CMAT

अनलाइन शिक्षामा अनावश्यकको अलमल

Bachelors Portal

पृष्ठभूमि

यतिखेर विद्यालयहरु बन्द छन् । विश्वका करिव एक अर्ब ७२ करोड बालबालिकाको पठनपाठन ठप्प भएको छ । कतिपय तहका वार्षिक परीक्षा सम्पन्न भएका छैनन् । सम्पन्न परीक्षाका नतिजा प्रकाशन हुन सकेको छैन । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना हुन नपाएको स्थिति हो । बालबालिका सिकाइसँग जोडिन सकेका छैनन् । शिक्षक विद्यार्थीबीचको सम्पर्क धुमिल भएको छ । कक्षाकोठाहरु आवाजविहीन बनेका छन् । विद्यालयका हाताभित्र झार पलाउन थालिसक्यो । यता अभिभावकहरु आफ्ना छोराछोरीको पढाइको चिन्ताले पीडित बनेका छन् । विद्यालय खुल्ने समयको अनिश्चयले बालबालिका उदास बनेका छन् । बन्दाबन्दी सकिने प्रतीक्षामा विद्यार्थी, अभिभावक र शिक्षक छन् । 

बन्दाबन्दीले सिकाइका माध्यमका बारेमा निकै वहस र चर्चा हुँदै आएको देखिएको छ । यो युगमा सूचना प्रविधिको उच्चतम् विकास भएको छ । यसको प्रयोग गर्न सकिने वातावरण सबैभन्दा पहिले विद्यार्थीले पाउनु पर्दछ । उनीहरुलाई ईपाटी, ईलाइब्रेरी, ईक्लासको सहज पहुँच प्रदान गरिनु पर्दछ । गुगल, युट्युब लगायतमा उपलब्ध सिकाइ सामग्री हरेक विद्यार्थीले सहजरुपमा प्रयोग गर्नसक्ने वातावरण तयार गरिनु पर्दछ । विद्यार्थी र शिक्षकबीच तथा घर र विद्यालयबीच दूरी कायम गर्नुपर्ने यस अवस्थामा प्रभावकारी शिक्षण सिकाइका लागि दूरी घटाउनु जरुरी छ । यो दूरी घटाउने एकमात्र उपाय भनेको सूचना प्रविधिको प्रयोग हो । त्यसैले अब यसको पूर्वाधार विकास, विस्तार र प्रयोग नगरी धरै छैन ।

संस्थागत विद्यालयहरुले गुगल क्लास, जुम मिट, माइक्रोसफ्ट लगायतका एप्स प्रयोग गरी अभिभावक अन्तरक्रिया, विद्यार्थी भर्ना र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयसमेतले अनलाइन कक्षा सञ्चालन निर्देशिका जारी गरी आफू मातहतका क्याम्पसहरुमा अनलाइन कक्षा सञ्चालनमा ल्याइसकेको छ । स्थानीय एफएम  रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यमको समेत प्रयोग गरी विद्यार्थीको सिकाइलाई टेवा पुर्याइँदै आएको छ । सिकाइ शून्यको अवस्था अन्त्य गर्न विभिन्न माध्यममार्फत विभिन्न तहले गरेका प्रयास सह्रानीय छ । यी अभ्यासबाट शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न धेरै दवाव सिर्जना भएको छ । यसवाट नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउन थप मद्दत पुगेको छ । यसवाट विगतमा विद्यालय भवनमा मात्र केन्द्रित शैक्षिक लगानीको प्याराडम अब सूचना प्रविधिजन्य पूर्वाधारको विकासमा सिफ्ट हुनेछ । प्रविधि जानेको, बुझेको र यसको प्रयोग गर्न सक्ने शिक्षकको खाँचो खड्किएको छ । विद्यालयमा मात्र होइन हरेक विद्यार्थीको घरमा सिकाइ प्रविधिको विकासको अनिवार्यता महशसु गरिएको छ ।  शिक्षामा प्रविधिको प्रयोग गर्न सकिएमा मात्र गाउँ र सहर तथा धनी र गरिब वर्गका बालबालिकाले प्राप्त गर्ने शिक्षाबीचको खाडल कम गर्न सकिनेछ ।  

अब यसरी सोचौँ

सिकाइ प्रक्रिया स्थगित हुनुले सिकाइको निरन्तरतामा जोखिम थपिएको छ । यस अवस्थाको व्यवस्थापन गर्ने उपयुक्त उपाय भनेकै वैकल्पिक शिक्षण माध्यम हो । पत्रपत्रिका, एफएम रेडियो, टिभी, भर्च्युअल शिक्षण जस्ता विभिन्न माध्यमको अभ्यास र अवलम्वन अहिलेको आवश्यकता हो । शिक्षामा सूचना प्रविधिको प्रयोगको सिहांवलोकन गर्दा निक्कै लामो समयदेखि विभिन्न अभ्यासहरु गरिएको पाइन्छ । माध्यमिक विद्यालयहरुमा सूचना प्रविधि ल्याव स्थापना गर्नेदेखि इन्टरनेट जडान र शिक्षकहरुलाई सूचना प्रविधि तालिम समेत प्रदान गरिएको छ । ऐच्छिक विषयका रुपमा विद्यालयस्तरमा कम्प्युटर विषयको पठनपाठन भइरहेको छ । प्रत्येक विद्यालयमा सूचना र प्रविधिको पहुँच पुर्याउने नीतिगत व्यवस्थासहित सूचना प्रविधि नीति, २०६७ जारी गरिएको छ । पेपरलेस लर्निङवाइ, २०२५ समेत आएको छ । यसका अलावा विद्यालयस्तरमा सूचना प्रविधि प्रयोग निर्देशिका, २०६८ समेत कार्यान्वयनमा छ । सामुदायिक विद्यालयको १३ प्रतिशतमा मात्र कम्प्युटर रहनु, इन्टरनेटको पहुँच त्योभन्दा कमजोर रहनु र अझ सूचना प्रविधिसँग डराउने शिक्षक जमातको बाहुल्यता रहनु विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोगमा देखिएका ज्वलन्त समस्या हुन् । यिनै समस्या अहिले अनलाइन शिक्षाका बाधकका रुपमा देखिएका छन् ।  

हो, अनलाइन शिक्षाका लागि बत्ती चाहिन्छ । कम्प्युटर चाहिन्छ । इन्टरनेट हुनु पर्दछ । दक्ष जनशक्ति चाहिन्छ । यति मात्र नभइ सबैझन्दा ठूलो कुरा त इच्छाशक्ति चाहिन्छ । नेतृत्वसँग इच्छा शत्ति छ भने सानधस्रोतको सीमाले कुनै आवश्यकतामुखी योजना अल्झिएर बस्दैन । अघि बढ्छ । तर समस्या साधन स्रोतको अभाव देखाएर समयका मागहरुलाई नजर अन्दाज गर्ने प्रवृतिबाट ग्रस्त प्रशासन व्यवस्थापन वा नेतृत्वको हो । अझ संकटले दिएको चुनौतीलाई अवसरमा रुपान्तरण गर्नुपर्दछ र राम्रो नतिजाका लागि जोखिम मोलेर अघि बढ्नु पर्दछ भन्ने आँट र इच्छा शक्ति अनलाइन शिक्षाका अवरोध चिर्ने हतियार हुन् । परिस्थितिले दिएको ठूलो अवसर पनि हो ।

शिक्षण सिकाइको माध्यम र ढाँचामा परिवर्तन जरुरी छ । यसका लागि अनलाइन कक्षा अबको निर्विकल्प हो । यसको विकास शिक्षण सिकाइको वैकल्पिक माध्यमका रुपमा होइन सशक्त समानान्तर माध्यमको रुपमा गरौँ । यसले युगौंयुगदेखि शिक्षामा थुपारिएको असमानता र असन्तुष्टि सम्बोधन गर्ने हैसियत राख्दछ । शिक्षामा देखिएको गुणस्तरको स्खलन रोकेर गुणस्तरीय शिक्षाको सुनिश्चितता प्रदान गर्दछ । शिक्षकमा समयक्रममा देखिन गैरपेशागत मनोवृत्तिजन्य समस्यालाई काउन्टर गर्दछ ।

बहस अब अनलाइन शिक्षाका लागि आवश्यक पूर्वाधार खै ?, यसले धनी र गरिब तथा गाउँ र सहरका विद्यार्थीबीच विभेद सिर्जना गर्दछ, सबै विद्यार्थीको पहुँचमा अनलाइन कक्षा रहन सक्दैन, निजी विद्यालयहरुले अनलाइन कक्षाका नामबाट फेरी पनि अभिभावक शोषणको नयाँ श्रृंखला निर्माण गर्न सक्दछन् भन्ने कोणबाट गर्नु जरुरी छैन । विश्वव्यापीकरण र तीब्रतर प्रतिष्पर्धाको यस समयमा हरेक विद्यार्थी र शिक्षकको पहुँचमा कसरी प्रविधिको पहुँच पुर्याउने तथा प्रविधि प्रयोग गर्नसक्ने क्षमताको विकास कसरी गर्ने भन्ने कोणबाट बहस जरुरी छ । 

यो आगामी वर्षको योजना तर्जुमा गर्ने समय पनि भएकाले यतिबेला सम्पूर्ण सरोकारवालाले एकै आवाजमा स्थानीयदेखि संघीय सरकारसम्मका लागि हरेक विद्यालयलाई सूचना प्रविधिको केन्द्र बनाउन आवाज बुलन्द गरौं । शिक्षकहरुलाई अवसर दिई कि सूचना प्रविधि सिक्न लगाऔं कि छोड्न वाध्य पारौं । हरेक शिक्षकको हातमा ल्यापटप र विद्यार्थीको हातमा ट्याब प्रदान गरौं । यसका लागि स्थानीय तहदेखि संघसम्मका सरकारहरुले आर्थिक वर्ष २०७७।७८ मा शिक्षामा सूचना प्रविधि प्याकेजको विशेष कार्यक्रम ल्याउन जरुरी छ । शैक्षिक विकासमा टेलिकमले सञ्चित गरेको १६ अर्ब रुपियाँको कोष अनलाइन कक्षाको लागि आवश्यक संरचनाको विकास र सञ्चालनमा खर्च गरिनु पर्दछ ।

निष्कर्ष

सकारात्मकरुपमा ग्रहण गर्नसके अनलाइन शिक्षा शिक्षा प्रणालीलाई समृद्ध बनाउने यो एउटा अवसर हो । यसका नकारात्मक पक्षहरु पनि होलान् । ती नकारात्मक पक्ष देखाएर यसको वध गर्न खोज्नु विवेकपूर्ण मान्न सकिन्न । छ घण्टे विद्यालय शिक्षालाई २४ घण्टे र सातै दिनको बनाउने माध्यम पनि अनलाइन शिक्षा हो । साउन, भदौ भारी वर्षाका कारणले र पुष, माघ महिनामा अति जाडोका कारणले विद्यालय बन्द हुन्छन् । त्यो बेलाको सिकाइलाई पनि यसबाट निरन्तरता दिन सम्भव हुन्छ । अनलाइन कक्षाले सिकारुको सक्षमतामा आधारित सिकाइलाई बढवा दिई सिकाइ उपलब्धिको अभिवृद्धि गराउँछ । सिकाइमा समान अवसर सिर्जना गर्नुका साथै शैक्षिक गुणस्तरको विकास र विस्तारसमेत गर्दछ । डिजिटल नेपाल निर्माणमा समेत यो एउटा महत्वपूर्ण प्रस्थान बिन्दु बन्ने छ । यसले शिक्षामा लागत प्रभावकारितासमेत कायम गर्दछ । यस्तो अवसर फेरी आउँदैन । अलमल नगरौं ।  

लेखक वीरेन्द्रनगर नगरपालिका, सुर्खेतका उपसचिव हुन् ।  

Thuprai - Books and E-books
I Tech store