डोटी, ५ फागुन (रासस): जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका विद्यालयमा ट्राफिक सचेतनासम्बन्धी जनचेतनामूलक तालीम दिन थालेको छ । जिल्लाका ट्राफिक नियमसम्बन्धी जानकारी नहुँदा दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिपायल, राजपुर, पिपल्लालगायतका ठाउँमा रहेका निजी तथा सरकारी स्कूलमा गएर ट्राफिक नियमसम्बन्धी तालीम दिन थालेको हो ।
ट्राफिक नियमसम्बन्धी जानकारी दिन र सबैले ट्राफिकसम्बन्धी जानकारी पाऊन भन्ने उद्देश्यले आफूहरूले उक्त तालीम दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका दिल्पेश्वर मावी, सुजङ स्कूल, अमरज्योति स्कूललागयतका विद्यालयमा तालीम दिँदै आएको छ । गाडी चालकले डोटीलगायतका अन्य पहाडी जिल्लामा ट्राफिक नियमको पालना नगर्दा वर्षेनी ठूल्ठूला सवारी दुर्घटना हुनथालेको र दर्जनौँको अकालमै ज्यान जान थालेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।