विद्यार्थीलाई दैनिक पाँच रुपियाँको तरकारी !

Thuprai - Books and E-books

पाँच रुपियाँ लिएर तरकारी बजारमा जानुभयो भने कति थरिका कति परिणाममा तरकारी किन्न सक्नुहुन्छ ? अब त पाँच रुपियाँमा एक मुठा हरियो धनियाँ पनि हात पर्दैन ।

सुन्दा पत्यार नलाग्न सक्छ काठमाडौँको तीनधारा पाकशालामा बस्ने विद्यार्थीलाई राज्यले तरकारी खान दैनिक पाँच रुपियाँ उपलब्ध गराउँदै आएको छ ।

आवासीय रूपमा त्यहाँ बस्ने संस्कृतका विद्यार्थीलाई खान्कीका रूपमा पाँच रुपियाँको तरकारीबाहेक दाल, भात र दैनिक एक तोला घ्यू उपलब्ध गराउने गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले ठेकेदारमार्फत दाल र चामल पाकशालालाई उपलब्ध गराउँछ । तरकारी र घ्यूवापतको रकम पाकशालालाई सिधै उपलब्ध गराउने गरिएको छ ।

तीनधारा पाकशालाका सुपरीवेक्षक डा. प्रकाश ढकालले एक तोला घ्यू दिने चलन पुरानै रहेको बताउँदै भने, “एक तोला घ्यूको २५ रुपियाँ र तरकारीको पाँच रुपियाँले तरकारी, मरमसला किन्नुपर्छ । महंगो तरकारी किन्न सकिँदैन ।” ठेकेदारमार्फत उपलब्ध गराइने भएकाले बाहै्मास कालो मासको दाल पाक्ने गरेको छ ।

पाकशालाको भान्साको अवस्था पनि निकै बेहाल छ । निकै पुरानो भान्सा भएकाले निकै अव्यस्थित छ । फोहोर र जीर्ण देखिन्छ ।

प्रधानमन्त्री वीरशमशेरका पालादेखि अनिवार्य रूपमा धोती लगाएर खाने चलन भएकोमा मुलुकमा गणतन्त्र स्थापना भएपछि धोती लगाउने चलन हटाइयो । विद्यार्थीहरु पिर्कामा बसेर खाए पनि अचेल पाइन्ट र टिसर्ट लगाएरै खाना खाने गरेका छन् । विगतमा नयाँ प्रवेश गर्ने विद्यार्थीलाई एक जोर धोती दिने चलन थियो । “धोती दिने चलन पनि २०६२÷६३ सालको आन्दोलनपछि हट्यो” पाकशालाका सुपरीवेक्षक डा. ढकालले भने ।

पाकशालामा बस्ने विद्यार्थीलाई स्थापनाकालदेखि नै सिरक डस्ना उपलब्ध गराउने गरिन्थ्यो । यसरी उपलब्ध गराउने क्रमले दोस्रो जनआन्दोलनसम्म निरन्तरता पायो । गणतन्त्र आएपछि विद्यार्थीले सिरक डस्ना पाउने अधिकार पनि गुमाउनुप¥यो ।

गणतन्त्र आएपछि ब्राह्मणबाहेकका जातिका विद्यार्थीका साथै छात्रा पनि पाकशालामा बस्न पाउने नियम बन्यो । अहिले तीन जना दलित छात्र छन् भने छात्रा नरहेको केही वर्ष भएको छ ।

गैरब्राह्मण विद्यार्थीले पाकशालामा बसी संस्कृत विषयको पढाइ पूरा गरेर गृह जिल्ला फर्किएपछि क्रिस्चियन धर्म अँगालेका थुप्रै उदाहरण भएको पाकशालामा रहँदै आएका केही विद्यार्थीहरू सुनाउँछन् ।

एक विद्यार्थीले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “कतिपय निःशुल्कमा बस्न र खान पाइन्छ भनेर आएका हुन्छन् । उनीहरूमा पढाइप्रति त्यति लगन देखिँदैन ।”

रानीपोखरीस्थित संस्कृत विद्यालय र प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठका विद्यार्थी आवासीय रूपमा पाकशालामा बस्दै आएका छन् । १९४३ सालमा निर्माण भएको पाकशालाको भवन मर्मत हुनसकेको छैन ।डा. ढकालले भवन निकै पुरानो भएकाले जीर्णाेद्धार हुनुपर्ने बताउँदै भने, “बलियो शैलीबाट बनाइए पनि निकै पुरानो भएकाले मर्मत गरिदिए सुरक्षित हुने थियो ।”  

पाकशालामा बस्न संस्कृत माविमा कक्षा ८ देखि १० सम्मका ४३ जनाको कोटा तोकिएको छ । वाल्मीकि विद्यापीठका ६९ कोटा तोकिएको छ । हाल संस्कृत माविका १६ र विद्यापीठका ३१ जना पाकशालामा बस्ने गरेका छन् । तोकिएको कोटाअनुरूप विद्यार्थी पाकशालामा रहँदैनन् । धरान, सुनसरी लगायतका विद्यार्थी सम्बन्धित जिल्लामा नै बसेर अध्ययन गर्ने भएकाले अचेल काठमाडौँ नआउने भएकाले पाकशालामा पनि कोटाअनुरूप विद्यार्थी भरिन नपाएको बताइन्छ ।

‘राणाकालीन शिक्षा’ पुस्तकमा प्रधानमन्त्री जङ्गबहादुरका भाइ धीरशमशेरले लखनउको लडाइबाट फर्किएपछि १९३८ साल वैशाखमा शिवालय र पाकशाला निर्माण गरिदिएको उल्लेख छ । सुरुमा ५४ जनाको कोटा तोकिएको थियो । वीरशमशेरले काकाको हत्या गराएपछि त्यो पाप मेटाउन प्रायश्चित स्वरूप ५४ जना थपिदिएका थिए ।

२००४ सालको जयतु संस्कुतम् आन्दोलन पाकशालाका विद्यार्थीले गरेका थिए । प्रजातान्त्रिक इतिहासमा सो आन्दोलनको चर्चा नभएमा इतिहास नै अपुरो हुन्छ ।

रानीपोखरीको संस्कृत पाठशालामा पढ्नेहरूका लागि पाकशाला स्थापना गरिएको हो । त्यो बेला उपत्यकाबाहिरबाट आएका विद्यार्थीलाई डेरा दिने चलन खासै नभएकाले छात्रावासका रूपमा पाकशाला स्थापना गरिएको थियो । नजिकै तीनवटा धारा भएको ढुङ्गेधारा थिए । त्यसैले सो पाकशालाको नाममा तीनधारा जोडिन पुगेको थियो । अचेल त्यो ढुङ्गेधारा सडक विस्तारका कारण पाकशालाको ठिक उत्तरतर्फको सडक पारी रहेको छ । तीनधारा पाकशालाको नाम अपभ्रंस भएर अचेल तीनधारा पाठशाला भन्ने गरिएको छ ।