Select college / campus

कक्षाकोठामा अन्तरक्रियात्मक विधिको प्रयोग कसरी गर्ने

Admission edusanjal

यहाँ छलफल गरिएका विधि म आफैंले विभिन्न स्रोत सामाग्रीबाट खोजी नेपाली सन्दर्भअनुसार प्रयोग गरेका तथा केही आफैं उत्पादन गरेका अन्तरक्रियात्मक विधि हुन् । यहाँ उल्लेख गरिएका प्राय सबै विधि मैले विद्यालयका कक्षाकोठामा सबै तहका विद्यार्थीसंग प्रयोग गरिसकेको हुनाले शिक्षकले ढुक्क भएर प्रयोग गर्न सक्नुहुनेछ । परम्परागत संरचनाका कक्षाकोठामा समेत यी विधि उपयुक्त देखिएको छ । करिब ५०० भन्दा बढी यस्ता सरल विधि क्रमश: विभिन्न भागमा समावेश गर्दै जानेछु। शिक्षक साथीहरुले कमेन्टमा आफ्ना धारणा, प्रयोग गरेका विभिन्न अनुभव तथा अन्य सुझाव उल्लेख गर्न सक्नुहुनेछ !

शिक्षणमा अन्तरक्रियात्मक विधि

१. चित्र बयानः Picture Description

विद्यार्थीलाई कुनै एक चित्र देखाउनुहोस । आफूले वर्णन नगर्नुहोस । उनीहरुलाई त्यस चित्रको बारेमा बताउन लगाउनुहोस । अथवा, विद्यार्थीलाई त्यस चित्रको बारेमा लेख्न लगाउनुहोस । उनीहरुको आफ्नो क्षमता तथा तह अनुसार त्यसलाई बयान, व्याख्या, विश्लेषण, तुलना लगायत गर्न लगाउनुहोस । यो गतिविधिलाई व्यक्तिगत वा समुहगत रुपमा पनि प्रयोग गर्न सक्नुहुनेछ । विद्यार्थीले आफ्नो धारणा वा जवाफ राखिसकेपछि मात्र तपाइंले आफ्नो भनाइ राख्नुहोस ।

२. थिङ्क ब्रेक Think Break

कुनै एउटा आलंकारिक प्रश्न सोध्नुहोस । विद्यार्थीलाई २०–३० सेकेण्ड त्यस प्रश्नको जवाफ सोच्न लगाउनुहोस । साथीसंग छलफल गर्न नदिनुहोस । कसैको सहयोग नलिई कसरी यस्ता समस्याको समाधान गर्न सकिन्छ भनेर यस्ता गतिविधिले उनीहरुलाई प्रोत्साहन गर्न सक्दछन ।

विद्यार्थीले सोचिसकेपछि उनीहरुलाई जवाफ लेख्न लगाउनुहोस । लेखेको जवाफ भन्न लगाऊनुहोस । आफूले पनि आफ्नो धारणा बताइदिनुहोस ।

३. नोट अपडेटः Note Update

विद्यार्थीले तयार पारेका नोट एक अर्कामा तुलना गरेर मिलाउन २–३ मिनेटको समय दिनुहोस । उनीहरले एक अर्काले तयार पारेका नोटबारे सामान्य छलफल गर्नेछन । नबुझेका थप कुराको सामुहिक प्रश्न तयार गर्न सक्नेछन ।

४. सामुहिक जवाफः Choral Response

विद्यार्थीलाई एक शब्दमा उत्तर आउने प्रश्न सोध्नुहोस । यसबाट विद्यार्थीले कति बुझ्न सकेका रहेछन भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ । कहिले काहीं बोर्डमा नयाँ शब्द लेखिदिएर विद्यार्थीलाई सामुहिक उच्चारण गर्न वा अर्थ बताउन सक्नुहुनेछ ।

५. शब्दजाल अनुमानः Word Cloud Guessing

कुनै एउटा नयाँ शीर्षक वा अवधारणा सुरु गर्नुपूर्व त्यस शीर्षकसंग सम्बन्धित शब्दाजालो बनाएर देखाउनुहोस । विद्यार्थीलाई कुन विषयमा पढ्न लागिएको होला भनेर अनुमान गर्न लगाउनुहोस ।

६. कथा वाचनः Story Telling

पढाउन लागिएको विषयवस्तुलाई वास्तविक जीवनसँग ढालेर कथा बनाउनुहोस र कक्षामा वाचन गर्नुहोस । विद्यार्थीलाई पनि त्यसै गरी विषयवस्तुले दिन खोजेको मूल संदेश, उपाय वा सिद्धान्तलाई कथा बनाएर आफ्नै ढंगले वाचन गर्न प्रोत्साहन गर्नुहोस ।

७. थिङ्क. पेयर, शेयर Think, Pair, Share

विद्यार्थीलाई कुनै कार्य गर्न दिनुहोस । उनीहरुले लेखेको उत्तर एक अर्काको कपी साटेर पढ्न लगाउनुहोस । साथीले लेखेको उत्तरको समीक्षा गर्न लगाउनुहोस ।

८. रिवर्स सोक्रेटिक प्रश्नः Reverse Socratic Question

भोलिपल्ट पढाउन लागिएको पाठको बारेमा बताउनुहोस । विद्यार्थीलाई उक्त पाठको बारेमा मनमा लागेका विभिन्न जिज्ञासा र प्रश्न लेखेर ल्याउन लगाउनुहोस ।

भोलिपल्ट कक्षामा आफू नबोल्नुहोस । विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिनुहोस । अझ प्रश्न सोध्न प्रोत्साहित गर्नुहोस । यस प्रक्रियाबाट विद्यार्थी ज्ञानको गहिराइसम्म पुग्न सक्दछन । यो क्रियाले सिक्ने कौतुहलता र जिज्ञासा निर्माण गर्दछ ।

९. सोक्रेटिक प्रश्नः Socratic Questions

शिक्षकले पढाउनु पर्ने पाठका विषयमा रहेर विद्यार्थीलाई प्रश्न गर्नुहोस । मूल मर्म र प्रश्नलाई ध्यानमा राखेर विद्यार्थीलाई एक पछि अर्को प्रश्न सोधिरहनुहोस । विद्यार्थीले एकल वा सामुहिक रुपमा जवाफ दिन सक्नेछन । नजानेका प्रश्नहरु संकलन गरेर सामुहिक रुपमा छलफल गर्न लगाउनुहोस । पाठ पढाउन सुरु गरे पछि विद्यार्थीसंग भएको ज्ञानको अवस्थालाई हेरेर सुरु गर्नुहोस ।

१०. Pass the Pointer

एउटा जटिल प्रकारको वर्णनात्मक चित्र स्क्रिनमा देखाउनुहोस । स्क्रिन सम्भव नभएमा ठूलो आकारमा प्रिन्ट गर्नुहोस वा चार्ट पेपरमा आफैं बनाउनुहोस । चित्रलाई सबैले देख्ने गरी झुण्ड्याउनुहोस । कोही एक विद्यार्थीलाई लेजर लाइट वा छडीले चित्रको कुनै एक भाग देखाउन लगाउनुहोस । देखाइएको उक्त भागको बारेमा बताउन वा छलफल गर्न लगाउनुहोस । विद्यार्थीले बताउन नसकेको कुरा आफूले बताइदिनुहोस ।

पाठ पढाउनु अघि वा पढाइसकेपछि विषयवस्तुसंग सम्बन्धित रहेर मुख्य निष्कर्षलाई चित्रात्मक ढंगले छलफल गर्दा बुझाइ गहिरो हुन सक्दछ ।

११. पछाडि फर्कनुहोस: Turn My Back

विद्यार्थीको विपरीत हुने गरी कक्षाको पछाडिपट्टि फर्किनुहोस । कति जना विद्यार्थीले गृहकार्य गरे, वा कति जनाले कपी ल्याए होलान, वा कतिले पढेर आए होलान भनेर बुझ्न पहिले प्रश्न सोध्नुहोस र हात उठाउन लगाउनुहोस । अब हात झार्न लगाएर विद्यार्थी भएतिर फर्किनुहोस । कति विद्यार्थीले हात उठाए होलान भनेर प्रतिशतमा विद्यार्थीलाई नै सोध्नुहोस । यसले विद्यार्थी कुन हदसम्म तयार रहेछन भनेर बुझ्न सजिलो हुनेछ ।

१२. खाली नोट Empty Outlines

आफूले पढाउने पाठको मुख्य बुँदा राखेर आउट्लाइन बनाउनुहोस । सबै विद्यार्थीलाई एक एक प्रति वितरण गरेर त्यसलाई भर्न लगाउनुहोस । यसो गर्दा विद्यार्थीले बुझे नबुझेको पत्ता लगाउन सक्नुहुनेछ । कक्षाको सुरुमा वा अन्त्यमा यो गतिविधि उपयुक्त हुन सक्नेछ ।

१३. विचार संग्रहः Classroom Opinion Polls

कुनै पनि विषयको बारेमा स्पस्ट हुनको लागि विद्यार्थीलाई प्रश्न सोधी हात उठाउन लगाएर अनौपचारिक रुपमा उनीहरुको विचार बुझ्न सकिन्छ । प्राय विद्यार्थीको दृष्टिकोण, विचार वा धारणा लिने सवालमा यो विधि उपयुक्त हुन सक्दछ । हो÷होइन मा उत्तर दिन मिल्ने कतिपय प्रश्न यो विधिबाट सोध्न सकिन्छ ।

१४. छलफल रोलः Discussion Row

शिक्षकले सोधेका प्रश्नको जवाफ दिएर उत्कृष्ट क्रेडिट कार्ड प्राप्त गर्ने विद्यार्थीलाई कक्षाको अघिल्लो बेञ्चमा बस्ने अवसर पाउनेछ । अथवा जान्ने, नजान्ने विद्यार्थीलाई मिलाएर बनाइएको समूहमध्ये शिक्षकसँगको अन्तरक्रियामा सहभागी हुने उत्कृष्ट विद्यार्थीलाई पहिलो बेन्चमा राख्न सकिन्छ । यो गतिविधिले विद्यार्थीलाई जहिल्यै तयार अवस्थामा रहेको पाउनुहुनेछ ।

१५. पूर्ण शारीरिक क्रियाः Total Physical Response

विद्यार्थीलाई हो वा होइन, सही वा गलत जस्ता उत्तर आउने प्रश्न सोध्नुहोस । जवाफको सट्टामा उठ्न वा बस्न लगाउनुहोस । जस्तै सही भए उठ्ने, गलत गवाफ भए बस्ने ।

१६. विद्यार्थी पोलिंग Student Polling

केही विद्यार्थीलाई स्वयम् सेवकका रुपमा चयन गर्नुहोस । उनीहरुलाई कक्षाकोठाभित्रका सबै विद्यार्थीलाई भेट्न लगाउनुहोस । पढाएका पाठको विषयमा उनीहरुले तयार पारेका नोट, कक्षा कार्य, बुझाइ लगायतका कुरा अवलोकन गर्न लगाउनुहोस । अवलोकन पश्चात कक्षामा प्रस्तुति दिन लगाउनुहोस । यो प्रक्रियालाई नियमित रुपमा गर्न हरेक नयाँ पाठमा नयाँ विद्यार्थीलाई अवलोकनका लागि पठाउनुहोस । यसले हरेक विद्यार्थीको सहभागितामूलक सिकाइको सुनिस्चितता गर्दछ ।

१७. स्व–मुल्यांकनः Self Assessment

विद्यार्थीको सिक्ने शैलीको पहिचान गरेर उपयुक्त अनुसारको प्रश्नावली तयार गर्नुहोस । यसो गर्दा एउटै कोठामा फरक फरक प्रश्नावली रहन सक्दछन । श्रव्य, दृश्य, गतिविधिमुलक प्रतिनिधित्व गर्ने प्रश्न छनौट गरी विद्यार्थीलाई स्वमूल्याङ्कन गर्न लगाउनुहोस ।

१८. कोटेसन खेलः Quotation Game

तपाइंले पढाउने पाठको मूल अंश समेटिने गरी एउटा महत्वपुर्ण वा प्रचलित भनाइ÷उखान निर्माण गर्नुहोस I त्यसमा तपाइंले पाठको मूल अंश समेटिएको शब्द हटाएर बोर्डमा लेख्नुहोस । तपाइंले के पढाउन लाग्नु भएको होला भनेर विद्यार्थीसंग अन्तरक्रिया गर्नुहोस । सबै पाठमा उखान नमिल्न सक्दछ, यसको सट्टा गीत वा कुनै अर्को सृजनात्मक उपाय अबलम्बन गर्न सक्नुहुनेछ । यसले विद्यार्थीमा प्रचुर जिज्ञासा उत्पन्न गराउन सक्दछ ।

१९. आचरण निर्माण

यो गतिविधि विद्यार्थीको आचरण निर्माणका सवालमा अति उपयोगी हुन सक्दछ । विद्यार्थीलाई दैनिक रुपमा कुनै न कुनै प्रकारको अनुशासन वा आचरण सम्बन्धी केस स्टडी (Case Study) गर्न दिनुहोस र छलफल चलाउनुहोस । कुनै कथा वाचन गरेर किन त्यसो भएको होला, त्यसलाई सुधार गर्न के गर्नुपर्ला ? भनेर छलफल चलाउन सक्नुहुनेछ । विद्यालयमा जंक फुड अर्थात पत्रु खानाको प्रयोग रोक्न के गर्नु पर्छ होला ? जस्ता प्रश्न समेटी छलफल चलाउन सक्नुहुनेछ ।

२०. सामुहिक पढाइ, लेखाइ रिले Group Relay

कक्षालाई तीन समुहमा विभाजन गर्नुहोस । पहिलो समुहलाई एउटा छोटो अनुच्छेद निश्चित समय तोकेर पढ्न दिनुहोस । आफुले पढेको कुरा दोस्रो समुहलाई कानमा भन्न लगाउनुहोस । दोस्रो समुहलाई आफुले सुनेको कुरा लेख्न लगाउनुहोस । दोस्रो समुहले लेखेको कुरा तेस्रो समुहलाई पढ्न लगाउनुहोस । यो सामुहिक गतिविधि कुनै पनि पाठको सारांश निर्माणका लागि अति उपयुक्त हुन सक्दछ ।

२१. कुन सही ? Polar Opposites

एउटा सही र अर्को त्यसको ठीक विपरीत बनाएर कुनै सिद्धान्त वा पाठको मूल अंश समेटिएको वाक्य विद्यार्थीलाई दिनुहोस । दुई वाक्य मध्ये कुन सही वा कुन गलत ? कारणसहित छलफल गर्न लगाउनुहोस । यसलाई समुहगत वा व्यक्तिगत रुपमा पनि छलफल गर्न लगाउनुहोस ।

२२. रोल मोडल Role Model

विद्यार्थीलाई कुनै उदाहरण पेश गर्दा पुस्तकमा भएका औपचारिक मात्र होइन, उनीहरुको रुचि, स्वभाव वा उनीहरुलाई मन पर्ने क्रिकेटर, सेलिब्रिटी, गायक लगायतको उदाहरण पेश गरेर बताउनुहोस । यसले सिकाइमा उनीहरुको अभिरुचि जाग्दछ ।

२३. अनुमान गर्न लगाउनुहोसः Guess It

नयाँ पाठ सुरु गर्नुपुर्व विद्यार्थीलाई केही रोचक तथा सस्पेन्स निर्माण गर्ने प्रश्न सोध्नुहोस । उनीहरुलाई अनुमान गर्न लगाउनुहोस । सही वा गलत के भनेर आफूले केही नभन्नु होस । यसले उनीहरुमा उत्सुकता निर्माण हुन सक्दछ ।

२४. व्यक्तिगत उदाहरण पेश गर्नुहोस Make it Personal

कक्षाकोठाका गतिविधिलाई विद्यार्थीको वास्तविक जीवनसँग जोडिने गरी निर्माण गर्नुहोस । कुनै निबन्ध, कथा लगायत बनाएर पेश गर्नुहोस । तर तपाइंले पेश गर्ने उदाहरणले विद्यार्थीको मानहानी गर्न भने हुँदैन । विद्यार्थीले विशयवस्तुसंग आधारित रहेर एक अर्काका कथा सुनाउने वातावरण निर्माण गर्नुहोस ।

२५. ठुलो स्वरमा पढ्नेः Read Aloud

पाठको हरेक नयाँ अनुच्छेद विद्यार्थीलाई पढ्न दिनुहोस । विद्यार्थीलाई ठूलो स्वरमा प्रष्ट स्वरमा पढ्न दिनुहोस । अन्य विद्यार्थीलाई ध्यानपूर्वक सुन्न लगाउनुहोस । एउटा अनुच्छेद पढे के बुझियो भनेर अन्य विद्यार्थीलाई भन्न लगाउनुहोस । पालै पालो सबै विद्यार्थीले ठूलो स्वरमा अनुच्छेद वा पुरै पाठ पढ्ने वातावरण निर्माण गर्नुहोस ।

Courses edusanjal