काठमाडौँ, १९ मङ्सिर (रासस) ः सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।
कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको सङ्घका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिनुभयो ।
उनीहरुले यही मङ्सिर १६ गते ताला लगाएका हुन् । त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन् । उहाँले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिनुभयो । तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो ।