सीसीएमसीको सिफारिसपछि धमाधम परीक्षा स्थगित गर्दै विश्वविद्यालय

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि विश्वविद्यालयले धमाधम परीक्षा स्थगत गर्न थालेका छन् । केही विश्वविद्यालयले सार्वजनिक रुपमानै परीक्षा लगायत सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेको सूचना जारी गरिसकेका छन् भने केही विश्वविद्यालय सरकारको निर्णयको पर्खाइमा रहेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगरले सत्रान्त परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ ।

सीसीएमसीको सिफारिस अनुसार देशभरका विद्यालय तथा शिक्षालयहरुमा तय भएका पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने सिफारिस अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयले परीक्षा स्थगित गरेको जनाएको छ ।

सो विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विज्ञान तथा प्रविधि संंकाय अन्तर्गत स्नातक तहको सत्रान्त परीक्षा पनि अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्द प्रसाद सुवेदीले बताए ।

त्यस्तै, पोखरा विश्वविद्यालयले पनि सम्पूर्ण परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ । पोखरा विश्वविद्यालय परीक्षा समितिको बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको हो ।

सो बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दे विश्वविद्यालय अन्तर्गत सुचारु भइरहेका र अब सुचारु हुने सम्पूर्ण परीक्षाहरु स्थगित गरेको परीक्षा नियन्त्रक प्राडा टेक राज ज्ञवालीले जानकारी दिए ।

पर्ख र हेरको नीति अपनाउँदै पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालयले भने परीक्षा स्थगन गर्ने विषयमा सरकारको निर्णय कुरेर बसेको छ । अहिलेसम्म सो विश्वविद्यालयले कुनै पनि परीक्षा स्थगत गरेको छैन ।

 

परीक्षा के गर्ने भन्ने विषयमा नेपाल सरकारको निर्णयपश्चात् मात्र विश्वविद्यालयले निर्णय गर्ने पूर्वाञ्चल विविका उपकुलपति प्राडा यादवराज कोईरालाले जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयले भने अहिले तत्काल परीक्षा स्थगित गर्ने सोच बनाएको छैन । कोभिडको अवस्थालाई हेरेर अझ भयाभय भएमात्र परीक्षा स्थगित गर्ने तयारीमा विश्वविद्यालय रहेको विश्वविद्यालयका प्रवक्त इक्कुमाया पुनले जानकारी दिइन् ।

पूर्व घोषित परिक्षा कार्यक्रम हुने नहुने अन्योलताकाबीच त्रिभुवन विश्व विद्यालयले सोमबार हुने कुनै पनि परिक्षा रोकेन । सीसीएमसी परिक्षा रोक्ने निर्णय गरेपनि सोमबारलाई तय भएका परिक्षा त्रिविले नरोक्ने भएको हो । त्रिविले मन्त्रिपरिषद्बाट निर्णय भएर आधिकारिक पत्रचार नहुँदासमम परिक्षा यथावत सञ्चालन गर्ने भएको छ ।

Thuprai - Books and E-books