त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड

 आज त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा तोडफोड गरिएको छ ।

विद्यार्थीको एक समूहले उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेका हुन् । आक्रोसित विद्यार्थीको समूहले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए । तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सरह शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि सामान्य तोडफोड भएको अध्यक्ष पराजुलीले बताए ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले उक्त घटनाको विरोध गरेको छ । राज्यसत्ताको आडमा प्राज्ञिक क्षेत्रलाई रणभूमि बनाउन खोजेको भन्दै अनेरास्ववियुको त्रिवि कमिटीले विरोध जनाएको हो ।

इन्चार्ज मदन विष्ट र अध्यक्ष शम्भुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रक्रियामा संलग्न दोषीमाथि तुरुन्त कडा कारबाहीको समेत माग गर्दछौं साथै सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने व्यक्तिहरुमाथि अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं ।’