त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि लागु हुने गरी मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ चार वर्षे बनाउने तयारी गरेको छ । डिन कार्यालयले चारवर्षे बिएका लागि कोर्स तयार गर्न लगाए पनि अहिलेसम्म अधिकांश विषयले सकेका छैनन् । यसैसन्दर्भमा त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा. शिवलाल भुसालसंग इडियु सञ्जालले गरेको कुराकानीको सारसंक्षेपः
के यसै वर्षदेखि स्नातक तह तर्फ चार वर्षे बनाउने तयारी हो ?
हो, यस वर्षदेखि बिएलाई चारवर्षे बनाउँदै छौ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएका छन् । जसमध्ये चार विषयले कोर्स तयारी गरेका छन् । त्रिवि सम्बन्धन प्राप्त देशैभरका क्याम्पसमा यस वर्ष देखि लागु हुने गरी स्नातक तहलाई चार वर्षे बनाईदैछ ।
त्यसका लागि त पाठ्यक्रम पनि आवश्यक पर्ला त ?
पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छौं । २६ साउनमा पुनः वैठक बसेर भदौबाटै पाठ्यक्रम निर्माण भइसक्नेछन् ।