेट, इमेल, युट्युब, आदिमा उपलब्ध हुन्छन् । एसिङ्क्रोनस आफूले चाहेको समयमा अनलाइन लिङ्क खोलेर यी सामग्रीहरु हेर्न, पढन, सेभ गर्न, डाउनलोड गर्न र प्रयोग गर्न पाउँछन् । युट्युब हेरेर मानिसले विभिन्न किसिमका प्रोटोटाइप उपकरण र सामग्रीहरु बनाएर प्रदर्शन गरेको र विभिन्न प्रकारका परिकार पकाउन सिकेको हामीले देखेकै छौँ । सिङ्क्रोनसमा सिकाइ डाइनामिक र लाइभ हुन्छ तर तोकिएको समयमा उपलब्ध हुनुपर्ने, प्राविधिक असुविधाले प्रष्ट नसुनिने आदि समस्याहरु आउन सक्छन् । एसिङ्क्रोनस सिकाइमा सिकारुले आफ्नो क्षमता र गति अनुसार पढन सिक्न पाउँछन् तर यसको अधिक उपयोगबाट एक्लै बसेर पढने (इन्ट्रोभर्टनेस) बानीको विकास हुन सक्छ र पृष्ठपोषणको पनि कमी हुन सक्छ ।

डिजिटल नेटिभ, डिजिटल माइग्रेन्ट र डिजिटल डाइनोसर

भर्च्युल सिकाइलाई प्रणाली सफल बनाउनका लागि डिजिटल नेटिभ र डिजिटल माइग्रेन्टको स्थान महत्वपूर्ण हुन्छ । कम्प्युटर तथा डिजिटल टेक्नोलोजीको अवधिमा जन्मेका र हुर्केका व्यक्तिहरु डिजिटल नेटिभमा पर्दछन् । यस्ता व्यक्तिहरु सानै उमेरदेखि कम्प्युटर तथा इन्टरनेटसित परिचित हुन्छन् । तर डिजिटल माइग्रेन्ट भनेका त्यस्ता व्यक्तिहरु हुन्, जसले पुस्तक पढेर, कार्यथलोमा मानिसले प्रयोग गरेको देखेर कम्प्युटर तथा इन्टरनेटका बारेमा जानकारी पाएका हुन्छन् । यी दुई बीचको अन्तर जति बढी भयो, त्यति बढी डिजिटल डिभाइड हुन्छ भनिन्छ । यो डिभाइडलाई अन्त गर्न कार्यथलोमा कम्प्युटरको प्रयोग गर्ने अवसर प्रदान गर्नुपर्दछ । डिजिटल नेटिभहरु भर्च्युअल सिकाइमा रमाउँछन् ।  डिजिटल नेटिभ र डिजिटल माइग्रेन्ट मध्ये कुनै एउटा पनि बन्ने अवसर नपाएका व्यक्तिहरु डिजिटल डाइनोसर बन्न सक्ने सम्भावना हुन्छ । डिजिटल नेटिभ र डिजिटल माइग्रेन्ट तथा डिजिटल डाइनोसर शब्द मार्क प्रेन्स्कीले सन् २००१ मा प्रयोग गरेका थिए ।

भर्च्युअल कार्य वातावरण सुगम-दुरगम दुवै ठाउँका लागि हो

झट्ट सुन्दा भरच्युअल सिकाइ वातावरण सुगम र सुविधा सम्पन्न स्थानमा मात्र सम्भव हो जस्तो लागेता पनि खासमा यसबाट भौगोलिक रुपमा विकट र दुर्गम स्थानमा रहेका व्यक्तिले नै बढी लाभ पाउन सक्छन् । उदाहरणका लागि स्मार्ट मोबाइल फोनलाई हेरौँ । स्मार्ट फोनबाट हुने भर्च्युअल कामको प्रयोगले सामाजिक विभेद तथा भौगोलिक विकटतालाई कम गर्न ठूलो मद्दत गरेको छ । यस्तो स्थानमा इन्टरनेट सुविधा राम्रो हुन आवश्यक छ । इन्टरनेट सुविधा छैन भने इन्ट्रानेट वाइफाइ बनाएर सिङ्क्रोनस र एसिङ्क्रोनस उपकरणहरु प्रयोग गर्न सकिन्छ । डिजीटल टेक्नोलोजीले भौतिक दूरी र भौगोलिक विकटताको अनुभूति कम गर्छ । हुने र नहुने (ह्याभ र नट-ह्याभ) बीचको सामाजिक रहजनसहनको अन्तरलाई कम गर्छ । व्यवस्थापकीय व्ययभारलाई मितव्ययी बनाउँछ ।

लेखक बाँकेकाे कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख हुन् ।

 

A Levels MA
I Tech store