A Levels MA

हचुवामा नियुक्तिः आवेदन नदिएकाहरुबाटै विश्वविद्यालयमा उपकुलपति

आवेदन नदिएकाहरुबाटै विश्वविद्यालयमा उपकुलपति नियुक्ती गरिएको पाइएको छ । मन्त्री परिषद् वैठकले ६ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ती गरेपनि ती मध्ये केहि विश्वविद्यालयमा नियुक्त भएका उपकुलपतिले आवेदननै दिएका थिएनन् ।

तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उपकुलपति छनौटका लागि दरखास्त भर्नुपर्ने व्यवस्था ल्याएको बताएका थिए । विश्वविद्यालयका उपकुलपतिका लागि सार्वजनिकरूपमा वैयक्तिक विवरण माग गरेपनि सो बमोजिम उपकुलपति नियुक्त नगरेको पाइएको छ । 

शिक्षामन्त्री र छनोट समितिका संयोजकले आवेदन दिएका बाहेकलाई रोस्टरमा नराखिने र सोही रोस्टरका आधारमा तीन जनाको नाम सिफारिस गर्ने भनेका थिए । तर उनीहरुले आवेदन नदिएका आफ्नाहरुको नाम पनि रोस्टरमा समावेश गरेको पाइएको छ । आफैले नाम समावेश गरी तयार गरेको रोस्टरबाट नयाँ उपकुलपति नियुक्त गरिएको छ ।

मन्त्री परिषद्ले नेपाल संस्कृत विश्वविद्यालमा प्रा.डा . प्रेमनारायण अर्याल, सुदुरपश्चिम विश्वविद्यालयमा प्रा.डा. अमरराज जोशी, पोखरा विश्वविद्यालयमा प्रा. डा. इन्द्र तिवारी, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. डा. यादवराज कोईराला, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा. नन्दबहादुर सिंहलाई उपकुलपतिमा नियुक्त गरेको थियो ।  

यसअघि यी विश्वविद्यालय उपकुलपति विहिन थिए । उपकुलपतिमा सिफारिस भएका प्रा.डा. प्रेमनारायण अर्यालले  आफूले निवेदन नदिएको र सरकारले पत्याएर उपकुलपति बनाएको स्वीकार गरे । 

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.उषा झाले शिक्षा मन्त्रालयले रोष्टरबाट नाम लिइएको हुन सक्ने बताईन् । आयोगमा शिक्षा हेर्दै आएकी सदस्य प्रा.डा.झाले भनिन्, ‘रोष्टरमा नाम भएको पनि उपकुलपति हुन सक्छ । अतिरिक्त आवेदन पनि माग भएको थियो । ’

सरकारले पोखरा, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तीनवटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो आह्वान गरेको हो । आवेदनका आधारमा रोस्टर तयार गर्ने र त्यसबाट योग्य व्यक्तिलाई उपकुलपतिका रूपमा सिफारिस गर्ने नयाँ अभ्यासको थालनी गरेपनि कार्यान्वयनमा आउन सकेको छैन । 

Thuprai - Books and E-books