बारम्बार अघिल्ला वर्षको प्रश्नपत्र सोधेर आफ्नो गरिमामा नै प्रश्न चिन्ह उठाउँदै आएको त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बारम्बार दोहोरिनुको कारण अध्ययन गर्न छानविन समिति गठन गरेको छ ।
त्रिविले उक्त विषयको छानविन गर्न प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्राडा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिए । रजिष्ट्रार प्राडा दाहालले छानविन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन भएको जानकारी दिए ।
त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्र अघिल्लो वर्षको नै हुबहु देखिएपछि त्रिविले छानविन समिति गठन गरेको हो ।
मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।
६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ । त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीका कारण त्रिविको परीक्षा प्रणालीमा नै प्रश्न उठ्दै आएको बुज्ञको बुझाइ छ ।