
काठमाडौं: ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीमा रहेका युलेन्स एजुकेसन फाउन्डेसनका विद्यालयमा केही दिनअघि भएको तोडफोड, लुटपाट र आगजनीका कारण विद्यालयलाई करिब १ अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। जेन-जीले आह्वान गरेको आन्दोलनको आडमा भएको यो घटनापछि फाउन्डेसनले एक सार्वजनिक वक्तव्य जारी गर्दै यस दुखद घटनाको जानकारी गराएको हो।
घटनाको विवरण
युलेन्सले जारी गरेको विज्ञप्तिअनुसार, जेन-जीले “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको शान्तिपूर्ण प्रदर्शन गत सेप्टेम्बर ८ मा सुरु भएको थियो। त्यस दिन विद्यालयमा सामान्य पठनपाठन भइरहेको थियो। तर, दिउँसो दुई बजेतिर गोली चलेको र विद्यालयको पोशाकमा रहेका १९ जना विद्यार्थीसहितको मृत्यु भएको खबर सार्वजनिक भएपछि र सरकारले केही क्षेत्रमा कर्फ्यु लगाएपछि विद्यालयलाई आफ्ना १,४४० भन्दा बढी विद्यार्थी र ५०० भन्दा बढी शिक्षक कर्मचारीलाई सुरक्षित घर पुर्याउन निकै कठिनाइ भएको थियो।
सेप्टेम्बर ९ का दिन आन्दोलनको आवरणमा देशभर लुटपाट, तोडफोड र आगजनी मच्चाइएको थियो। त्यही क्रममा बिहान ११ बजेतिर ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीस्थित युलेन्सका विद्यालय भवनमा समेत आक्रमण भएको फाउन्डेसनले जनाएको छ। घटनाका बेला भौतिक उपस्थितिमा पठनपाठन सम्भव नभएकाले अनलाइन कक्षा सञ्चालन भइरहेको थियो, तर यो खबरले विद्यार्थी र शिक्षकहरूबीच त्रास र कोलाहल मच्चिएको थियो।
क्षतिको भयावह तस्विर
आगजनीका कारण विद्यालयको ५ वटा भवन, बाँसबारीस्थित ३ वटा भवन र काभ्रेको नालास्थित आउटडोर लर्निङ सेन्टरमा रहेका संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। फाउन्डेसनका अनुसार, यस विध्वंसमा ८३ वटा गाडीहरू जलाइएका छन्। कम्प्युटर, स्मार्ट बोर्ड, फर्निचर लगायत सबै भौतिक सामग्री कि त जलाइएका छन् कि त लुटिएका छन्। विद्यार्थीका सम्पूर्ण अभिलेख, प्रमाणपत्र, किताब र स्टेशनरीसमेत जलेर खरानी भएका छन्। यस घटनाबाट १,४६१ विद्यार्थीको भविष्यमा गहिरो अनिश्चितता छाएको छ भने ५०० भन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ।
अफवाह र दुष्प्रचारको शिकार
फाउन्डेसनले डा. आरजु राणा देउवालाई जोडेर फैलाइएको गलत सूचना र अफवाहका कारण यो घटना भएको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “राजनीतिमा आबद्ध कुनै व्यक्ति व्यवस्थापन समितिमा रहेकै कारण प्रतिशोध साध्दै तिनै राजनीतिक व्यक्तिले पैसा कमाउन खोलेको विद्यालय हो भन्ने भाष्य निर्माण गरेर सिङ्गो समाजलाई मिथ्या सूचना र अफवाहको बन्धक बनाउने स्वार्थी तत्वले युलेन्समाथि यो तहको विध्वंस मच्चाएको हो।”
फाउन्डेसनले डा. आरजु राणा देउवाको यस विद्यालयमा कहिल्यै स्वामित्व नरहेको र यो कुनै व्यक्तिविशेषको नाफा कमाउने कम्पनी नभई मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको प्रस्ट पारेको छ। कम्पनी ऐनअनुसार, यस्ता कम्पनी बन्द भएमा त्यसको सम्पूर्ण सम्पत्ति राज्यको हुने व्यवस्था छ। फाउन्डेसनले यस्तो यथार्थ हुँदाहुँदै पनि अफवाह फैलाउने तत्वहरूले समाजमा विष घोलेको आरोप लगाएको छ।
स्थापनाको इतिहास
सन् २००६ मा स्थापना भएको युलेन्स एजुकेसन फाउन्डेसनको स्थापनामा बेल्जियन नागरिक मिरियम युलेन्स, परोपकारी व्यक्ति गाई युलेन्स र नेपाली समाजसेवी सोम पनेरुको महत्वपूर्ण भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ। सुरुमा ह्याप्पी होम नामक बालगृहबाट सुरु भएको यो यात्रा पछि गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले युलेन्स स्कुलमा परिणत भएको थियो। यो विद्यालय शुल्क तिर्न नसक्ने २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिएर पढाउने मोडलमा सञ्चालित रहेको र यो प्रणाली आजसम्म पनि निरन्तर रहेको फाउन्डेसनले जनाएको छ।
सरकार र समाजसँग अपिल
यस दुखद घडीमा फाउन्डेसनले राज्य, नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवाला निकायहरूसँग सहयोगको अपिल गरेको छ। फाउन्डेसनले विद्यालयमाथि आक्रमण गर्ने अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ र भविष्यमा यस्ता घटनाबाट सुरक्षित रहने विश्वास दिलाउन अपिल गरेको छ।
युलेन्सले यो घटनाबाट आफूहरूलाई लागेको गहिरो चोट र अनिश्चितताको भाव व्यक्त गर्दै भनेको छ, “आगो लगाइएका भवनहरू फेरि पनि उभिएलान्। तर, यो आगोबाट बीभत्स रूपमा खरानी बनाइएको युलेन्सको विस्तारित समुदायको संवेग, अनुभव र जीवन कसरी बौराउने भन्ने सङ्गीन र कारुणिक मोडमा हामी उभिएका छौं।” फाउन्डेसनले यस घटनालाई केवल युलेन्सको मात्र नठानी राज्य र नागरिक समाजले पनि यसको उत्तर खोज्नुपर्नेमा जोड दिएको छ।