CMAT

कैदीबन्दीका छोराछोरी पढाउने टोपबहादुर महतारा

लमही, ६ मङ्सिर (रासस) ः नयाँ वर्ष होस् वा दशैँ–तिहार । कुनै विशेष अवसर वा अन्य समयमा दाङ तुलसीपुरका टोपबहादुर महताराले कैदीबन्दी, आर्थिक अवस्था कमजोर र सहाराविहीन बनेका बालबालिकालाई सहयोग गर्दै आउनुभएको छ । 

महताराले पछिल्लो समय विभिन्न कारागारमा कैदीजीवन बिताइरहेका छोराछोरीको शिक्षामा सहयोग पु¥याउन छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । विभिन्न कारागारमा रहेका कैदीबन्दीका ३६ जना छोराछोरीलाई पीडित सेवा सङ्घमार्फत महताराले त्रैमासिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । एक जनालाई तीन महीनाको तीन हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको सङ्घका जिल्ला संयोजक महताराले बताउनुभयो । 

दाङ, सल्यान, रुकुम र रोल्पा कारागारमा रहेका कैदीबन्दीका ३६ जना छोराछोरीलाई शिक्षाबाट वञ्चित हुन नदिन सहयोग गरेको उहाँको भनाइ थियो । अभिभावक कारागारमा हुँदा विद्यार्थीको पठनपाठनमा नकारात्मक असर पर्ने भएकाले नियमित आर्थिक सहयोग गर्दै आएको भन्दै उहाँले पढाइ खर्चका लागि एक जनालाई वार्षिक रु १२ हजार छात्रवृत्ति प्रदान गर्नुभएको छ । साथै शैक्षिक, सरसफाइ सामग्री तथा कपडा पनि सहयोग गर्नुभएको छ । महताराले ६ वर्षअघि सात जनाबाट शुरु गर्नुभएकोमा अहिले बालबालिकाको संख्या ३६ पुगेको छ । 

आउँदो नयाँ शैक्षिक सत्रदेखि थप २० जनालाई त्यस्तो सुविधा प्रदान गर्ने तयारी उहाँको रहेको छ । यसप्रकारको सहयोगले गर्दा अहिले कैदीबन्दीका बालबालिका नियमित विद्यालय गइरहेका छन् । पढाइ स्तर पनि बढ्दै गइरहेको छ । 
अभिभावक बिना विकले श्रीमान् जेलमा रहँदा पैसा कमाउने कोही नभएको अवस्थामा छोराछोरीलाई पढाउन समस्या हुँदा महताराले सहयोगी हात अघि बढाएपछि सहज भएको बताउनुभयो । कुनै समय आर्थिक अभावमा सडकमा भौँतारिएर हिँड्ने बालबालिकाहरु अहिले विद्यालय जान थालेका छन् । अभिभावक बिनाले पढ्नलाई शिक्षण सामग्री र छात्रवृत्ति दिँदा परिवारलाईसमेत सहज बनाएको छ भन्नुभयो । 

साथै महताराले कैदीबन्दीलाई आत्मनिर्भर बनाउन कारागारभित्रै विभिन्न तालीम दिने गर्नुभएको छ । जसले गर्दा कारागारभित्रै उनीहरुले विभिन्न सामग्री बनाएर आम्दानीसमेत गरेका छन् । कैदीबन्दीले निर्माण गरेका मुडा, कुर्सी, कुचोले बजार पाउने गरेका छन् । त्यस्तै सडकमा हिँडिरहेका, सहाराविहीन बालबालिकालाई पनि शिक्षादीक्षाका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ । 

– दीपक बोहरा 

Thuprai - Books and E-books