Select college / campus

त्रिविको परीक्षा प्रणाली सुधार गर्न सकिएन, सेवाबाट बाहिरिए

Admission edusanjal

मैले इन्जिनियरिङ अध्ययन संस्थान र अन्तर्गतका निकायहरुमा हुनेगरेका र भइरहेका विकृती र विसङ्गगतिहरुका बारेमा सुधारको अपेक्षा राख्दै सुझावसहितका विज्ञप्तीहरु जारि गरेको विषय याहाहरुमा जानकार भएकै विषय हो । विशेषतः परीक्षा महाशाखाबाट प्रश्नपत्र निर्माणमा भइरहेका लापरवाहि विरुद्ध सार्वजनिक रुपमै पटक पटक लिखित र मौखिक रुपमै पनि सुझाव सहित सचेत गराउँदा गराउँदै पनि परीक्षा व्यवस्थापनको गैर जिम्मेवारपूर्ण कार्यले फेरी एकपटक सयौंको संख्यामा विद्यार्थीहरु एवं शिक्षकहरु समेतमा पनि परेको पिडाप्रति अत्यन्तै मर्माहत र दुखि हुदै पुनः यो विज्ञप्ती निकाल्न बाध्य भएको छ ।

यसै परिप्रेक्षमा गत भदौ ३१ गते सम्पन्न सिभिल दोश्रो वर्ष प्रथम खण्डको Fluid Mechanics विषयको प्रश्नपत्रमा समावेश गरिएका प्रश्नहरु अध्ययन गर्दा, परीक्षा कस्तो हुनुपर्ने, पाठक्रमका कुन कुन पक्षहरुमा परीक्षार्थीको मूल्याङ्कन गरिनुपर्ने, प्रश्नहरुको स्वरुप र स्तरीयता कस्तो रहनु पर्ने, सैद्दान्तिक (Theoretical) र प्रायोजीक (Numerical) पक्षहरु कुन अनुपातमा रहनुपर्ने, प्रश्नपत्र निर्माणहुँदा पाठ्याक्रममा उल्लेख भएका सन्दर्भ पुस्तकहरु भित्र परेका छन् कि, ति भन्दा माथिल्ला स्तरका भए जस्ता अहं पक्षहरुलाई सम्पूर्ण रुपमा प्रश्नपत्र परिमार्जन (Moderator) कताले लत्याई कथित वौद्धिकता प्रर्दशन गरेको मात्र देखिएन यसले हाम्रो समग्र परीक्षा प्रणालीको खिल्ली उडाएको मैले महसुश गरेको छ ।

COVID-19 को माहामारी विचपनि के कस्तो वातावरणमा कक्षाहरु सम्पन्न गरिए, विद्यार्थीहरु र शिक्षकहरुलाई के कस्ता कठिनाइहरु भए, दुरदराजका विद्यार्थीहरुको Online Class मा कत्तिको पहुँचथियो होला, विद्यार्थीहरुसंग प्रत्यक्षरुपमा अन्तरक्रिया नहुँदा के कस्तो बुझाइको स्तर रहेको हुनसक्ला, सन्दर्भ सामग्री, पुस्ताकालय र अन्य श्रोतमा बन्दको बेला के कस्तो पहुँच थियो होला, के कसरि आन्तरिक मूल्याङ्कनहरु सम्पन्न गरिए होला (प्रयोगात्मक कक्षाहरु त भएकै छैनन् भन्ने बारेमा सामान्य जानकारी समेत नभएको जस्तो गरि कथित स्तरियता कायम गर्ने बाहानामा हाम्रो पाक्रमले निर्धारण गरेको स्तर भन्दा फरक स्तर र प्रकृतीका प्रश्नपत्रहरु तयार गर्ने र गराउने डिन कार्यलय परीक्षा महाशाखाको कार्य गम्भीर लापरवाहि मात्र होइन यो एक शैक्षिक अपराध हो भन्ने मलाई लागेको छ । Water Resources का विषयहरुमा विगतमा समेत भएको चरम बेथिती र गैर जिम्मेवारपूर्ण प्रश्न पत्र निर्माणले सयौंको संख्यामा वारम्वार परीक्षार्थीहरु अन्त्तिर्ण भई Barrier को साँधमा पुग्नु चिन्ताको विषय हो।

हालै सम्पन्न Fluid Mechanics विषयको प्रश्नपत्रमा निम्न प्रश्न चिन्ह खडा भएका छन्।

१. प्रश्नपत्रमा Theoretical सैद्धान्तिक प्रश्नहरु लग भग समावेशनै गरिएको छैन । केवल Numerical (प्रायोज्ञिक) प्रश्नहरु समावेश गरिएको छ । यो स्तर र प्रकृतीका प्रश्नहरु अघिल्ला परीक्षाहरुमा सोधिएको छैन । कसैको बहलट्ठीमा कुनै एक पक्षको मात्र प्रश्नहरु तयार गरि मूल्याङ्कन गरिनु पाठ्यक्रमको उपेक्षा र उपहाश गरिएको हो कि होइन ?

२. प्रश्नपत्रमा दिइनैपर्ने तथ्याङ्कहरु नदिनु र अशुद्ध रहनु अव कुनै नौलो कुरो रहेन । यो प्रश्नपत्रमा पनि प्रश्न १ (b) र ५ (a) मा दिइनै पर्ने तथ्याङ्क नदिनुले, प्रश्नहरु हल गर्न संभव रहदैन । दबावमा रहेका विद्यार्थीहरुमाथि यस्ले थप अन्योलमात्र सजना गर्दैन, यस्ता अन्योलताले अन्य प्रश्नहरु हलगर्नमा समेत प्रभाव पार्छ। दिइनै पर्ने तथ्याङ्क नदिइदा, कसैको Assumption गरेर पनि हलगर्न सकिने तर्क, आफ्ना गल्तीहरु ढाकछोप गर्ने बाहाना मात्र हुनसक्छ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रश्नपत्रमा Chapter हरुको गहिराइ अनुशार अंकभार विल्कुलै समानुपातिकमात्र छैन, Chapter ५ वाट त प्रश्न सोधिएन । के यसवाट स्पष्ट हुदैन र प्रश्न परिमार्जन कर्ताको विषयप्रति कति जानकारी र ज्ञान रहेछ भनेर ?

३. चित्रहरु बुझेर मात्रै हलगर्नु पर्ने प्रश्नहरुमा, साधारण र स्पष्ट चित्र कोरेर दिनुको साटो कसैको पुस्तकबाट कपि गरि निकै कठिन र अस्पष्ट चित्र प्रश्नपत्रमा समावेश गरिनाले विद्यार्थीहरुलाई प्रश्न समाधान गर्न अनावश्यक बढि समय खर्चिन बाध्य परेको देखिन्छ । यसले अन्य प्रश्न समाधानमा पनि प्रभाव पार्ने देखिन्छ ।

४ प्रश्नपत्र निर्माण, परिमार्जनकर्ता संग मात्र उपलब्ध रहेका तर हाम्रो पाठ्यक्रममा उल्लेखनै नभएका मात्र होइन, पुस्तकालय समेतमा उपलब्ध नहुने पाठ्य सन्दर्भ सामग्रीवाट गरिएको देखिन्छ । केहि मुख्य प्रश्नहरुको स्तर र प्रकृति हाम्रो पाठक्रमको स्तर भन्दा माथिल्लो स्तरको रहेको छ र यस्ता प्रश्नहरु विद्यार्थीहरुबाट समाधान गर्न असंभव प्राय देखिन्छ । यसबाट विद्यार्थीहरुको उत्तीर्ण हुने संख्या अत्यन्तै न्यून रहने मात्र होइन उत्तीर्ण भइहालेका विद्यार्थीहरुको पनि समग्र मूल्याङ्कनमा निकै असर पर्ने निश्चित छ । अनि, नियतवस यस्ता प्रश्नहरु तयार गरि सयौंको संख्यामा विद्यार्थीहरु अनुत्तीर्ण हुँदा प्रश्नहरुको कथित स्तरीयता माथि दंग परेर रमाउने ? यो भन्दा घटिया र दरिद्र मानसिकता अरु केहि हुन सक्छ र ? के हामी प्राध्यापकहरुको धर्म यहि हो ? सबैलाई हेक्का रहोस, हामीले संचालन गर्ने परीक्षा विद्यार्थीहरुको मूल्याङ्कनको लागि मात्र हो, न कि कुनै प्रश्न परिमार्जन कर्ताको स्तरीयता र वौद्धिक क्षमता प्रदर्शन गर्ने माध्यम ! प्राध्यापकको बौद्धिक क्षमता प्रदर्शन गर्ने स्थान कक्षा कोठाहरु हुन, न कि परीक्षा माहाशाखाका बन्द कोठाहरु !

५. विश्वस्त शुत्रबाट प्राप्त जानकारी अनुसार यो प्रश्नपत्र Moderation गराइदा विषय अध्यापन नै नगराएका सेवा निवृत्त प्राध्यापकबाट गराइएको भन्ने ज्ञात हुन आएको छ । प्रश्नपत्र Moderation गरिदा अध्यापन गराइरहन भएका शिक्षकहरुवाट "Moderation Team" हुनुपर्ने अपरिहार्य मान्यतालाई लत्याई डिन कार्यालय परीक्षा महाशाखाले एकल व्यक्ति त्यो पनि सेवा निवृत्त प्राध्यापकबाट गराइएको साँचो हो भने यो खेदपूर्ण र आपत्तिजनक छ । के Water Resources का विषयहरुमा अध्ययन संस्थान भित्र अध्यापन गराइरहेका प्राध्यापकहरुको खडेरी नै परेको हो ? के लामो समयसम्म उत्कृष्ट अध्यापन गराइरहनुभएका शिक्षकहरुवाट माग गरिएका प्रश्नहरु रद्दिको टोकरीमा हालि आफै एकल मनगढन्ते प्रश्नहरु निर्माण गर्नु Moderation को उद्देश्य हो ? के यस्ता प्रवृतिबाट विसौं वर्ष देखि विभिन्न आङ्गिक र सम्बन्धनप्राप्त कलेजहरुमा अध्यापन गराइरहनु भएका प्राध्यापकहरुको तेजबोध र मान मर्दन गर्न खोजिएको होइन र ? के हामी सबै अध्यापन गराइरहेका शिक्षकहरुलाई असक्षम भनेर प्रमाणीत गर्न खोजिएको होइन र ? विचित्र त के हो भने सेवा अवधिमा लामो समय सम्म स्नातक तहमा अध्यापन नगराएको मात्र होइन रुचि समेत नदेखाउने व्यक्ति सेवा निवृत्त भएपछि पनि परीक्षा महाशाखाका कार्यमा मरिहत्ते गरी रुचि देखाउनु केवल द्रव्यपिचाश प्रवृति मात्र त पक्कै पनि होइन होला।

मैले माथि उठाएका प्रश्नहरु गलत भनेर प्रमाणित गर्न म जो कोहिलाई पनि चुनौति दिन्छु ।

परीक्षाका गोप्यकार्यहरु र प्रश्नपत्र समेतमै सार्वजनिक टिका टिप्पणी गरेको प्रति लाग्न सक्ने आरोप प्रति मलाई रतिभर चिन्ता छैन, किनकी मेरो पटक पटकको सचेतनाका बावजुद पनि नियतवस यदि विद्यार्थीहरु र शिक्षकहरु समेतको भविष्यमाथि खेलबाड गरिन्छ भने यस्ता प्रवृतिको प्रतिवाद गर्नु र सबैलाई सुसूचित गर्नु मैले मेरो नैतिक दायित्व मात्र हैन कर्तव्य नै ठानेको छु । यस्ता गम्भीर अपराध विरुद्ध आँखामा पट्टि र मुखमा टेप लगाएर बस्न सकिन्न । केवल आफ्नो आत्मसम्मान र नैतिकता कहि कसैको पाउमा बन्धक राख्ने गुलामहरुसंग मात्र यस्ता अपराध विरुद्ध आवाज उठाउने साहास हुँदैन । मैले माथि उठाएका प्रश्नहरु गलत भनेर प्रमाणित गर्न म जो कोहिलाई पनि चुनौति दिन्छु । याद रहोस परीक्षाका गोप्य कार्य गर्ने बाहानामा विद्यार्थीहरुको भविष्यमाथि गम्भीर आघात पुग्ने गरी यस्ता अविवेकी र अनैतिक कार्यहरु गर्न कसैलाई पनि छट हुनै सक्दैन।

विद्यार्थीहरुलाई अध्यापन गराउने नैतिक साहस म सँग अव रहेन । तसर्थ विद्यार्थी समुदायमा नियतवस थोपरिएको बोझ एवं मानसिक पीडा र शिक्षक साथीहरुको आत्मसम्मानमा पारिएको चोट प्रति नैतिक जिम्मेवारी वहन गर्दै, मिति २०७८ साल मंसीर १ गतेबाट लागु हुनेगरि त्रि.वि. सेवाबाट अलग हुने निर्णय

डिनज्यू लगायत अन्य सबै सम्बन्धित पक्ष संग मेरो वारम्वारको प्रयासका बावजुद पनि यस्ता निकृष्ट कायहरु रोक्न सकिएन, फलस्वरुप सयौंको संख्यामा विद्यार्थीहरु प्रताडित हुनु परेको छ । Water Resources विषयको वरिष्ठतम प्राध्यापक भएको नाताले, यस विषय अन्तर्गत भइरहेका गैर प्राज्ञिक कार्यबाट आम विद्यार्थी समुदाय साथै अविभावकज्यूहरु प्रति पनि पर्न गएको पीडाबोध प्रति क्षमायाचना गर्दै यसको नैतिक जिम्मेवार बहन गर्न तयार छु । मेरो अन्तरआत्माले अव आइन्दा देखि कक्षामा गएर विद्यार्थीहरुलाई अध्यापन गराउन प्रेरित गरेन । विद्यार्थीहरुलाई अध्यापन गराउने नैतिक साहस म सँग अव रहेन । तसर्थ विद्यार्थी समुदायमा नियतवस थोपरिएको बोझ एवं मानसिक पीडा र शिक्षक साथीहरुको आत्मसम्मानमा पारिएको चोट प्रति नैतिक जिम्मेवारी वहन गर्दै, मिति २०७८ साल मंसीर १ गतेबाट लागु हुनेगरि त्रि.वि. सेवाबाट अलग हुने निर्णय गर्दै प्राध्यापक पदबाट राजिनामा दिएको जानकारी गराउदछु । मेरो करिव ३२ बर्षे त्रि.वि. सेवा अवधिमा म प्रति सहयोग, सम्मान र सद्भाव राख्नुहुने शिक्षकसाथीहरु, कर्मचारीमित्रहरु र विद्यार्थी भाइबहिनीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।

(प्रा.डा. दुर्गा प्रसाद संग्रौला सिभिल विभाग, पुल्चोक क्याम्पसमा कार्यरत प्राध्यापक हुन् । लेखः उनले हालै सार्वजनिक गरेको विज्ञप्तिबाट लिइएको हो ) 

Courses edusanjal