उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपति कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरे

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने उपकुलपति कार्यालयको प्राङ्गणमा आमरण अनसनमा बसेका छन् । 

उपप्राध्यापक चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका हुन् । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो ।त्यो निर्णयविरुद्ध सोमबार बिहान जिल्ला अदालत काठमाडौंमा आमरण अनसन बस्न लागेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

हिरासतबाट छुटे लगतै उनी उपकुलपति कार्यालय अगाडि आमरण अनसनमा बसेका हुन् ।कांग्रेस नेता बालकृष्ण खाँण र कृष्णप्रसाद सिटौलाले लाख कोसिस गर्दा समेत मन्त्रिपरिषदमा लान नसकेको यो मुद्दालाई वर्तमान सरकारले सजिलै फिर्ता लिएको भन्दै उनले आक्रोश पोखेका छन् ।

‘अहिलेसम्म धैर्य भएर पर्खेको थिएँ । अब मेरा सबैबाटो बन्द गरेपछि आज यहीबाट सत्याग्रह सुरु गर्दैछु,’ चलाउनेले विज्ञप्तिमा भनेका छन् ।२० असोज २०७७ मा हरि आचार्य, योगेन्द्र रावल लगायतले आक्रमण गरेका थिए ।